बैतडीमा चितुवाको त्रास : खेल्दाखेल्दै गायब हुन्छन् बालबालिका
बैतडी : शिवनाथ गाउँपालिका-२ की कलावती मडै आफ्नो छोरा सम्झेर टोलाउने गरेकी छन्। भदौ २० गते आँगनमा खेलिरहेको छोरो चितुवाको आहारा बनेपछि उनका आँखाबाट आँसु बगिरहेका छन्। भर्खरै विद्यालय जान सुरु गरेको ७ बर्षे छोरा सुदीप मडैलाई चितुवाले आहारा बनाएपछि उनका बुवा रामसिंह मडै पनि विक्षिप्त छन्।
‘आँखै अगाडी घरमा खेलिरहेको छोरालाई चितुवाले टिपेर लग्यो, घरपरिवारमा सन्नटा छाएको छ’,उनले भने,‘चितुवाले मेरो भरोसा नै चुँडेर लग्यो, यो भन्दा ठुलो ब्रजपात के हुन सक्छ?’
चितुवाले घरमा खेलिरहेको बालक नै खाएपछि स्थानीयहरु त्रसित बनेका छन्। ‘चितुवाले आक्रमण नगरेको एक बर्ष जति भएको थियो, हामी समान्य जीवनमा फर्कने प्रयास गरिरहेका थियौं, एक्कासी चितुवाको आक्रमणबाट बालकको ज्यान गएपछि गाउँमा त्रास फैलिएको छ’, स्थानीय शुक्रसिंह साउँदले भने।
शिवनाथ गाउँपालिका लोजनीका मानसिंह साउँद र पार्वती साउँदलाई आफ्ना छोरा सुशीलको याद अझै झल्झली आइरहन्छ। साँझको समयमा आँगनमा खेलिरहेका बेला आफ्ना आँखा अगाडि नै २०६८ सालमा चितुवाले सुशीललाई लगेपछि उनीहरुको काख रित्तो भएको छ।
‘आँखा अगाडि नै आफूले जन्माएको छोरालाई चितुवाले लग्दा म मूर्छा परे, उसले गर्ने खेलहरु,तोतेबोली अझै सम्झिरहन्छु, सम्झेर के गरु बैरी चितुवाले मेरो काखलाई रित्तो बनायो’, भक्कानिदै पार्वती साउँदले भनिन्।
२०६८ सालदेखि तल्लोसोराडको मेलौली नगरपालिका, शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिकाका विभिन्न ठाउँमा चितुवाको आक्रमणबाट २४ जनाको ज्यान गइसकेको छ। जसमा १९ जना बालबालिका रहेका छन्। चितुवाले बालबालिकाहरुलाई आहारा बनाउन थालेपछि बस्तीहरुमा त्रास बढेको शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्णसिंह साउँदले बताए। उनले भने,‘चितुवा सक्रिय भएपछि फेरि गाउँमा त्रास बढेको छ, बालबालिकाहरुलाई विद्यालय पठाउन समस्या भएको छ।’
२०६८ सालको असारमा एक्कासी चितुवाले विशालपुरमा आतंक मच्चायो। त्यसपछि लगातार रुपमा चितुवाले आक्रमण गर्दै आइरहेको छ। ‘चितुवाले लगातार रुपमा आक्रमण गर्न थालेपछि यो क्षेत्रका नागरिक निकै समस्यामा छौं’, कुलाउका तारा चन्दले भने,‘चितुवाले आमाका काखहरु रित्ता बनाउँदासमेत हामीले यो समस्याबाट मुक्ति पाएका छैनौं अझै त्रासमा बस्न विवश छौं।’