हचुवाले निगम चल्दैन
पाँच वर्षअघि नेपाल वायु सेवा निगम आन्तरिक उडानमा झन्डै जहाजविहीन अवस्थामा पुग्न लागिसकेको थियो । तीन थान ट्विनअटरबाहेक निगमसँग आन्तरिक उडानका लागि जहाज थिएनन् । १९ सिटे सानो जहाज ट्रंक रुटमा निजी क्षेत्रका अत्याधुनिक र ठूला जहाजसँग प्रतिस्पर्धी हुन नसकेपछि निगमको उडान दुर्गम भाग र निजी क्षेत्रका जहाजको प्राथमिकतामा नपरेका क्षेत्रमा केन्द्रित थियो । यहीबीच आन्तरिक उडानमा जहाज थप्ने निगमको प्रस्तावलाई सरकारले स्वीकार गर्यो । तिनताका धेरै लामो तर्क–वितर्कपछि निगमले अन्तर्राष्ट्रिय उडानमा दुई जहाज थपेको थियो । यही क्रममा आन्तरिक उडानका लागि पनि चीनसँग जहाज खरिद गरिने भयो । चिनियाँ जहाज खरिद गर्ने वा नगर्ने भन्ने सम्बन्धमा निर्णायक कारण भने चीनले प्रस्ताव गरेको सहुलियत कर्जा, प्राविधिक सहयोग, चार जहाज किन्दा दुई थान वाई १२ जहाज सित्तैमा दिने प्र्र्रस्ताव थिए ।
नेपाली आकाशका लागि चिनियाँ जहाज विलकुल नयाँ थिए । यसका लागि न दक्ष पाइलट थिए, न त अन्य प्राविधिक नै । चिनियाँ जहाज सञ्चालनका लागि निगमसँग पर्याप्त तयारी थिएन । केवल आन्तरिक उडानमा जहाज थप्ने भन्ने हुटहुटीमा थपिएको थियो । बेलाबेला जहाज बिग्रिरहने समस्याका कारण नियमित उडान नहुने समस्या भने दोहोरिइरहेकै छ । निगमले चीनबाट भिœयाएको ५६ सिटे दुई थान मोर्डन आर्क (एमए) ६० जहाज ट्रंक रुटहरूमा उडाएर निजी क्षेत्रका स्थापित वायुसेवाहरूसँग प्रतिस्पर्धा गर्नुपर्ने थियो । त्यसमा निगम नराम्ररी असफल भएको छ । आर्थिक वर्ष २०७३÷७४ देखि नै चिनियाँ जहाजको सञ्चालनमा निगमले ठूलो घाटा बेहोर्दै आएको छ । निगमले २०७३÷७४ र २०७४÷७५ मा गरी ९१ करोड ५७ लाख रुपैयाँ घाटा बेहोरेको छ । अघिल्लो आर्थिक वर्षको वासलातमा घाटा अझै तन्किने देखिन्छ ।
आन्तरिक उडानमा ठूलो घाटा बेहोरिरहेको निगमलाई हालै संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिले आन्तरिक उडानमा प्रयोग भएका दुवै एमए ६० जहाज बिक्री गर्न निर्देशन दिएको छ । निगमले चिनियाँ जहाजको सञ्चालनमा दक्षता देखाउन नसकेको र सुरुदेखि नै घाटामा रहेको संसदीय समितिको अध्ययनका आधारमा निगमलाई अन्य चारवटा वाई १२ जहाजको दक्षतापूर्वक सञ्चालन गर्न आवश्यक चिनियाँ सहयोगका लागि कूटनीतिक पहल गर्न आग्रह गरिएको छ । चिनियाँ पक्षले जहाज बेच्ने समयमा प्रतिबद्धता गरेअनुसारको प्राविधिक सहयोग नदिएको नेपाल वायु सेवा निगमको तर्क छ । निगमले जहाज खरिद गर्नुअघि नै यस्ता पक्षमा विचार पुर्याउन जरुरी थियो । व्यावसायिक संस्थानले नाफा आर्जनका लागि आन्तरिक उडानमा कस्ता जहाज प्रतिस्पर्धी हुन सक्छन् भन्ने सामान्य अध्ययनसम्म नगरी जहाज किन्नमा मात्र ध्यान दिएको देखिन्छ ।
आन्तरिक उडानमा मात्र होइन, अन्तर्राष्ट्रिय उडानका लागि ल्याइएका वाइडबडी ए ३२०–२०० कै पनि उडान गन्तव्य खोज्न निगम असफल देखिन्छ भने सरकारकै पनि कूटनीतिक पहल भएको देखिँदैन । जहाज किनेर थन्क्याएर राखेर यसले निगमको प्रतिकूल वित्तीय स्वास्थ्यलाई अझै खराब बनाउनेछ । एकातिर जहाजको साँवाब्याजको किस्ता भुक्तानी गर्नुपर्ने नियमित चक्र घडीको सुईझैं घुमिरहेको छ । अर्कातिर भएका जहाजको उपयोगबाट व्यवसाय विस्तार गर्न नसक्दा निगमलाई ऋणको भारले थिचिरहेको छ ।
जहाज थपेर मात्र हुँदैन; चुस्त व्यवस्थापन, उपयुक्त र कार्यान्वयनयोग्य बिजनेस प्लान, दक्ष जनशक्ति, प्राविधिक दक्षता जस्ता विहंगम पक्षमा विचार पुर्याउन जरुरी छ । घाँटी हेरेर हाड निल्नुपर्नेमा हचुवा तालमा निगम विगतदेखि चल्दै आएको छ । जुनसुकै व्यवस्थापनको कालखण्डमा पनि यसमा सुधार नहुनु दुःखद हो । निगम दिनप्रतिदिन तन्नम हुँदै गएकाले चिनियाँ जहाज तत्काल बेच्न आवश्यक छ । अपरिपक्व, योजनाविहीन र अव्यावसायिक पाराले निगम डुब्दै गएकाले यसमा सुधार अत्यावश्यक छ । आगामी दिनमा कमिसनको लालचसहित हुने यस्ता खरिद प्रक्रियाको अन्त्य हुनु जरुरी छ ।