‘लासमाथि बार्गेनिङ’
जनकपुरधाम : आफन्त गुमाउनुभन्दा बढी पीडादायक क्षण मानिसको जीवनमा सायदै केही होला। त्यसमा पनि प्राकृतिक रुपमा नभइ कुनै दुर्घटना वा अकाल मृत्युमा कसैले यदि परिवारका सदस्य गुमाउनुपर्यो भने पीडा अझ बढी थपिन्छ। यस्तो अवस्थामा समाजको सहानभूति र समवेदनाले मर्माहत परिवारलाई हौसला बढाउने काम गर्छ।
जनकपुर अञ्चल अस्पतालमा पछिल्लो समय लासमाथि बार्गेनिङ मौलाएको छ। दुर्घटना, आत्महत्या वा हिंसाबाट पीडित भइ ज्यान गुमाएकाहरुको शव अञ्चल अस्पतालको शवगृहमा ल्याइएपछि त्यहाँ प्रहरीबाटै लासमाथि बार्गेनिङ हुने गरेको खुल्न आएको छ।
साउन २७ गते बेँगाडावरका ४५ वर्षीय अजय ठाकुरले घरायसी समस्याका कारण विष सेवन गरे। विष सेवनपछि गम्भीर बनेका ठाकुरलाई परिवारजनले तुरुन्तै जनकपुरस्थित जानकी हेल्थ केयर सेन्टरमा भर्ना गराए। तर ठाकुरलाई बचाउन सकेनन्।
मृतकको शरिरलाई पोष्टमार्टमको लागि जनकपुर अञ्चल अस्पतालस्थित शव गृहमा प्रहरीले पुर्यायो। शव गृहमा पोष्टमार्टमपछि शव परिवारको जिम्मा दिन त्यहाँ खटिएका प्रहरीले पाँच सय रुपैंया मागे। ‘घटनापछि परिवारका सदस्य बेहाल भएको अवस्थामा प्रहरीले मागे अनुसार ५ सय दिए’ मृतकका सालो पर्ने रामनाथ साहले भने ‘प्रहरीले सो रकम लिएवापत कुनै रसिद वा कागज दिएन।’
प्रहरीलाई रकम तिरेपछि पोष्टमार्टम गरिएको शव घर लिएर जान मृतकका आफन्तले शव वाहनलाई खोजे। अञ्चल अस्पताल नजिकै रहेको ज १ च १९५५ नम्बरको शव वाहन लास बोक्न आइपुग्यो। तर त्यहाँ पनि मृतक परिवार ठगिन पुग्यो।
१५ सय रुपैंया मात्र भाडादर तोकिएको शव वाहनले लास ओसार्नका लागि ३५ सय रुपैंयामा आफन्तसँग बार्गेनिङ गर्यो। शव वाहनले मृतकको परिवारलाई रकम लिएवापत दिएको रसिद पनि फर्जि नै छ। जनकपुरमा हाल सञ्चालनमै नरहेको श्री दिप ज्योति समाज विकास पथ जलेश्वर—५ महोत्तरीद्वारा सञ्चालित एम्बुलेन्स सेवाको रसिद मृतकका परिवारलाई चालकले दिएका थिए।
सो एम्बुलेन्स हाल सिरहामा सञ्चालित रहेको संयुक्त एम्बुलेन्स चालक संघका पदाधिकारीले जनाएका छन्। यसरी निःशुल्क रुपमा हुने पोष्टमार्टम र मात्र १५ सयसम्म भाडा तिर्नुपर्ने शव वाहनका लागि मृतकका परिवारसँग २५ सय रुपैयाँ बढी असुलियो।
धनुषा जिल्ला भरी हुने कुनै पनि दुर्घटना, आत्महत्या, हिंसाबाट मृत्यु वा बेवारिसे लासको पोस्टमार्टम लागि जनकपुर अञ्चल अस्पतालमा मात्र हुन्छ। दुर्घटना हुँदा प्रहरीले घटनाबारे जानकारी हुनासाथ पीडित परिवारसँग निवेदन लिने र सोही आधारमा घटनास्थलमा मुचुल्का उठाएर ल्याउने गर्छ। प्रहरीले नै लासलाई शवगृहसम्म ल्याउने र त्यहाँ प्रहरीकै रोहवरमा पोस्टमार्टमको काम चिकित्सकले गर्ने गर्छन्। यी सबै प्रक्रिया निःशुल्क हुन्छ।
पोस्टमार्टमसम्म लासको सम्पूर्ण व्यवस्थापनको जिम्मेवार रहेको प्रहरीले नै अनाधिकृत रुपमा पीडित परिवारसँग रकम उठाउने काम गरेको छ। प्रहरीको यस्तो कार्य निकै निन्दनीय रहेको अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. नागेन्द्रप्रसाद यादव बताउँछन्। अस्पतालले कुनै पनि शीर्षकमा शुल्क लिँदा त्यसको रसिद सम्बन्धीत पक्षलाई बुझाउँछ।
