बर्खे नाचमा पति वियोगको चरित्र
बेनी : बेनीमा दुई सय वर्षअघिदेखि देखाइँदै आएको एक महिना लामो बर्खे नाच समापन गरिएको छ। साउन १४ गते घण्टाकर्ण चतुर्दशी गठेमंगल पर्वका दिनदेखि सुरु भएको बर्खे नाच धार्मिक विधिअनुसार समापन गरिएको हो।
बजार परिक्रमा गरेर गणेशटोलको गणेश मन्दिरमा पुगेका लाखेलाई श्रीकृष्णले वध गरेपछि बर्खे नाच समापन गरिन्छ। परम्परागत समाजमा समाजलाई दुःख दिएको घण्टाकर्ण नामको राक्षसलाई नास गरेपछि उसकी श्रीमतीले पति वियोगमा देखाउने चरित्रलाई बर्खे नाचमा प्रस्तुत गरिन्छ। बेनीमा नेपाल भाषा मंकाःखल र ल्यामःपुचको पहलमा बर्खे नाच देखाउने गरिन्छ। बर्खे नाच बेनीका नेवार समुदायको सांस्कृतिक पहिचान मानिन्छ। भाषा मंका खलका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले बेनीमा मानवबस्ती बसेदेखि दुई सय वर्षयता प्रत्येक वर्ष बर्खे नाच देखाउने गरिएको बताए।
बर्खे नाचअन्तर्गत मृढृङ्गा र मादलको तालमा लाखे, घोडा, नागनागिनी, रोपाइँ र जोगी नाच देखाउने गरिन्छ। बेनीमा बसोबास भएदेखि नै गठेमंगल पर्व मनाउने र बर्खे नाच देखाउने परम्परागत चलन रहेको ल्यामः पुचका अध्यक्ष सुविन श्रेष्ठले बताए।
बर्खे नाच सकिएपछि बेनीमा हनुमान नाचको संरक्षणका लागि प्रशिक्षण चलाउने तयारी भएको छ। धेरै संख्यामा कलाकार आवश्यक पर्ने हनुमान नाचका लागि जनशक्ति तयार पार्न तालिम दिने गरिएको ल्याम पुचका अध्यक्ष श्रेष्ठले बताए।
जनशक्ति अभावमा १० वर्षयता हनुमान नाच प्रदर्शन हुन सकेको छैन। यसका लागि ५० देखि ६० जना कलाकार आवश्यक पर्छ। बर्खामा खेतीबाली लगाउने काम सकिएको संकेतस्वरूप परम्परागत समाजमा मनोरञ्जनका लागि रोपाइँ नृत्य देखाउने गरिएको बजारका बूढापाकाहरू बताउँछन्।