हेप्‍ने ? रामधुलाइ होला नि !

हेप्‍ने ? रामधुलाइ होला नि !

रामधुलाइ शब्द ‘हेपाइ’ को चरमोत्कर्ष हो। यसको अर्थ भकुर्नु हो। कुन कानुनले अर्कालाई भकुर्ने छुट दिएको छ ?


‘दुईतिहाइको सरकारलाई हेप्‍ने ? ’ हास्य कलाकार मनोज गजुरेलको गाईजात्रे प्रस्तुति अहिले ‘भाइरल’ छ। युटुब छिरेको केही दिनमै दस लाखभन्दा बढीले हेरिसकेका छन्। सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटा कडा मिजासका छन्। मनोजले उनैको त्यही स्वभाव ‘क्यारिकेचर’ गरे, जुन खुब चल्यो। त्यसमध्ये प्रश्नवाचकयुक्त ‘हेप्‍ने’ शब्द भने सबैको मुखमा झुन्डिएको छ। कारण उही हो– यसमा भएको नकारात्मक सौन्दर्य।

व्यंग्यको कामै घोचपेच हो। त्यसमाथि गाईजात्रामा। त्यसमा ‘सकारात्मक सुन्दरता’ अपेक्षा गर्नु नै बेकार हो। तर, त्यस्तै सिकेका ज्ञानेन्द्र शाहीले अर्का मन्त्रीलाई उही ‘हेप्‍ने ? ’ शैली प्रयोग गर्दै जहाजमै थर्काएका छन्। पर्यटनमन्त्री योगेश भट्टराई केही मिनेट ढिला भए। सायद जहाजलाई कुर्न भने/भनाए। उनको कुरा बिक्यो होला। कुराउनु गल्ती थियो। तर, उनीमाथि जसरी ज्ञानेन्द्रहरू अमर्यादित ढंगले खनिए, नकारात्मकताको पराकाष्ठा नाघ्यो। ठूलो स्वर, चर्को प्रस्तुति, कुटपिट गर्न तयारजस्तो हाउभाउ ‘शुद्धीकरण’ मा लागेको बताउने व्यक्तिको तरिका होइन। त्यसमाथि उनैले फेसबुकमा लेखे, ‘मन्त्रीलाई रामधुलाइ गरियो।’

रामधुलाइ शब्द ‘हेपाइ’ को चरमोत्कर्ष हो। यसको अर्थ भकुर्नु हो। कुन कानुनले अर्कालाई भकुर्ने छुट दिएको छ ? यो भाषागत अशिष्टता हो। त्यसमाथि उनले फेसबुकमै मन्त्री ‘मुसो लुके झैं लुकेको’, ‘अरिंगालका दिनगन्ती सुरु’ जस्ता राजनीतिक दुच्छर शब्दावली प्रयोग गरेका छन्। त्यसले उनी व्यक्तिगत ढंगले उत्रिएको आभास दियो। ढिला आएकामा शिष्ट प्रश्नै गरेको भए मन्त्री त्यहीं लत्रक्क हुन्थे। तुरुन्तै माफी माग्थे। तर, जमात गालीगलौजमा उत्रियो। संविधानलाई दोष दियो। ‘पञ्चायत’ को प्रशस्ति गायो। के चर्किएर/झर्किएर बोल्नु देश निर्माणको अभियान हो ?      

बरु प्रश्न योचाहिँ हो– मन्त्रीले उद्घाटनमा ज्यानै फालेर किन दौडिने ? ढिलाइको मुख्य कारण पनि त्यही हो। के मन्त्रीले उद्घाटन नगरे कुनै कार्यक्रम सफलै हुँदैन ? देशदेशावर गर्ने आफू, सहायकदेखि सुरक्षाकर्मीसम्मको खर्च जसले बेहोरे पनि अनावश्यक हो कि होइन ? चाहे त्यो सरकारका सदस्यले होस् वा आफूलाई भ्रष्टाचारविरोधी बताउनेहरूले नै किन नहोस्, लखर–लखर गर्ने पैसाको स्रोत के हुन्छ ? सबैले पारदर्शी गर्नैपर्छ।