‘प्रहरीको काम अस्पतालमा शान्ति सुरक्षा कायम गर्नु हो’ मेसु यादव भन्छन्, ‘यदि कँही कतैबाट यस्तो निकृष्ट क्रियाकलाप भएको छ भने त्यो निकै गम्भीर हो र यसको छानविन हुनुपर्दछ।’ आफू समक्ष हालसम्म कसैले पनि पोस्टमार्टमपछि लास दिन प्रहरीले रकम मागेको गुनासो नगरेको यादवले सुनाए।
आफन्तलाई अनावश्यक रुपमा मुद्दा मामिलामा फस्ने त्रास देखाएर सबै कागजपत्र दुरुस्त गराइदिने भन्दै प्रहरीबाटै ५ सय देखि २ हजारसम्मा लासमाथि बार्गेनिङ हुने गरेको अस्पताल स्रोतले जनाएको छ। मृतकका परिवारले पनि अनावश्यक झमेलामा पर्नुभन्दा गुपचुप प्रहरीलाई रकम दिने गरेका छन्। कतियले भने नजानेरै रकम दिने गरेका छन्।
‘बिरामी ओसार्न वा शव ओसार्न एम्बुलेन्स तथा शव वाहनको भाडादर निर्धारित छ’ संयुक्त एम्बुलेन्स चालक संघका केन्द्रीय सदस्य महाशंकर ठाकुरले भने,‘निर्धारित भाडा दरभन्दा बढी मोलतोल गरेर बिरामीलाई अनावश्यक दुःख दिने शव वाहन सञ्चालक वा एम्बुलेन्सलाई कारवाही हुनुपर्छm।’
अस्पतालमा शव गृहको जिम्मेवारी पाएका हवल्दार विनय साह पोस्टमार्टममा ल्याइएको शव आफन्तलाई बुझाएवापत कुनै पनि प्रहरीले रकम लिएको पाइएमा कारवाही हुने बताउँछन्।
–जनकपुर अञ्चल अस्पतालमा गत आर्थिक वर्ष २०७४/०७५ मा ४ सय ४३ वटा शवको पोस्टमार्टम गरिएको छ। जसमध्ये १४ वटा बेवारिसे अवस्थामा विभिन्न स्थानबाट फेला परेका शवहरु रहेको अस्पतालको तथ्यांक शाखाले जनाएको छ। बढिजसो दुर्घटना र आत्महत्याबाट मृत्यु भएकाहरुको शव अस्पतालमा पोस्टमार्टमको लागि ल्याउने गरिन्छ। तर अस्पतालको पोस्टमार्टम भने निकै अव्यवस्थित छ।
अस्पतालभन्दा करिब सय मिटर पर बनाइएको एक तले साँघुरो कोठामा शव राख्ने गरिन्छ। शव व्यवस्थीत रुपमा राख्न सेडसमेत नहुँदा एकभन्दा बढि शव हुँदा एउटै कोठामा भुइमै राखिन्छ।
प्रहरीले अनुमति दिएपछि अस्पतालका चिकित्सकले शवको पोस्टमार्टम गरी मृत्युको कारण के हो भनेर बुझ्ने प्रयास गर्छन्। तर अञ्चल अस्पतालमा पोस्टमार्टमकै लागि भनेर विशेषज्ञ चिकित्सक उपलब्ध छैनन्। केही चिकित्सकहरुलाई यस विषयमा तालिम दिएर पोस्टमार्टममा लगाउने गरिएको मेसु नागेन्द्रप्रसाद यादव बताउँछन्। ‘तालिम पछि पोस्टमार्टम गर्दा गर्दै केही चिकित्सक अनुभवि हुनुभएको छ’ यादव भन्छन्, ‘यसका लागि छुट्टैै विभागको स्थापना गरी विशेषज्ञ चिकित्सकको दरबन्दी दिनु जरुरी छ।’
जिर्ण भवनमा लाश राम्ररी राख्ने ठाउँ समेत नहुँदा पोस्टमार्टम गर्दा निकै कठिनाई हुने गरेको चिकित्सक के.डी दास बताउँछन्। अस्पतालले हाल शव सुरक्षित राख्न तीनवटा फ्रिजिङ मेसिन खरिद गरे पनि त्यसको जडान गर्न व्यवस्थीत भवन नहुँदा शव जथाभावी राख्नुपर्ने बाध्यता छ।
प्रायःजसो बेवारिसे शवहरु फेला पर्दा तिनको आफन्तको पत्ता लगाउन प्रहरीलाई बढि समय लागेपछि शवहरु महिना सम्म पनि बेवारिसे राखिएपछि कुहिएर दुर्गन्ध फैलिँदै आसपासका स्थानीयलाई निकै गाह्रो हुने गरेको छ।