लागुऔषध कारोवार आरोपमा भारतीय नागरिक पक्राउ
राजविराज : लागुऔषध कारोवारमा संलग्न एक भारतीय नागरिकलाई सप्तरी प्रहरीले आइतबार पक्राउ गरेको छ ।
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१४ बाट प्रहरीले लागुऔषधसहित भारत बिहार सुपौल कुनौली पञ्चायत–५ का ४७ वर्षीय दयाशंकर साहलाई पक्राउ गरेको जनाएको हो ।
प्रहरी चौकी तिलाठीबाट खटिएको गस्ती टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको को १६ प ९१७४ नम्बरको मोटरसाइकल चेकजाँच गर्दा साह पक्राउ परेका हुन् । उनको साथबाट ३०÷३० एम्पुल बुप्रेनोरफिन, फेनारगन र डाइजेपाम बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी तिलक भारतीले बताए ।
भारतबाट लागु औषध लिएर सप्तरी प्रवेश गरी महँगो मुल्यमा बिक्री गर्ने गरेको उनले स्वीकार गरेका छन् । उनलाई लागुऔषध नियन्त्रण ऐन २०३३ बमोजिम कारवाही प्रक्रिया अघि बढाइएको डिएसपी भारतीले बताए ।