टिपरलाई टाइम कार्ड
जब साँझ पर्छ, तब राजधानीमा फुकुवा हुन्छन् टिपर। राजधानीका चारै दिशाबाट एकसाथ प्रवेश गर्ने टिपरहरू अनियन्त्रित गतिमा सहर छिर्छन्। रिङरोडदेखि गल्लीसम्म तीव्र रूपमा हुइँकिन्छन्। बत्तासिँदै अन्धाधुन्ध गुड्ने टिपर टाढा देख्दै अरू सवारी साधन तर्किन थाल्छन्। ट्राफिक प्रहरीका अनुसार राजधानीमा हुने अधिकांश दुर्घटनाका कारण हुन्, टिपर। टिपर-ट्रकका कारण गत वर्ष मात्र राजधानीमा झण्डै सात सय दुर्घटना भए।
ती दुर्घटनामा सयभन्दा बढीले ज्यान गुमाएका छन्, सयौं अंगभंग भएका छन्। दुर्घटना बढेपछि सरकारले राजधानीमा दिउँसो टिपर चलाउन रोक लगायो। बिहान सातदेखि साँझ सात बजेसम्म राजधानीका सडकमा टिपर गुड्न पाउँदैनन्। तर साँझ नपर्दै एकसाथ सडकमा निस्कने टिपरले दिनभर थन्किनुपरेको झ्वाँक एकसाथ देखाएजस्तो अनुभूति हुन्छ। गति असीमित हुन्छ। त्यही कारण मोटरसाइकल, साइकल र पैदलयात्री भाग्ने गरेका छन्।
दिउँसो गुड्न नपाएपछि साँझ सात बजे एकसाथ टिपरहरू हुत्तिँदै राजधानी प्रवेश गर्छन्। त्यसमाथि सुरु हुन्छ, एकअर्कालाई उछिन्ने प्रतिस्पर्धा। त्यसक्रममा मोटरसाइकलदेखि पैदलयात्रीले साइड लाग्नुपर्छ, टिपरलाई टाढै देख्दै। यही तीव्र गति, भुइँमा सानातिना नदेखिने अग्ला सवारी साधन र उछिनपाछिन दुर्घटनाका मुख्य कारण हुन्। टिपरले बढीजसो मोटरसाइकल र पैदलयात्रीलाई ठक्कर दिएका घटना छन्। त्यसको कारण पनि यही हो। चालकको लापरबाही र अपरिपक्वताकै कारण टिपर दुर्घटना बढिरहेको छ। राजधानीमा भौतिक संरचना निर्माणका लागि दैनिक दुई हजारभन्दा बढी टिपर भित्रिन्छन्। रोडा, गिटी, बालुवा, इँटा, ढुंगा बोक्ने गरेका तिनले फ्याँक्ने धुलोमैलो त कुरै छाडौं।
एकातिर सडक साँघुरा छन्, भएका सडक पनि खाल्डाखुल्डी र प्रदूषित छन्। त्यसमाथि टिपरले बालुवा र पानी खसाल्दै गुड्ने गरेका कारण मोटरसाइकल, साइकलदेखि पैदल यात्रु प्रभावित छन्। त्यसले सडकको आयु पनि घटाउँछ। क्षमताभन्दा बढी भार बोक्ने समस्या उत्तिकै छ। टिपर चालकको उमेर पनि दुर्घटनाको अर्काे कारण हो। परिपक्व नभई लाइसेन्स दिँदा चालकमा जिम्मेवारीपन देखिँदैन। उनीहरूमा परिपक्वताको कमीकै कारण एकले अर्कालाई उछिन्ने प्रतिस्पर्धाको भावना र उत्ताउलोपना देखिन्छ।
सवारी लाइसेन्स दिँदा नै उमेरको सीमा तोक्नुपर्ने र जनताप्रति गर्ने व्यवहारबारे चालकलाई प्रशिक्षण दिनुपर्ने देखिन्छ। दिउँसो गुड्न नपाएपछि राति दुई वा तीन ‘ट्रिप’ गर्नुपर्ने दबाबका कारण पनि चालकमा हतारो देखिने गरेको पाइन्छ। व्यवसायीहरूले पनि आर्थिक लाभका कारण चालकलाई दबाब दिन रोक्नुपर्छ। टिपरहरूको बनावटबारे पनि सम्बन्धित निकायको ध्यान जानु जरुरी छ।
त्यसो त टिपरले पनि गुड्ने सडकमै हो। यो सडक तिनका लागि पनि हो। तिनले आपूर्ति गर्ने सरसामान उपत्यकाका वासिन्दाकै लागि हो। टिपरले ढुवानी नगर्ने हो भने धेरैलाई धेरैखाले समस्या हुन्छ। त्यसैले समस्या टिपरमा होइन, तिनको गति र लापरबाहीमा हो। नियन्त्रण त्यसमै हुन आवश्यक छ। सबैभन्दा ठूलो कुरा त टिपर चालक आफैंले स्वनियन्त्रण गर्न जरुरी छ।
साथसाथै सरकारले नियमन गर्न आवश्यक छ। टिपरका लागि दिउँसो रोक लगाएर मात्र नपुग्ने अवस्था छ। खोलिएको समयमा गति नियन्त्रण गर्ने उत्तम उपाय टाइम कार्ड पनि हुन सक्छ। सरकारी निकायहरूले पटकपटक टाइम कार्डको कुरा गरे पनि लागू गरेका छैनन्। यसको व्यवस्था गरेर निश्चित दूरीको अधिकतम समय तोक्नैपर्छ। एक स्थानबाट अर्को स्थानसम्म पुग्ने समयसीमा नतोक्ने हो भने अवस्था सुध्रिने छैन।