रुपन्देही गोलीकाण्ड : क्यामेरामा कैद भए ‘सुटर’
भैरहवा : रुपन्देहीको रोहिणी गाउँपालिका—३स्थित बैकुण्ठपुरमा एक व्यक्तिको गोली हानी हत्या गर्ने ‘सुटर’को तस्बिर क्यामेरामा कैद भएको छ। घटनापछि प्रहरीले थालेको प्राविधिक अनुसन्धानबाट गोली प्रहार गर्नेको व्यक्तिको तस्बिर क्यामेरामा कैद भएको पत्ता लागेको हो।
सुटरको उक्त तस्बिर प्राप्त भइसकेको प्रहरी स्रोतले अन्नपूर्णलाई जानकारी दियो। आइतबार दिउँसो मोटरसाइकलमा सवार दुई अपरिचित युवाहरुले रुपन्देहीको ओमसतिया गाउँपालिका—५ पट्खौलीका महेन्द्र कुर्मीको हत्या गरेका थिए।
मृतकको कुर्मीको बायाँ कुममा गोली लागेको थियो। उनको घटनास्थलमै मृत्यु भएको थियो। गोली प्रहार गर्ने युवाहरु फरार भएका छन्। गोली प्रहार गर्ने समूहले गोली हानेर हत्या गरेपछि भैरहवातर्फ मोटरसाइकल मोडेर फरार भएको प्रत्यक्षदर्शीले बताएका छन्।
स्थानीयका अनुसार लु ९ प ८२३५ नम्बरको मोटरसाइकलमा श्रीमती र छोरासहित घर फर्किने क्रममा कुर्मीलाई गोली हानिएको थियो। ‘मोटरसाइकलमा सवार गोली प्रहार गर्ने युवाहरुको तस्बिर हामीलाई प्राप्त भएको छ’, प्रहरी स्रोतले अन्नपूर्ण पोस्ट्सगँ भन्यो,‘सबै कोणबाट अनुसन्धान हुँदैछ। हत्या गर्नेहरु छिट्टै पक्राउ पर्छन।’
स्रोतका अनुसार प्रहरीलाई प्राप्त तस्बिरमा दुई युवाहरु मोटरसाइकलमा सवार छन्। जसमध्ये मोटरसाइकल चलाउने युवाले सेतो टिर्सट, निलो जिन्स पाइन्ट र कालो हेलमेट लगाएका छन् भने पछाडी बस्ने युवाले (सम्भवत सुटर) खैरो रंगको चेक फुल सर्ट, निलो जिन्स पाइन्ट र सेतो जुत्ता लगाएका छन्।
‘मृतक कुर्मी भैरहवा स्थित हिमालय बैंकबाट ५ लाख रुपैयाँ निकालेर घरतर्फ जादै गर्दा बिचबाटोमा मोटरसाइकलमा सवार समूहले गोली हानी हत्या गरेर रकम लुटिएको छ’ रुपन्देही प्रहरीका प्रवक्ता एवं डिएसपी विरेन्द्र शाहीले भने,‘गोली कसले र किन चलाएको भन्ने विषय खुलेको छैन। घटनाको अनुसन्धान गर्दैछौँ।’
घटनाको अनुसन्धानको लागि प्रहरीको एक टोली गठन भएको छ। जसले घटना लगत्तै अनुसन्धान सुरु गरेको छ। स्थानीयका अनुसार मृतक कुर्मी ६/७ वर्षअघि वैदशिक रोजगारबाट गाउँ फर्किएका थिए। उनले केही समय यता आफ्नो रकम व्याजमा अन्य व्यक्तिलाई दिने गरेको स्थानीयको दावी छ। कुर्मी कृषक पनि हुन्।