एटीएम ह्याक : प्रहरी-चोरको त्यो जम्काभेट, जसले खोल्यो करोडौंको रहस्य
दिउँसो साढे तीन बजे । शनिबारको दिन भएकाले सडकमा चहलपहल थिएन। यतिकैमा महानगरीय प्रहरी परिसरका प्रवक्ता डीएसपी होबिन्द्र बोगटीलाई एउटा फोन आयो। फोन थियो प्रभु बैंकका अप्रेसन म्यानेजरको ।
प्रभुका अप्रेसन म्यानेजरले डीएसपी बोगटीलाई आफ्ना केही एटीएमबाट कसैले अस्वभाविक रुपमा पैसा निकालिरहेको जानकारी दिए। ‘सूचना पाउने बित्तिकै मैले सम्बन्धित वृतलाई जानकारी गराएँ र सूचनाको वजनलाई ध्यानदिँदै म आफैं पनि कार्यालयबाट निस्किएँ,’ उनले थपे, ‘थोरै मात्र ढिला गरेको भए हामी चुक्थ्यौं । त्यसैले हामी चनाखो भएका थियौं।’
डीएसपी बोगटी आफ्नो टोलीकासाथ कमलादी नजिकै पुगेका बेला दरबारमार्ग वृतको टोली पनि त्यहाँ पुगिसकेको थियो। शंकास्पद भनिएको नबिल बैंकको एटीएममा पुग्दा त्यहाँ एक विदेशी नागरिक फेला परे। उनी थिए चु ल्याङआङ नामक चिनियाँ नागरिक ।
‘एक मिनेट ढिलो भएको भए वा ल्याङआङलाई पक्राउ गर्न नसकेको भए हामीलाई अपराधीसम्म पुग्न यति सहज हुने थिएन,’ डीएसपी बोगटीले भने, ‘उनलाई पक्राउ गर्न सफल भएकै कारण हामी अरु चार अपराधीसम्म पुग्यौं र हुनलागेको क्षति बच्यो।’
प्रहरीको टोलीले पक्राउ परेका ल्याङआङको साथबाट ४५ हजार नेपाली रुपैयाँ मात्र भेट्टायो। तर, सोधपुछ गर्दा ती चिनियाँ नागरिक केही पनि बोल्न मानेनन्। उनको साथबाट प्रहरीले होटलको चाबीसमेत फेला प¥यो। त्यो चाबी थियो हात्तिसारस्थित माया मनोह बुटिकको।
प्रहरीको टोली ढिला नगरी माया मनोह बुटिक पुग्यो। लिफ्टबाट निस्किने बित्तिकै अन्य चारजना चिनियाँ नागरिक झोला बोकेर बाहिर निस्किन थालेका थिए। डीएसपी बोगटीसहितको टोलीले उनीहरुलाई पक्राउ गर्यो। र, उनीहरु नै बसिरहेको कोठा २०१, ६०२ र ६०४ मा लगेर सोधपुछ गर्यो।
‘एटीएमबाट लिएका पैसा उनीहरुले पालैपालो होटलको कोठा ओसार्ने गरेका रहेछन्, त्यसैले सुरुमै पक्राउ परेका ल्याङआङको साथबाट हामीले ४५ लाख मात्र बरामद गर्यौं,’ बोगटीले भने,‘जब होटलमा पुगेर भाग्न थालेको अवस्थामा थप चारजना पक्राउ गर्यौं त्यसपछि हामीले उनीहरुले गरेको अपराधको बृहत रुप देख्यौं।’
प्रहरीले लिन च्यानमङ, ल्यो च्याले, चु ल्याङआङ, छिउ यूनछिङ, छन पिनपिनको साथबाट १ करोड २६ लाख २९ हजार ४५ नेपाली रुपैयाँ, ९ हजार १०८ अमेरिकी डलर, १ हजार ९१ चाइनिज मुद्रा, २५० युरो, ५ हजार कम्बोडियन र ८० हङकङ डलर बरामद गरेका छ। राष्ट्र बैंकको पछिल्लो विवरण अनुसार चोरले करिब ३ करोड भन्दाबढी नेपाली रुपैयाँ एटीएमबाट लिकालिएको छ। तर, लुटिएको यकिन विवरण भने आउन सकेको छैन।
चोरको साथबाट १३२ वटा नक्कली भिष कार्ड, १७ वटा सक्कली भिषा कार्ड, एउटा कार्ड प्रिन्टर मेसिन, मोबाइल ६ वटासमेत प्रहरीले बरामद गरेको छ। उनीहरुले नबिल, नेपाल एसबीआई र नेपाल इन्भेष्टमेन्ट बैंकका विभिन्न एटीएम बुथबाट पैसा निकालेको पाइएको छ। तर, कार्ड भने प्रभु, एनआईसी एसिया, सिद्धार्थ, जनता, ग्लोबल आइएमई, सनराइज बैंकको प्रयोग भएको प्रहरीले जनाएको छ। शनिबारको दिन ५ घण्टासम्म चोरले पैसा झिक्ने काम गरेका थिए।
तीन दिनका लागि नेपाल
एटीएमबाट पैसा चोर्ने चिनियाँ तीनदिनका लागि मात्र नेपाल आएको प्रहरीको अनुसन्धानले देखाएको छ। शुक्रबार मात्र नेपाल भित्रिएको र आइतबार नै चीनतर्फ भाग्ने योजना उनीहरुले बनाएको प्रहरीको अनुसन्धानबाट खुलेको हो।