कुनै पनि व्यक्तिको पेसै भाषण ठोकेर हिँड्ने छ, कमाइ कहाँबाट आउँछ ?  सबैभन्दा ठूलो कुरा त देशमा गफतन्त्र हाबी हुँदै गएको छ। उच्छृंखलता र अराजकतालाई हामी ‘अभियान’ भन्छौं। खास देश बनाउने समय अब आयो। ढुंगा हान्न होइन, ढुंगा जोड्न सिकाऔं। रामधुलाइ गर्न होइन, कामधुलाइ गर्न प्रेरित गरौं। माइतीघर घेर्ने समयमा सिर्जना/योजनाका खाका तयार गरौं। ‘यो देशमा केही हुन्न’, ‘बर्बादै भयो’, ‘यहाँ बसेर के गर्ने ? ’ जस्ता निराशावादी सोच बन्द गरौं। यो देश बनाउने हामीले हो। अर्कालाई गाली गर्नुअघि यो देश बनाउन (नारा लगाउनेबाहेक) मेरो के–कति योगदान छ भनेर हरेकले छातीमा हात राखेर सोच्ने हो भने पक्कै पुग्छ।

०००

ग्लोकल टिन हिरोको निर्णायकमा संयोगले परियो। पौरखी किशोर–किशोरीका अन्तर्वार्ता लिँदा ‘नेपालीले के गर्न सक्दैन ? ’ भन्ने अनुभूति हुँदो रहेछ। तीमध्ये हिरो छानिएका १६ वर्षीय समीर फुयाल वेब/एप डेभलपर हुन्। उनी करिब १५० देशका झन्डै १५ हजार जनालाई नेटबाट पढाउँछन्। विज्ञापन प्लेटफर्मका रूपमा उनले बनाएको ‘नयाकिनमेल डट कम’ निकै लोकप्रिय भइसकेको छ।

खास देश बनाउने समय अब आयो। ढुंगा हान्न होइन, ढुंगा जोड्न सिकाऔं। रामधुलाइ गर्न होइन, कामधुलाइ गर्न प्रेरित गरौं। माइतीघर घेर्ने समयमा सिर्जना/योजनाका खाका तयार गरौं।

फालिएका प्लास्टिक बटुलेर विधि मण्डल इँटा बनाउँछिन्। लव–कुश पन्थीले नेपाली भाषा बुझ्ने रोबोट बनाएका छन्। रचिन कालाखेतीले यस्तो एप बनाएका छन्, जसको सहयोगले घातक रोग भए/नभएको पहिचान हुन्छ। सुप्रिया महर्जन स्कुल छाडेका बालबालिका बटुलेर पढाउँदै हिँड्छिन्। विक्रम पराजुली सामुदायिक स्कुलहरूमा गएर आईटी शिक्षा दिन्छन्।

उन्नाइस वर्षमुनिका पौरखीमध्ये केही उदाहरण हुन् यी। पौरख गर्नेलाई त्यसकै ध्यान हुन्छ। हामी अधिकांश सिर्जनशील समय सामाजिक सञ्जालमा च्याट गरेर बस्छौं अनि देशलाई दोष दिन्छौं। नेतालाई गाली गर्छौं। ‘हेप्‍ने ? ’ भन्दै हिँड्छौं। अनि, ‘रामधुलाइ’ का प्रसंग जोड्छौं। त्यही भएर यो देश पछि परेको हो। नेपाल गरिब होइन। कमजोर होइन। हामीले गरिब बनाएको हो। हामीले ढंग नजानेर पछि पारेको हो। यो देशमा के छैन ? फगत फल टिपेर खानसम्म हामी जान्दैनौं।

०००

अमेरिकी चलचित्रकर्मी तथा संगीतकार डेभिड लिन्चले भनेका छन्, ‘नकारात्मकता सिर्जनशीलताको दुस्मन हो।’ जब हामी भत्काउँदै गएपछि भविष्यमा बन्छ भन्ने सिद्धान्तबाट प्रेरित हुन्छौं, कहिल्यै पूर्णता दिन सक्दैनौं। जब सुरुमै बनाउन थाल्छौं, कुनै न कुनै दिन अवश्य पूर्ण हुन्छ।

