रित्तै भए रुकुमका स्थानीय सरकार
रुकुम : रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकाका कुनै पनि वडामा स्थायी कर्मचारी छैनन्। यो गाउँपालिकाका १४ वडा र गाउँपालिका कार्यालय गरी जम्मा ५३ जना स्थायी कर्मचारीको दरवन्दी छ। तर, एक वर्षदेखि यहाँ एक जना मात्रै कर्मचारी छन्।
गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत, इञ्जिनियर, शाखा अधिकृत, आन्तरिक लेखापरीक्षक, कम्प्युटर अपरेटर, लेखा सहायक, प्राविधिक सहायक, सहायक महिला विकास निरीक्षक लगायतका पदमा २३ जनाको दरवन्दी भएपनि एक वर्षदेखि यहाँ प्रमुख प्रशासकीय अधिकृत मात्रै कार्यरत रहेका छन्।
त्यस्तै अन्य वडा कार्यालयहरुमा प्रशासन सहायक, सबइन्जिनियर, ओभरसियर लगायतका पदमा २८ जनाको दरवन्दी भएपनि यहाँ १ जना पनि कर्मचारी छैनन्। प्रमुख प्रशासकीय अधिकृत रविन्द्र बुढाक्षेत्रीका अनुसार वडा सचिव र कर्मचारी नहुँदा दैनिक कार्यसम्पादनमा निकै समस्या हुने गरेको उनको छ।
पञ्जिकाधिकारीका रूपमा अहिले वडा कार्यालयमा स्वास्थ्यकर्मी तथा कृषि प्राविधिकहरुले काम गरिरहेको प्रमुख प्रशासकीय अधिकृत बुढाक्षेत्रीले जानकारी दिए। रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकाकामा पनि कर्मचारी समस्याको अवस्था उस्तै छ।
यहाँ कार्यरत नायब सुुब्बा ज्ञानबहादुर खड्काले प्रशासन, शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख तथा वडा(३को पञ्जिकाधिकारीको काम गरिरहेका छन्। यहाँ पनि एउटा व्यक्तिले ३ वडाको काम गर्नुपर्ने वाध्यता रहेको गाउँपालिका अध्यक्ष धर्मबहादुर केसीले बताए। जिल्लाको त्रिवेणी गाउँपालिकाका खरिदार अमर पुनले सामाजिक सुरक्षा शाखाका साथै वडा ३ र ६ को पञ्जिकाधिकारीको काम गर्नुपरेको छ।
उता आठबिसकोट नगरपालिकामा स्थानीय तह अन्तर्गत समायोजन भएर एक जना मात्रै कर्मचारी आए। सह लेखापालमा समायोजन भएर आएका कर्मचारीबाहेक अन्यले आठबिसकोट रोजेनन्। १४ वडा मध्ये ४, ११ र १४ नम्बर वडामा विकासे स्थायी कर्मचारी छन्। बाँकी सबै वडा कार्यालय करारका कर्मचारीको भरमा चलिरहेका छन्।
७ जना कर्मचारी समायोजन रोजेर अन्यत्रै जाँदा जिल्लाको सानीभेरी गाउँपालिकामा पाँच जना समायोजन भएर आए तर त्यसमा १ जना पनि प्रशासन तर्फका नभएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुमारीरिमा मल्लले जानकारी दिइन्।
झन्डै ७० जना कर्मचारीको दरबन्दी रहेको जिल्लाको चौरजहारी नगरपालिकामा आधा पनि कर्मचारी छैनन्। स्वायत्त भनिएका स्थानीय सरकारहरु पछिल्लो समय कर्मचारी विहीन भएका छन्। उनीहरु आफैले कर्मचारी नियुक्त गर्न पाउने अधिकारसमेत पाएका छैनन्। जसले गर्दा जनताको दैनिक काममा समस्या उत्पदन्न भएको चौरजहारीका नगरप्रमुख विशाल शर्माले बताए।
संघीय सरकारले कर्मचारीको व्यवस्था नगर्दा अधिकांश करारकै कर्मचारीको भरमा स्थानीय सरकार चलाउनुपर्ने वाध्यता रहेको उनको भनाई छ। समायोजनमा पनि यहाँका स्थानीय तहमा आउने भन्दा पनि यहाँबाट जाने धेरै हुँदा अहिले निकै समस्या भएको नगरप्रमुख शर्माको बताए।
संघीय सरकारले दरबन्दीअनुसारका कर्मचारी नपठाउँदा करारमा कर्मचारी भर्ना गरेपनि छन् तर उनीहरूबाट अधिकांश कामकाज हुँदैन। कर्मचारी नहुँदा कामकाजमा असर परेको बाँफिकोट गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत महेश गुरुङ्ग बताए।
‘काम त चलाएका छौं,’उनले भने,‘तर पनि सबै कर्मचारी भए जसरी चल्नु र कर्मचारी अभावमा चल्नुमा त फरक पर्दाे रहेछ।’ पञ्जिकाधिकारीको कामसमेत करारका कर्मचारीलाई गराउने गरिएको चौरजहारी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत ताराबहादुर कुँवरले बताए।