निलगिरी हाइड्रोमा दुई मजदुर लडेर घाइते
बेनी : म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४ नारच्याङको छोटेपामा जलविद्युत आयोजनाको सडक निर्माणमा खटिएका दुई जना मजदुर लडेर घाइते भएका छन्।
सडक निर्माणका क्रममा भिरबाट खसेर बुधबार नारच्याङका २० वर्षीय चुमबहादुर पुर्जा र २९ वर्षीय खिमबहादुर चोचाङ्गी घाइते भएका जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ।
घाइते दुवै जना मजदुरलाई उपचारका लागि ठेकेदारले पोखरा लगेको प्रहरी नायव उपरीक्षक महेन्द्रप्रसाद मरासिनीले बताए। १०० मिटर तल खसेका उनीहरू पोखरा पठाउँदासम्म बेहोस थिए।
निलगिरी हाइड्रो पावर लिमिटेडद्वारा प्रवर्द्धित उक्त आयोजनामा पछिल्लो एक वर्षयता भएको दुर्घटनामा दुई जना मजदुरको यसअघि नै मृत्यु भएको थियो।
भौगोलिक रुपमा विकट क्षेत्रमा सञ्चालित आयोजनालाई मजदुरको सुरक्षामा सचेत बनाइएको प्रमुख जिल्ला अधिकारी ज्ञानराज ढकालले बताए।
निलगिरी हाइड्रोपावर कम्पनीले ३८ मेगावाट क्षमताको निलगिरी र ६२ मेगावाट क्षमताको निलगिरी क्यासकेड बनाउन पहुँचमार्ग खनिरहेको छ।