खासगरी सामाजिक सञ्जालको व्यापकतासँगै देशमा नकारात्मकताले महत्त्व पाउँदै गएको छ। अनधिकृत सामग्रीहरू यसमा उब्जिन्छन्। तिनमा तीव्र मत जाहेर हुन्छन्। आधिकारिकता पुष्टि हुनुअघि नै ठूलाठूला (दुर्)घटना भइसकेका हुन्छन्। नराकात्मक विषयको फैलावट पनि अनियन्त्रित एवं गुणनात्मक गतिमा हुन्छ। त्यही भएर हुन सक्छ– सरकारले सामाजिक सञ्जाल नियमनको पहल सुरु गरेको छ। त्यसको पनि विरोध भइरहेको छ। चाहे त्यो क्लिन फिड होस्, वा सामाजिक सञ्जाललाई करको दायरामा ल्याउने योजना, दुवै जरुरी छन्। किनकि, अनियन्त्रणकै कारण हामी क्रमशः ‘सांस्कृतिक उपनिवेशवाद’ ले गाँज्ने ठाउँमा पुग्दै छौं।

सामाजिक सञ्जालको दुरुपयोगबाट आर्थिक अपचलनसमेत भएको छ। बुस्टिङ गर्ने एजेन्टहरू छ्यासछ्यास्ती छन्। तिनले प्रायः कार्डबाट भुक्तानी गर्छन्। नेपालमा कार्ड अनुगमन प्रणाली प्रभावकारी छैन। भुक्तानीमा कर तिरिएको हुँदैन। सामाजिक सञ्जालमा अग्रणी फेसबुकले विज्ञापनबाट गर्ने कमाइको ५१ प्रतिशत विदेश (अमेरिकाबाहिर) बाट छ। त्यसमध्ये ५७ प्रतिशत एसियाली मुलुकबाट पाउँछ। त्यसमा नेपालको हिस्सा पनि ठूलै छ। तर, कति छ, यकिन छैन। किनकि, यहाँ त्यसको खास तथ्यांक कुनै निकायसँग छैन।

‘बागमती सफा गर्न जाऔं’ भनेर जुटाउने सामाजिक सञ्जाल अचेल माइतीघरमा नारा लगाउने प्रयोजनमा भेला पार्न बढी प्रयोग भइरहेको छ। त्यो पनि संविधानप्रदत्त अधिकार हो। तर, नकारात्मक ऊर्जा पैदा गर्ने काममा समय किन खेर फाल्ने भन्ने मेरो प्रस्ताव हो। आउनुहोस्, सडक सफा पारेर आन्दोलन गरौं। चेतनाका नारा लगाएर प्रदर्शन गरौं। नारा यस्ता प्रयोग गरौं, जहाँ ‘मुर्दावाद’ शब्दै नआओस्। गल्ती गर्ने नेतालाई ‘फूलको गुच्छा’ दिऔं। यसरी सच्चिन बाध्य पारौं, ताकि देख्दै लाज होस्। जुलुस, प्रदर्शन र नाराबाजीले झन् दोहोरो उत्तेजना बढाउँछ। प्रतिशोधको भाव जागृत गराउँछ। अनि, फुर्छन्– ‘हेप्‍ने ?’ र ‘रामधुलाइ’ जस्ता शब्द–शब्दावली।

सस्तो लोकप्रियताका लागि हाहा–हुहु जसले गरे पनि अहिले बिक्छ। कसैले सडकमा अन्धाधुन्ध ढुंगा हान्यो भने कारण सोध्ने होइन, थप्दै हिँड्नेको ताँती लाग्छ। किनकि, हामीकहाँ तीव्र नकारात्मकता विकास भएको छ। गिलासमा आधा पानी छ भन्न हामी हिचकिचाउँछौं। भन्छौं– आधा खाली छ।

सडकमा नारा लगाएर भ्रष्टाचार रोकिने भए २०६२/६३ आन्दोलनसँगै निमिट्यान्न हुन्थ्यो होला। बरु सेवाग्राहीको पछि लागेर जानुहोस्, घुस मागे अख्तियार बोलाइदिनुहोस्। प्रहरीलाई भन्नुहोस्। यस्ता कदम प्रभावकारी हुन सक्छन्। तर, देश बदल्न चाहनेले पहिला आफूलाई नम्र बनाउँदै लैजानुपर्छ। भद्रता नै यस्तो अस्त्र हो, जसले सबैलाई झुकाउन सक्छ।

अबको आन्दोलन त्यता मोडौं। त्यसमा मेरो साथ रहनेछ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.