शिक्षक नियुक्तिमा २४ लाख घुस
काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विद्यालय निरीक्षक राजेश्वर चौरसियाविरुद्ध १० वटा मुद्दा दायर गरेको छ। चौरसियाले घुस लिएर १० जना शिक्षक भर्ना गरेको दाबी अख्तियारको छ।
चौरसिया पर्साको जगरनाथपुर गाउँपालिकाअन्तर्गत शिक्षा शाखाका विद्यालय निरीक्षक हुन्। अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले चौरसियालाई फरकफरक कुसरमा दसवटा मुद्दा चलाइएको जानकारी दिए। अख्तियारले बुधबार विशेष अदालतमा भ्रष्टाचारका १४ मुद्दा दर्ता गरेको छ।
चौरसियाले राहत, करार शिक्षक र बालविकास सहयोगी शिक्षकलाई परीक्षा नलिई नियुक्त गरेको दाबी अख्तियारको छ। अख्तियारका अनुसार चौरसियाले शिक्षक नियुक्त गर्दा प्रत्येक व्यक्तिसँग ५० हजारदेखि ४ लाख २० हजारसम्म घुस लिएका छन्। उनले जितेन्द्रप्रसाद कुर्मीसँग २ लाख, फिरोज अलामसँग २ लाख २० हजार, हकिम अन्सारीसँग ३ लाख ९० हजार, लालबाबु साहसँग २ लाख ८० हजार, अब्दुल्ला राउतसँग ४ लाख १५ हजार, नागेन्द्र महरा चमारसँग ४ लाख २० हजार, वीरेन्द्र महरासँग ४ लाख, उषाकुमारी रामसँग ५० हजार घुस लिएको अख्तियारको अनुसन्धानबाट खुलेको छ।
चौरसियाले दुई लाख घुस लिई नेपाल राष्ट्रिय प्राथमिक विद्यालय जमुनियामा परीक्षा नलिई प्रधानाध्यापक नगेन्द्रप्रसादको मिलोमतोमा जितेन्द्रप्रसाद कुर्मीलाई राहत शिक्षक नियुक्ति गरेको अख्तियारको आरोपपत्रमा उल्लेख छ। गलत तथा नक्कली कागजातका आधारमा राहत शिक्षकमा नियुक्त भई कुर्मीले तलबभत्ताबापत ४ लाख २६ हजार ५६० बुझेका छन्। चौरसिया र कुर्मीविरुद्ध घुसको दुई लाख र तलबको ४ लाख २६ हजार ५६० सहित ६ लाख २६ हजार ५६० बिगो कायम गरिएको छ।
विद्यालयका प्रधानाध्यापक नागेन्द्रप्रसादविरुद्ध भुक्तानी दिलाउने मतियार बनेको आरोपमा ४ लाख २६ हजार ५६० बिगो कायम गरिएको छ।
मदरसामा शिक्षक नियुक्तिमा चौरसियासहित ३ जनाविरुद्ध अर्को मुद्दा दायर गरिएको छ। चौरसियाले २ लाख २० हजार घुस लिएर श्री मदर्सा इस्लामिया दारुल उल्लुम पाण्डेमा फिरोज आलमलाई नियुक्ति गरेका थिए। फिरोजले नक्कली कागजातका आधारमा नियुक्त भएर १ लाख १८ हजार ८५० तलबभत्ता बुझेका छन्। फिरोजलाई ३ लाख ३८ हजार ८५० बिगो कायम गरिएको छ। शिक्षक फिरोजविरुद्ध घुस दिएको २ लाख २० हजार जफत र ३ लाख ३८ हजार ८५० असुलउपर मागसहित मुद्दा हालिएको छ भने विनि चौरसियाविरुद्ध घुस लिएको २ लाख २० हजार जफत तथा सरकारलाई हानिनोक्सनी भएको १ लाख १८ हजार ८५० असुलउपरको मागदाबी गरिएको छ। यसमा नेपाल राष्ट्रिय माध्यमिक विद्यालय सेढवा विर्ताका प्रधानाध्यापक महेशप्रसाद यादवलाई मतियारको भूमिका खेलेको आरोपमा मुद्दा दायर गरिएको छ। उनीविरुद्ध १ लाख १८ हजार ८५० बिगो कायम गर्दै भ्रष्टाचार निवारण ऐनबमोजिम सजायको मागदाबीसहित मुद्दा हालिएको हो।
