सुर्नया गाउँपालिकाको केन्द्र टुंगो लाग्यो
बैतडी : बैतडीको सुर्नया गाउँपालिकाले केन्द्रको टुंगो लगाएको छ। गाउँपालिकाले वडा नं ५ को पबितामा केन्द्र राख्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष बीरबहादुर बिष्टले जानकारी दिए।
गाउँकार्यपालिकाको शुक्रबार बसेको बैठकले सर्वसम्मत रुपमा पबितामा केन्द्र राख्ने निर्णय गरेको उनले बताए। गाउँपालिकाको अस्थायी केन्द्र रहेको ठाउँमा भवनको अभाव र जमिनको अभाव भएकाले गाउँपालिकाले निशुल्क जमिन उपलब्ध गराउन केही महिना अघि आह्वान गरेको थियो। सोही बमोजिम गाउँपालिकाका लागि प्राप्त जमिनहरु मध्ये विज्ञ टोलीको सुझावका आधारमा पबिता उपयुक्त ठाउँ भएकाले पबितामा केन्द्र राख्ने निर्णय गरिएको अध्यक्ष बिष्टले बताए। उनले भने, ‘हामीले गाउँपालिकाको केन्द्र राख्न उपयुक्त जमिनको खोजी गरेका थियौं। हामीलाई निशुल्क प्राप्त जमिनमध्ये पबिता उपयुक्त भएको विज्ञ टोलीले ठहर गर्यो। सोही आधारमा हामीले पबितामा केन्द्र राख्ने निर्णय गरेका हौं।’
केन्द्रका लागि छनौट भएको ठाउँमा भौतिक संरचना निर्माणको काम अघि बढाइने अध्यक्ष बिष्टले बताए। केन्द्र, प्रदेश सरकार र गाउँपालिका आफैँले पनि भौतिक संरचना निर्माणका लागि पहल गर्ने उनले बताए। एकीकृत सेवा दिने हिसाबले गाउँपालिकाको भवन निर्माण गरिने अध्यक्ष बिष्टले जानकारी दिए।
राज्य पुर्नसंरचना गर्दा सुर्नया गाउँपालिकाको केन्द्र तोकिएको ठाउँमा भाडाका भवन र रौलेश्वर माविको भवनमा गाउँपालिकाको कार्यालय सञ्चालन गरिएको छ। राज्य पुर्नसंरचना गर्दा वडा नम्बर ५ भित्र केन्द्र राख्ने निर्णय भएकाले सोही अनुसार वडा नं ५ कै पबितामा केन्द्र राख्ने निर्णय भएको गाउँपालिकाले जनाएको छ।