परिसर प्रमुख एसएसपी उत्तम सुवेदीका अनुसार चोरले शनिबार मात्रै काम गर्ने योजना बनाएर नेपाल आएका थिए। पक्राउ परेकासँगै आएका अन्य व्यक्ति पनि फरार रहेकाले उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ।
‘हामीले उनीहरुसँग सोधपुछ गर्यौं, उनीहरुले आफूहरु तीनदिनको लागि मात्र काठमाडौं आएको कुरा हामीसमक्ष बताएका छन्,’ एसएसुपी सुवेदीले भने,‘यो भनाइबाट के कुरा प्रष्ट हुन्छ भने उनीहरु अपराधिक मनस्थिति लिएर नै यहाँ आएका थिएँ र यही कारण चाँडै भाग्न खोजिरहेका थिए तर हामीले उनीहरुको योजना सफल हुन दिएनौं।’
नेपाली कनेन्सन खोज्दै प्रहरी
एटीएमबाट पैसा चोरी गर्ने चिनियाँ नागरिकको नेपाली कनेक्सन प्रहरीले खोज्न थालेको छ। एकदिन अगाडि यहाँ आएर यतिधेरै पैसा चोर्नु सामान्य कुरा नभएको प्रहरीको निष्कर्ष छ।
नेपालीका संलग्नता समेत रहेको सञ्जालकै माध्यमबाट यिनीहरु यहाँ आएको हुनसक्ने डीएसपी बोगटीले बताए। ‘यिनिहरुको संजालमा नेपालीको संग्लग्नता नहोला भन्न सकिन्न, यतिधेरै पैसा कहाँ लाने कसरी चलाउने भन्ने पनि हुन्छ, त्यसैले यो पाटोबाट पनि अनुसन्धान भइरहेको छ,’ बोगटीले भने।
उनका अनुसार पक्राउ परेका व्यक्तिको साथबाट बरामद भएका मोबाइलको कल डिटेल पनि प्रहरीले अनुसन्धान गरिरहेका छ। ल्यापटप र अन्य मेसिनको फोरेन्सिक टेस्टको रिपोर्ट आएपछि यो अनुसन्धान अगाडि बढ्ने उनले जानकारी दिए।
सर्वसाधारणको निक्षेप सुरक्षित छ
राष्ट्र बैंकका प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाले ह्याकरले बैंकको सफट्वेयरमा नभएर एटीएम सिस्टममा आक्रमण गरेको बताए। ‘अहिले ह्याकरले एटीएम सिस्टममा आक्रमण गरेको खुलेको छ’, उनले भने, ‘बैंकको सफट्वेयरमा आक्रमण नभएकाले सर्वसाधारणको निक्षेप सुरक्षित छ।’ आइतबार चिनियाँ ह्याकर समूहले राजधानीका विभिन्न ठाउँबाट रकम चोरी गरेपछि एटीएम सेवा अवरुद्ध भएको छ।
प्रवक्ता निरौलाका अनुसार तत्कालका लागि नेप्समा आबद्ध बैंकका एटीएम कार्ड अरु बैंकका एटीएम मेसिनमा प्रयोग गर्न बन्द गरिएको छ। तर सोही बैंकको एटीएमबाट भने पैसा निकाल्न सकिन्छ।
कसरी निकाले पैसा ?
बैंकर संघका अध्यक्ष ज्ञानेन्द्र ढुंगानाले भाइरसको माध्यामद्वारा सिस्टम ह्याक गरिएको बताएका छन्। एटीएमको स्वीचमध्ये एउटा सफ्टवेयर ह्याक भएको अध्यक्ष ढुंगानाले बताए। ‘भाइरस प्रयोगबाट एटीएम मिसिनमा रहेको स्वेप्ट सिस्टम ह्याक गरेर पैसा चोरी गरिएको हो,’ प्रहरी परिसर टेकुमा भएको पत्रकार सम्मेलनमा उनले भने।
प्रहरीले भने कसरी पैसा लिकालियो भन्ने विषयमा अनुसन्धान भइरहेको बताएको छ। भिजाले विवरण नपठाउन्जेलसम्म र एटीएमबारे विस्तृत जानकारी लिनका लागि फरेन्सिक एनालाइसिसको रिपोर्ट नआएसम्म यसबारे भन्न नसकिने परिसर प्रमुअ एसएसपी सुवेदीले जानकारी दिए।
पूर्वडीआईजी एवम् अपराध विज्ञ हेमन्त मल्ल ठकुरीका अनुसार पक्राउ परेका चोरहरु एटीएम ह्याकर नभई विदेशबाट डाटा चोरेर नेपाली एटीएमलाई पैसा निकाल्ने माध्यम बनाएका हुन्। उनले यस्तो चोरी नियन्त्रण गर्न नेपाल प्रहरी पूर्ण रुपमा सक्षम रहेको उनले बताएका छन्।
उनले ट्विट गर्दै लेखेका छन्, ‘होहल्ला भएजस्तो डरलाग्दो अवस्था होइन, मेरो अनुभव र मलाई जानकारी भएसम्म नेपाल प्रहरी यस्ता अपराध नियन्त्रण गर्न पूर्ण रुपमा सक्षम छ।’