बोसोमार्फत सुन्दरता

बोसोमार्फत सुन्दरता

डा. धर्मेन्‍द्र कर्ण, सौन्दर्य विशेषज्ञ  

मोटोपन रोगको कारण बन्न सक्छ भन्ने ज्ञान नहुँदा यसलाई सम्पन्नताको प्रतीक मान्ने गरिन्थ्यो। मोटोघाटो व्यक्ति निरोगी हुन्छ भन्ने धेरैको बुझाइ हुन्थ्यो। तर, अहिले शरीरमा अनावश्यक बोसो जम्मा भएर मोटोपनका कारण विभिन्न रोग लाग्छ भन्ने विषयमा धेरैलाई जानकारी हुन थालिसकेको छ। रगतमा बोसोको मात्रा बढी हुँदा मुटुसम्बन्धी रोग लाग्न सक्छ। उमेर बढ्दै जाँदा हाम्रो शरीरको कुनै ठाउँमा बढी बोसो लाग्छ भने कुनै ठाउँमा घट्ने हुन्छ। जसले गर्दा शरीरको बनावटको सन्तुलन बिग्रन्छ। पेटमा बोसो लागेर बडेमान देखिन्छ भने आँखावरिपरि, ओठवरिपरि, अनुहारमा बोसोको मात्रा कम भएर चाउरी देखिन थाल्छ। चाहिने ठाउँमा बोसो कम हुने तर नचाहिने ठाउँमा बोसो बढी हुँदा कम उमेरको व्यक्ति पनि पाको देखिन थाल्छ। 

यस्तो अवस्था आउन नदिन र आइसकेकोलाई पहिलाकै अवस्थामा फर्काउन छालामुनि फिलर्सको आवश्यकता पर्छ। गएको दशकमा कृत्रिम फिलर्सको बिगबिगी थियो। जसबाट अस्थायी रूपमा बोसो कम भएको भागलाई पुरानै अवस्थामा ल्याउन प्रयोग गरिन्थ्यो। यस्ता कृत्रिम फिलर छ महिनादेखि एक वर्षसम्ममा शरीरमा सोसिएर जान्थ्यो। यो निकै महँगो पर्छ। हरेक छ महिनादेखि एक वर्षभित्रमा फिलर राख्नुपर्ने भएकाले यो विधि निकै खर्चिलो हुन्छ। कम आयआर्जन भएकाले यो विधि अपनाउन नै सक्दैनन्। 

कृत्रिम फिलर्सको सट्टा व्यक्तिको आफ्नै शरीरको बोसो जहाँ बढी छ, त्यहाँबाट निकालेर कम भएको ठाउँमा बोसो प्रत्यारोपण (फ्याट ट्रान्सप्लान्ट ) विधि सबैभन्दा उपयुक्त भएको विभिन्न अनुसन्धानबाट पुष्टि भइसकेको छ। अनुहारको चाउरीपन वा खुकुलोपन घटाएर जवान देखाउन, फेस लिफ्ट गर्न, कुनै गहिरो खत वा दाग पुर्न, स्तनको आकार बढाउन, आँखामुनि धसिएको भागलाई भर्न, बढ्दो उमेरका कारण पातलो र सुकेको कन्चटको भाग पुर्नका लागि फिलरका रूपमा हिजोआज बोसो प्रत्यारोपण गर्ने गरिन्छ।

शरीरमा अधिक वा अनावश्यक बोसो जम्मा भएका भाग पेट, तिघ्रा आदिबाट बोसो निकालेर जुन ठाउँमा आवश्यक परेको हो, त्यही ठाउँमा भर्ने कामलाई बोसो प्रत्यारोपण भनिन्छ। शरीरबाट निकालेको बोसोलाई विशेष प्रविधिबाट झोल बनाइन्छ र इन्जेक्सनका माध्यमले प्रत्यारोपण गरिन्छ। यसरी चाहिने भागमा बोसो प्रत्यारोपण गर्दा स्थायी रूपमा शरीरको ‘सेप एन्ड साइज’ मेन्टेन गर्न सकिन्छ। नेपालमा पनि विगत पाँच वर्षदेखि फ्याट ट्रान्सप्लान्ट गर्ने क्रम बढेको छ। खास गरी, चाउरीपन, आँखावरिपरि धसिएको भागलाई पुष्ट देखाउन, चोटपटकपछि बनेको खाल्डो तथा दाग पुर्न, खाडल परेको कन्चटको भाग पुर्नका लागि कृत्रिम फिलर्सको सट्टा बोसो प्रत्यारोपण गराउने बढेका छन्। 

बोसो प्रत्यारोपण गर्दा दबिएको भाग फुलाउने मात्र होइन, वरिपरिको तन्तुलाई पुनर्जीवित र रिमोडिलिङ गर्नमा पनि यसले मद्दत गर्छ। सुरु–सुरुमा पेटबाट बोसो निकालेर प्रशोधनपश्चात् चाहिने ठाउँमा प्रत्यारोपण गर्ने गरिन्थ्यो। तर, अहिले तिघ्राको भित्रपट्टिको भागबाट बोसो निकालेर प्रत्यारोपण गर्ने गरिएको छ। बोसो झिक्ने र प्रत्यारोपण गर्ने भागमा अस्थायी एनेस्थेसिया दिने भएकाले सम्बन्धित व्यक्तिलाई बेहोश नबनाईकन फ्याट ट्रान्सप्लान्ट गर्न सकिन्छ। माइनर सर्जरीमा पर्ने यस प्रविधिमा फ्याट ट्रान्सप्लान्ट गराउने व्यक्ति अस्पतालमा भर्ना बस्नुपर्दैन। बोसो निकालेको र प्रत्यारोपण गरेको ठाउँमा खत पनि बस्दैन। अनावश्यक थुप्रिएको बोसो निकालेर चाहिने स्थानमा भर्ने भएकाले यसबाट दोहोरो फाइदा छ।

बोसो प्रत्यारोपण गर्ने भागमा कति बोसो चाहिन्छ, त्यहीअनुसार हिसाब गरेर चाहिने मात्रा निक्र्यौल गरेपछि मात्र प्रत्यारोपण गरिन्छ। आवश्यकताअनुसार एकै स्थानमा दुई पटकसम्म प्रत्यारोपण गर्नुपर्ने हुन सक्छ। डायबेटिज, ब्लड प्रेसर, मुटु रोग भएकाले बोसो प्रत्यारोपण गराउनु हुँदैन। आफ्नै शरीरको बोसो भएकाले यसबाट कुनै साइड इफेक्ट हुँदैन। कहिलेकाहीँ प्रत्यारोपण गरेको ठाउँमा गिर्खा बस्न सक्छ। प्रत्यारोपण गरेको ठाउँमा रातो हुन सक्छ। प्रत्यारोपण गर्दा रक्तनलीमा पर्नु हुँदैन। रक्तनलीको मुख बन्द हुन सक्छ। चाहिनेभन्दा बढी बोसो प्रत्यारोपण गरियो भने नराम्रो र अस्वाभाविक देखिन सक्छ। बोसो ट्रान्सप्लान्टको बारेमा अध्ययन तथा तालिम लिएका छाला तथा सौन्दर्य विशेषज्ञबाट मात्र फ्याट ट्रान्सप्लान्ट गराउनुपर्छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.