नयाँ गन्तव्य मानहुँ कोट

नयाँ गन्तव्य मानहुँ कोट

तनहुँ : ब्यास नगरपालिका ५ मानहुँकी ५९ वर्षीया रेवती आले १४ वर्षकै कलिलै उमेरमा बिहे भएर मनहुँ कोटमा आइपुगिन्। त्यतिबेला गाउँमा ७० घर थिए। पानीको अचाक्ली अभाव थियो। झिसमिसेमै उठेर उज्यालो हुँदा नहुँदा दुई घण्टा परको पँधेराबाट दुई खेप पानी उनी र उनका दामलीले ल्याइसक्थे।

पानी लिन जाने समय अहिले मनहुँमा त्यतिबेलाभन्दा आधा मात्र घटेको छ। खानेपानीकै अभावका कारण गाउँले सुख खोज्दै बेंसी झरे। कोही रोजगारका लागि दमौली त कोही युवा विदेश हानिए। गाउँमा अहिले ७ घर धुरीमा मात्र बसोबास छ। बाँकी कुनै घर भत्किएर झारपातले ढाके त कुनै भत्कने अवस्थामा पुगेका छन्। पछिल्लो समयमा गाउँमा कच्ची बाटो बन्यो। गत दुई वर्षदेखि भने मनहुँ कोटमा स्वदेशी र विदेशी पर्यटकसमेत आउन थालेका छन्। अब भने अहिलेसम्म दुःख सहेर बसेको दिन फिर्न लागेको रेवतीले सुनाइन्।

‘कम्ता दुःख सहियो र’, उनले भनिन्, ‘आमाबाबाले मेरो दुःख देखेर कस्तो ठाउँमा छोरी दिइएछ। छोरीले दुःख पाई भन्नुहुन्थ्यो।’ गाउँमा आजभोलि विदेशी र स्वदेशी पर्यटक आउन थालेका छन्। अहिले घरमै खाना र खाजा पसल चेलको छ। यही बस्न चाहने पर्यटक केही कोठामा त कोही बार्दलीमा समेत सुत्ने गरेको उनले सुनाइन्। शनिबार ५ सयसम्म पर्यटक आउने स्थानीयको भनाइ छ। पाहुनालाई शनिबार खाजा खुवाउन व्यस्त निकै हुने उनले सुनाइन्।

गाउँका अरू खाजा घरलाई पनि पाहुनाको स्वागत सत्कार गर्न भ्याइनभ्याइ छ। दमौली बजारबाट ७ किलोमिटर दक्षिण पश्चिम उच्च स्थानमा रहेको मानहुँ डाँडामा पुग्न सडक र पदयात्रा दुवै बाटो छन्। पर्यटक धेरैजसो सवारी साधनमै हुइँकिएर मानहुँ पुग्छन्। मानहुँ कोटबाट अन्नपूर्ण, माछापुच्छे्र, गौरीशंकरलगायत हिम श्रृंखलाको सुन्दर दृश्य देख्न सकिन्छ। कोटबाट उत्तरपूर्व मादी नदी, दक्षिण सेती नदी र बीचमा दमैली बजारको सुन्दर दृश्य देखिन्छ।

यति बेला वरिपरिका हरियाली धानका फाँट र हरिया डाँडाको सुन्दर दृश्य अवलोकन गर्न पर्यटक त्यहाँ पुग्छन्। पछिल्लो समयमा यहाँ पर्यटकको आगमन बढेकाले दुःख गरेर गाउँमै बसेका स्थानीयमा खुसी बढ्दै गएको लिलामाया आलेले सुनाइन्। दमौली बजारमा यतिबेला ३५ डिग्री तापक्रम छ। ११ सय मिटरभन्दा अग्लो स्थानमा रहेको मानहुँ कोटमा सितल छ। गर्मी छल्न पनि स्थानीयसमेत मानहुँ कोट पुग्ने गर्दछन्।

पृथ्वी राजमार्गबाट ७ किलोमिटर परको मानहुँ गाउँसम्म पुग्ने गरी कालोपत्रे पक्की सडक बन्ने क्रममा छ। २०७४/७५ मा मानहुँ गाउँसम्म पुग्ने कालोपत्रे सडक निर्माणका लागि १० करोड विनियोजन भएकोमा ८ करोडमा टेन्डर स्वीकृत भइसकेको छ। ८ करोडमा टेन्डर स्वीकृत भई काम बढिसकेको नगरपालिकाका प्रवक्तासमेत रहेका वडा नम्बर ५ का वडाध्यक्ष मोहनकुमार श्रेष्ठले बताए।

पर्यटनको माध्यमबाट स्थानीयलाई पुनः गाउँमा फर्काउने उद्देश्यका साथ नगरपालिका मानहुँ र वरपरका पर्यटकीय क्षेत्रको विकासमा लागेको व्यास नगरपालिकाका मेयर बैकुण्ठ न्यौपानेले सुनाए। मानहुँ कोटमा पर्यटकीय आकर्षण बढाउन र त्यहाँ पुग्ने पर्यटकको सुरक्षाका लागि मानहुँ डाँडाको प्राकृतिक भ्यू प्वाइन्ट क्षेत्रमा नगरपालिकाले हालै रेलिङसमेत राखिसकेको छ। यस वर्ष पनि मानहुँ कोटको पर्यटकीय विकासका लागि ४० लाख बजेट छुट्याइएको मेयर न्यौपानेले बताए।

गाउँमा पर्यटकको चहलपहल बढेपछि घर छाडेर बेंसी झरेको स्थानीय गाउँ फर्केर भत्केको घर पुनः बनाउन थालेको स्थानीय रेवती आलेले सुनाइन्। दुई घर छिमेकीले बनाउँदै गरेको उनको भनाइ छ। पर्यटक बढेपछि गाउँमा स्थानीय गाउँ फर्कने क्रम सुरु हुनु र पर्यटन व्यवसाय सञ्चालन गर्न व्यवसायीको आकर्षण बढ्दै गएकाले व्यवस्थित पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न नगरपालिकाले ल्यान्डपुलिङको योजना अघि सारेको व्यास नगरपालिकाका मेयर न्यौपानेले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.