विद्यालय निरीक्षक चौरसियाले जनसेवा प्राथमिक विद्यालय जगरनाथपुर सिरा, पर्सामा ३ लाख ९० हजार घुस लिएर हकिम अन्सारीलाई नियुक्त गरेका थिए। राहत शिक्षकका रूपमा नियुक्त पाएका अन्सारी विद्यालयको प्रधानाध्यापक नै भए। उनले तलब भत्ताका रुपमा ३ लाख १४ हजार ११० रुपैयाँ बुझे। चौरसिया र अन्सारीविरुद्ध ७ लाख ४ हजार ११० बिगो कायम गरिएको छ। नेपाल राष्ट्रिय माध्यमिक विद्यालय सेढवा बिर्ताका प्रधानाध्यापक यादवलाई मतियारका रुपमा मुद्दा हालिएको छ। उनीविरुद्ध ३ लाख १४ हजार ११० बिगो कायम गरिएको छ।
यस्तै विनि चौरसियाले जनसेवा प्रावि जगरनाथपुर सिराका शिक्षक लालबाबु साहलाई नियुक्त गर्दा २ लाख ८० हजार घुस लिएका थिए। घुस दिएर नियुक्ति खाएका साहले २ लाख १९ हजार ३० रुपैयाँ तलबभत्ता बुझेका छन्। यो मुद्दामा विनि चौरसिया र साहविरुद्ध ४ लाख ९९ हजार ३० रुपैयाँ बिगो कायम गरिएको छ।
नेपाल राष्ट्रिय माविका पूर्वप्रधानाध्यापक महेशप्रसाद यादव र जनसेवा प्राविका प्रधानाध्यापक हकिम अन्सारीलाई मतियारका रूपमा मुद्दा हालिएको छ। उनीहरूले नक्कली कागजात बनाउन चौरसियालाई सहयोग गरेका थिए।
विनि चौरसियाले जनसेवा प्राविका शिक्षक अब्दुल्ला राउतलाई विना परीक्षा र फर्जी कागजातका आधारमा नियुक्त गरे। तलबभत्ता भुक्तानी दिने उद्देश्यले राउतबाट उनले ४ लाख १५ हजार बुझे। यो मुद्दामा राउत र चौरसियालाई ४ लाख १५ हजार बिगोसहति मुद्दा दयार गरिएको छ।
जनसेवामा नागेन्द्र राम भनिने नागेन्द्र महरा चमारलाई राहत शिक्षकका रूपमा नियुक्त गरी भ्रष्टाचार गरेको अर्को मुद्दा पनि विशेष अदालतमा दर्ता भएको छ। चौरसियाले चमारबाट ४ लाख २० हजार घुस लिएका थिए।
जनसेवामा ४ लाख घुस लिएर वीरेन्द्र महरालाई चौरसियाले नै नियुक्त गरे। महराले १ लाख ८५ हजार ३६० तलबभत्ता बुझेका छन्। विनि चौरसिया र महराविरुद्ध ५ लाख ८५ हजार ३६० बिगो कायम गरिएको छ। मतियारका रुपमा नेरामाविका प्रधानाध्यापक यादव र जनसेवाका प्रधानाध्यपक अन्सारीविरुद्ध पनि मुद्दा दायर गरिएको छ।
यस्तै जनसेवाका प्रधानाध्यापक अन्सारी र विनि चौरसियाको मिलोमतोमा बबिताकुमारी देवीले नियुक्त भएकी छन्। उनले १ लाख १८ हजार ८५० तलब बुझेकी छन्। ५० हजार घुसलिएर जनसेवामै बालविकास सहयोगीमा उषाकुमारी रामलाई नियुक्त गरिएको छ। विना प्रमाण शिक्षकमा राखेर तलबभत्ता भुत्तलानी दिलाउने चौरसीया र अन्सारीविरुद्ध मुद्दा दायर गरिएको छ।
चौरसियाले राम प्राथमिक विद्यालय पिपरडाढीमा ३ लाख घुस लिएर रामवेलास पटेललाई नियुक्त गरेका छन्। प्रधानाध्यापकसमेत रहेका पटेलले ४ लाख ७ हजार ५९० रुपैयाँ तलबभत्ता बुझेका छन्। चौरसिया र पटेलविरुद्ध ७ लाख ७ हजार ५९० बिगो कायम गर्दै विशेष अदालतमा मुद्दा दायर गरिएको छ।
प्रहरी निरीक्षक पुष्पाकुमारी केसीलाई नक्कली प्रमाण पत्रमा मुद्दा दायर गरिएको छ। यसैबीच जलस्रोत तथा सिँचाइ विकास कार्यालय दोलखाका सिनियर डिभिजन इन्जिनियर प्रकाश अधिकारीसहित पाँचजनाविरुद्ध पनि १५ लाख रुपैयाँ घुस लिएको अभियोगसहित मुद्दा दायर भएको छ।