पहाड चढ्ने पर्यटकलाई ‘गोठ स्टे’

पहाड चढ्ने पर्यटकलाई ‘गोठ स्टे’

फालोट (पाँचथर) : होम स्टे त सुन्नुभएकै छ। तर गोठ स्टे ?

भारतसँग सिमाना जोडिएको पाँचथरको उच्च पहाडी क्षेत्रमा 'गोठ स्टे' को अवधारणाले मूर्त रुप लिएको छ।   पर्यटकीय गन्तव्यहरू भएर पनि पर्यटकलाई चाहिने पूर्वाधार नभएका बेला 'गोठ स्टे' सञ्चालन गरी यहाँका गोठालाहरू पर्यटन व्यवसायी बन्ने तरखरमा छन्।  

भारतको पश्चिम बंगाल र सिक्किमसँग सिमाना जोडिएको सीमावर्ती क्षेत्रमा घुम्‍न आउने पर्यटकका लागि ‘गोठ स्टे’ निर्माण गरिएको छ। पाँचथरको फालेलुङ र याङवरक गाँउपालिकाको  उच्च पहाडमा २१ ओटा ‘गोठ स्टे’ तयार गरिएको हो।

रेडपाण्डा नेटवर्क र दीप ज्योति युवा क्लबको आर्थिक सहयोगमा गोठ स्टे सञ्चालन गरिएको हो। एउटा गोठ स्टे सञ्चालनका लागि एक लाख नौ हजार छ सय रुपैँया लगानी छ। गोठालाहरूलाई खानाका विभिन्न परिकार बनाउन र पर्यटकलाई स्वागत गर्न पनि सिकाइएको छ।

होमस्टेकै अवधारणमा गोठ स्टे विकास गरिएको दीप ज्योती युवा क्लबका कार्यकारी निर्देशक सुनिल बान्तवाले बताए। ‘गोठमै भएका स्रोत साधानलाई प्रयोग गरेर गोठ स्टे सञ्चालन गरिएको हो,’ बान्तवाले भने ‘पर्यटकहरूलाई गोठको जीवनपद्धतिका बारेमा बुझाएर यहीँ रम्न सिकाउने गोठ स्टेको लक्ष्य हो।’

सन्दकपुरदेखि चारराते, नेपालीटार, तोरीफुले, पानीभित्ता, तिम्बुपोखरी हुँदै कञ्चनजंघा आधार शिविरसम्म जाने पार्यटकहरूलाई बास बस्न ‘गोठ स्टे’ तयार गरिएको हो।

फालेलुङ ४ नेपालीटारका थर्कप्रसाद गुरुङ सुधारिएको चुलोमा खाना पकाउने तरखर गर्दै। फोटोः भीमकुमार बाँस्कोटा/अन्नपूर्ण  

सीमावर्ती यो क्षेत्रमा नेपालतर्फ पर्याप्त पर्यटकीय गन्तव्यहरू भएपनि बास बस्न, खान र रमाउनका लागि पूर्वाधार भने छैनन्। फलस्वरुप भारतले एकतर्फी रुपमा फाइदा लिँदै आएको छ। गोठ स्टे सञ्चालन भएपछि पर्यटकहरूलाई नेपालतर्फ राखेर उनीहरूको बसाई लम्ब्याएर लाभ लिन सकिने यहाँका स्थानीयको विश्वास छ।

चौरी गोठलाई सुधार गरेर ‘गोठ स्टे’ बनाइएको रेडपाण्डा नेटवर्ककका संयोजक दावा तेन्जी यल्मुले जानकारी दिए। ‘चौँरी गोठसँगै पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ‘गोठ स्टे’ सञ्चालन गरिएको हो,’ यल्मुले भने ‘गोठ स्टे सञ्चालन भएपछि गोठालाहरूलाई दोहोरो फाइदा भएको छ।’ गोठ स्टे सञ्चालन भएपछि लोप हुन लागेका चौँरी गोठको संरक्षण र पर्यटन प्रबद्र्धनमा टेवा पुगेको हो।

पुराना गोठहरूलाई सुधार गरिएको छ। गोठमा पर्यटकलाई बस्नका लागि राम्रो व्यवस्था मिलाइएको छ। आधुनिक तरिकाको चुलो निर्माण गरिएको छ। गोठमा पाइने खानेकुराको मिठो परिकार बनाउन गोठालाहरूलाई तालिम दिइएको छ। पर्यटकले लेकमा पाइने मिठा परिकार खान पाउनेछन्।

धुँवा नहुने र दाउरा कम लाग्ने चुलोहरू निर्माण गरिएको छ। उक्त चुलोको प्रयोगले गोठमा न्यानो हुने गरेको छ। फलामबाट निर्माण गरिएको चुलो तातेपछि गोठ नै न्यानो हुने गरेको हो।

गोठहरू सफा र चिटिक्क पारिएका छन्। ‘गोठ स्टे सञ्चालन भएपछि गोठमा बस्न पर्यटकहरू आकर्षित  हुन थालेका छन्,’ गोठ स्टे सञ्चालनक समितिका सचिव चन्द्रलाल नेपालले भने, ‘गोठ स्टेमा पर्यटकलाई राखेर चौँरी देखाउने र चौरीको दुधबाट बनेका परिकार खुवाएर पर्यटकलाई लोभ्याउन थालेका छौँ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.