अनशनको १५ औं दिन : झुलाघाटमा पुल बन्ने छाटकाटै छैन
बैतडी : बैतडीको भारतसँग सीमा जोडिएको नाका झुलाघाटमा पक्की पुल निर्माणका लागि दबाब दिन शुरु गरिएको अनशन १५ दिन पुगेको छ । सरकारलाई दबाब दिन भन्दै झुलाघाट पक्की पुल निर्माण संघर्ष समितिले जिल्ला प्रशासन अगाडि गत भदौ २२ गतेदेखि अनशन थालेको हो ।
अनशन थालेको १५ दिन भइसक्दा समेत पुल निर्माणका विषयमा सरकारी पक्षबाट केही पहल नभएको संघर्ष समितिका संयोजक नरबहादुर चन्दले बताए । उनले भने, 'हामीले शान्तिपूर्ण रुपमा विकासका लागि राज्यलाई दबाब दिँदै आएका छौं । अहिलेसम्म सरकारले केही बोलेको छैन् ।माग पूरा नहुँदासम्म हामी अनशन जारी राख्छौं ।'
संघर्ष समितिले शुरु गरेको अनशनमा बैतडीबासी स्वस्फूर्त रुपमा सहभागी भएका छन् । झुलाघाट नाकामा पक्की पुल नभएकै कारण बैतडी मात्रै सुदूरपश्चिमका पहाडी जिल्लाको आर्थिक समृद्धिमा बाधा पुगेकाले आफूहरु अनशनमा सहभागी भएको गैरसरकारी संस्था महासंघ बैतडीका अध्यक्ष गोविन्दराज जोशीले बताए ।
उनले भने, 'यो भारतसँगको पुरानो नाका हो । झुलाघाटमा पक्की पुल नभएकै कारण हामीले धेरै समस्या झेल्दै आएका छौं । उपचारका लागि भारतमै जानुपर्ने बाध्यता छ । पुल नभएकै कारण धेरै समस्या भएको छ।'
अनशनको १५ औं दिनमा जगन्नाथ महिला बचत तथा ऋण सहकारी संस्था र सरस्वती आमा समूहका सदस्यको सहभागी छ। पुल निर्माणको विषय सबैको सरोकारको विषय भएकाले आफूहरु अनशनमा बसेको सहकारी संस्थाका अध्यक्ष अम्बिका भण्डारीले बताइन् । उनले भनिन्, 'विकासका लागि अनशन बस्नुपर्ने स्थिति आएको छ । यो निकै बिडम्बनापूर्ण छ । हाम्रो माग पूरा गर्न सरकार अग्रसर हुनुपर्छ । शान्तिपूर्ण दबाबलाई सरकारले कमजोर ठान्नुहुन्न ।'
सरकारले अहिले सुखी नेपाली र समृद्धि नेपालको नारा लगाइरहेकाले पुल निर्माणको विषय यसै नारासँग सम्बन्धित भएकाले सरकारले यसमा कदम चाल्नुपर्ने बैतडी उद्योग वाणिज्य संघका उपाध्यक्ष खीमानन्द भट्टले बताए । उनले भने, 'सीमा नाकामा पक्की पुल बनोस् । हाम्रो उत्पादन भारतमा निर्यात गर्नु सकौं । यस्तो पवित्र उद्देश्य राखेर हामीले अनशन गरिरहेका छौं । सरकारले हाम्रो मागलाई समयमै सम्बोधन गरोस् ।'
झुलाघाट नाका करीब १५० वर्षअघि इष्ट इण्डिया कम्पनीले निर्माण गरेको झोलुंगे पुलमार्फत आवतजावत गर्ने गरिएको छ । झुलघाटमा पक्की पुल निर्माण दुईदेशसँग जोडिएको विषय भएकाले परराष्ट्रमन्त्रीले भारतसँग कुरा गर्ने आश्वासन दिएको बैतडीबाट निर्वाचित सांसद दामोदर भण्डारीले बताए । उनले भने, 'मैले जिल्लामा अनशन जारी रहेको र पुल निर्माणको विषयमा परराष्ट्रमन्त्रीज्यूसँग भेटघाट गरेर छलफल गरेको छु । उहाँले यो विषयमा भारत सरकारसँग कुरा गर्ने आश्वासन दिनुभएको छ ।'