अनशनमा भजन कीर्तन
बैतडी : उपस्थित मानिहरुको घाटीमा पहेंले खादा छ, अगाडी हारमोनियम र तबला। सबै भजन कीर्तनमै व्यस्त छन्। लाग्छ, यहाँ कुनै धार्मिक अनुष्ठान भइरहेको छ। तर, यहाँ कुनै धार्मिक कार्यक्रम भने भएको छैन।
बैतडीस्थित झुलाघाटमा पक्की पुल निर्माणका लागि १८ दिनदेखि अनशसनरत स्थानीयले भजनकीर्तन गरिरहेका छन्। सीमा नाकामा पक्की पुल निर्माणका लागि दबाब गत भदौ २२ गतेदेखि रिले अनशन थालेका स्थानीयले सरकारको ध्यानाकर्षण होस् भनेर ईश्वर पुकार गरिरहेका हुन्।
‘झुलाघाट नाकामा पक्की पुल नभएकै कारण सुदूरपश्चिमका पहाडी जिल्लाहरुको आर्थिक समृद्धिमा बाधा पुगेको छ। हामीले पश्चिमबाट उठाएको आवाज अझँै काठमाडौंको सिंहदरबारले सुनेको छैन्’, अनशनमा सहभागी नेकपा नेता पुष्करराज जोशी भने।
झुलाघाट नाकामा पक्की पुल निर्माणको सपना बुवाबाजेका पालादेखि देख्दै आएपनि अहिलेसम्म यो पूरा नभएकाले पुर्खालाई सम्झिँदै स्थानीयले भजनकीर्तन गरिरहेको बैतडी उद्योग वाणिज्य संघका उपाध्यक्ष खीमानन्द भट्टले जानकारी दिए।
‘जनआन्दोलनले पनि १८ दिनमा सफलता पाएको थियो, हामी अहिंसात्मक आन्दोलनको पक्षमा छौं। हामीले सरकारले ल्याएको समृद्ध नेपाली सुखी नेपाली नारालाई सघाउन यो आवाज उठाएका छौं। हाम्रो आवाज सम्बोधन नभए माइतीघर मण्डलामा अनशन गर्न बाध्य हुनेछौं’, उनले भने।