दुहुन्जेल गोठमा, थाकेपछि सडकमा
बुटवल : बुटवलका सडकमा केही वर्षअघि छाडा चौपायाको संख्या अत्यधिक बढ्यो। त्यसको व्यवस्थापन जिम्मेवारी प्रहरीलाई दिइएको थियो। त्यसको केही समयपछि बेवारिस गाई, गोरुको संख्यामा कमी पनि देखियो। तर, न कान्जी हाउस बनाइएको थियो न त किसानले गोठमै फर्काएका थिए। गाई, गोरु एकाएक कम हुनुको कारण थियो, तस्करी।
पश्चिम बाँके, बर्दियाबाट पूर्वी नवलपरासीसम्म छाडा चौपाया व्यवस्थापनको जिम्मा प्रहरीमै थियो। त्यही बेला ट्रकका ट्रक गाई, गोरु झापा हँुदै सिमाना कटाइए। ‘गाई, गोरु व्यवस्थापनको अरू विकल्पै थिएन’, एक जानकार भन्छन्, ‘कान्जी हाउस बनाएर राख्न साध्य छैन। सडकमा छाड्दा विरोध भइरह्यो।’ दाङ र कपिलवस्तुबाट खुलेआम गोरु तस्करी हुँदै आएको थियो। त्यो क्रम हिजोआज केही कम भएको छ।
किसानले दुहुञ्जेल गोठमा राख्ने र थाकेपछि सडकमा छाड्ने प्रवृत्ति बढेको देखिएको छ। यस्ता गाईले सडक कब्जा गरेका छन्। रूपन्देहीको तिलोत्तमा र देवदहमा ससाना गौशालाबाहेक छाडा पशु राख्ने स्थान छैन। ती स्थानमा पनि दुई–अढाई सय पशु मात्रै अटाएका छन्। तिलोत्तमामा रहेको गौशालामा राखिएका गाई, गोरु केही महिनाअघि मरेपछि विरोधसमेत भएको थियो।
तिलोत्तमा नगरपालिकाले कडा नियम बनाएको छ। नगरपालिकाका प्रेस सल्लाहकार बीपी गौतमका अनुसार सडकमा पशु छाड्नेले ३ हजार जरिवाना तिर्नुपर्छ। त्यसको सूचना दिनेलाई पुरस्कारको व्यवस्था गरिएको छ। पशुलाई गोठमै राख्न प्रेरित गर्न नगरपालिकाले बिमा गरिदिने गरेको छ। तापनि छिटफुट सडकमै छाड्ने गरेको पाइएको छ। छेउछाउका अन्य नगरमा कडाइ नहुँदा तिलोत्तमा क्षेत्र प्रभावित रहेको उनले सुनाए।
सडकमा गाई छाड्ने प्रवृत्तिले सवारी दुर्घटना बढाएको छ। गाई, गोरुको मृत्यु भइरहेको छ। बाँकेमा गत वर्ष छाडा चौपायाकै कारण ४२ वटा सवारी दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयको तथ्यांक छ। रूपन्देहीका बुटवल, भैरहवा, सैनामैना, कपिलवस्तुको तौलिहवा, दाङका घोराही, तल्सीपुर, लमहीका चोक–चोकमा छाडा चौपाया छन्। बाँकेका कोहलपुर र नेपालगन्जका सडक अवरुद्ध गरेरै छाडा चौपाया बस्छन्।
प्रदेश ५ का प्रदेश ट्राफिक प्रहरी कार्यालयका नायब उपरीक्षक रामप्रकाश शाहले छाडा चौपायाका कारण दुर्घटनाको जोखिम बढिरहेको बताए। स्थानीय सरकारलाई आग्रह गर्दा पनि चासो नदिएको उनको भनाइ छ। ‘हामीले व्यवस्थापनका लागि उपमहानगरलाई भनेका छौं तर सुनुवाइ भएको छैन’, उनले भने।
बुटवल उपमहानगरपालिकाकी कार्यवाहक मेयर गुमादेवी आचार्यले हेरालु राखेर छाडा चौपाया व्यवस्थापन गर्ने प्रयास भइरहेको बताइन्। ‘छाडा चौपाया राख्ने कुनै स्थानको योजना बनिसकेको छैन। पशु बसिरहने डिभाइडरमा तारजाली लगाएका छौं’, उनले भनिन्, ‘हेरालुले धपाउने काम गरिरहेका छन्।’
खुला सीमाका कारण भारतबाट पनि गाई, गोरु भित्रिने गरेका छन्। बर्दिया र बाँकेका राष्ट्रिय निकुञ्जमा गाई, गोरुले हैरान पार्ने गरेका छन्। बिरामी गाई, गोरु निकुञ्जमा प्रवेश गर्दा अन्य जन्तुमा रोग सर्ने डर हुने विज्ञ बताउँछन्।