क्यान निलम्बन फुकुवाको बाटो खुल्यो
काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान) को अध्यक्षमा चतुरबहादुर चन्द निर्वाचित भएका छन् । क्यानको शनिबार काठमाडौंमा सम्पन्न निर्वाचनमा कुल ५९ मध्ये चन्दले ४४ मत ल्याएका थिए । उनका प्रतिद्वन्द्वी विनयराज पाण्डेको पक्षमा भने १५ मत खसेको थियो । अन्य पदमा पनि चन्द प्यानलकै उम्मेदवार विजयी भएका छन् ।
क्यानको नयाँ नेतृत्व चयन भएसँगै नेपाली क्रिकेटमाथि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)द्वारा गरिएको निलम्बन पनि फुकुवाको दिशामा अघि बढेको छ । क्यानको निष्पक्ष निर्वाचन हुन नसकेको, घरेलु क्रिकेटमा आन्तरिक विवाद बढ्दै गएको र सरकारले क्यानमाथि अनावश्यक हस्तक्षेप गरेको कारण देखाउँदै आईसीसीले ०७३ साल वैशाखमा क्यानलाई आफ्नो सदस्यताबाट निलम्बन गरेको थियो ।
उपाध्यक्षमा राजुबाबु श्रेष्ठ ४० मतसहित निर्वाचित भए । उनका प्रतिद्वन्द्वी मिङ्मा डन्डु शेर्पाले १७ मत ल्याए । सचिवमा अशोकनाथ प्याकुरेल ४३ मतसहित विजयी भए । उनका प्रतिद्वन्द्वी विनोदकुमार मैनालीले १५ मत पाए । कोषाध्यक्षमा ४५ मतसहित रोशनकुमार सिंह निर्वाचित भए । उनका प्रतिद्वन्द्वी उपेन्द्र भट्टराईले १२ मत ल्याए । प्याकुरेल र सिंह पनि चन्द प्यानलकै हुन् ।
यसैगरी, प्रादेशिक सदस्यतर्फ सुदूरपश्चिमबाट विक्रम विष्ट, कर्णाली प्रदेशबाट पदमबहादुर खड्का, प्रदेश ५ बाट प्रशान्तविक्रम मल्ल, गण्डकी प्रदेशबाट ऋषिराम गौतम, प्रदेश २ बाट दाउद अन्सारी निर्विरोध निर्वाचित भए । महिला सदस्यमा पनि जयन्ती भट्ट निर्विरोध निर्वाचित भइन् । प्रादेशिक सदस्यतर्फ नै प्रदेश १ बाट ३७ मतसहित कैलाश विष्ट र प्रदेश ३ बाट ३९ मतसहित अमितवीर पाण्डे निर्वाचित भए ।
पाँच वटा खुला सदस्य पदका लागि भएको निर्वाचनमा दुर्गाराज पाठक (४२ मत), वीरेन्द्रबहादुर चन्द (३६ मत), माधवकुमार कर्माचार्य (३५ मत), सञ्जयराज सिंह (३४ मत) र करण महोत्रा क्षेत्री (३० मत) निर्वाचित भए । जगतबहादुर टमटा, पवनकुमार अग्रवाल, धीरेन्द्र साउदप्रफुल्ल वैद्यलगायत पराजित भएका छन् ।
कुल १७ पदका लागि भएको निर्वाचनमा जिल्लाका ३९ र प्रदेशका २० गरी ५९ जना प्रतिनिधिले मतदान गरेका थिए । आईसीसीद्वारा गठित स्वतन्त्र समितिले क्यानको निर्वाचन गराएको हो । त्यसअघि आईसीसीद्वारा गठित सल्लाहकार समितिले क्यानको नयाँ विधान बनाएको थियो । सोही विधानका आधारमा क्यानको निर्वाचन गरिएको हो ।
आईसीसीका प्रतिनिधिसमेत रहेका स्वतन्त्र समितिका सदस्य अम्मर शेख, महोम्मद अली, नीतिशा कोठारी, ठाकुरप्रताप थापा र लेखबहादुर क्षेत्री तथा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पर्यवेक्षक नारायणराज अर्याल र ज्ञानेन्द्र श्रेष्ठको रोहवरमा निर्वाचन सम्पन्न भएको हो । स्वतन्त्र समितिले निर्वाचन निष्पक्ष र विधानसम्मत रूपमा सम्पन्न भएको प्रतिवेदन आईसीसीमा पठाउनेछ ।
त्यसपछि क्यानमाथि लगाइएको निलम्बन फुकुवाको प्रस्तावलाई आईसीसीको बोर्ड बैठकको एजेन्डामा समावेश गरिनेछ । आईसीसीको आगामी बोर्ड बैठक असोज २६ गते बस्दै छ । सोही बैठकले क्यानमाथि लगाइएको निलम्बन फुकुवाको निर्णय गर्नेछ । उक्त बैठकको एजेन्डा भने असोज १५ गते नै तय हुनेछ । त्यसैले त्यसअघि नै क्यानको निर्वाचनको प्रतिवेदन आईसीसीमा पठाइसक्नुपर्ने हुन्छ ।
यसरी सुरु भएको थियो क्यान विवाद
अन्तर्राष्ट्रिय खेलवृत्तमा नेपालका लागि क्रिकेट नतिजामूलक खेल हो । नेपाली क्रिकेटले छोटो समयमै अन्तर्राष्ट्रिय क्रिकेटमा थुप्रै महŒवपूर्ण सफलता हात पारिसकेको छ । तर, क्यान निलम्बनका कारण पछिल्लो समय नेपाली क्रिकेटको गति सुस्ताएको छ । आईसीसीले ०७३ साल वैशाखमा क्यानलाई आफ्नो सदस्यताबाट निलम्बन गरेको थियो ।
क्यानलाई निलम्बन गरे पनि आईसीसीले नेपाली खेलाडीलाई भने अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न रोक नलगाउने निर्णय गरेको थियो । ०७२ साल पुस २ गते क्यानको पुरानो कार्यसमितिको कार्यकाल सकिँदै थियो । त्यसअघि नै मंसिर २९ गते सम्पन्न क्यानको साधारणसभाले चतुरबहादुर चन्दको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको थियो ।
राखेपले भने त्यो निर्वाचनलाई मान्यता दिन मानेन । आफ्नो निर्देशनविपरीत निर्वाचन गरेको राखेपको तर्क थियो । अर्कोतिर, क्यानका तत्कालीन अध्यक्ष टंक आङ्बुहाङ्ले पनि निर्वाचन रोक्न राखेपलाई गुहारेका थिए । त्यसपछि राखेपले क्यानकी तत्कालीन प्रमुख कार्यकारी अधिकृत भावना घिमिरेलाई नियमित कार्य सञ्चालनको जिम्मा दिएको थियो ।
त्यसको केही समयपछि राखेपले रमेश सिलवालको संयोजकत्वमा क्यानको १५ सदस्यीय तदर्थ समिति गठन गरेको थियो । सिलवाल राखेपका सदस्यसचिव छन् । आफ्नो समितिलाई बेवास्ता गर्दै राखेपले तदर्थ समिति गठन गरेको भन्दै चन्दको नेतृत्वमा रहेको क्यानको निर्वाचित समिति कानुनी उपचारका लागि पुस २८ गते रिट निवेदनसहित सर्वोच्च अदालतको शरणमा पुगेको थियो । यिनै घटनाक्रमका कारण घरेलु क्रिकेट विवादित बन्न पुगेपछि आईसीसीले क्यानलाई आफ्नो सदस्यताबाट निलम्बन गर्ने अप्रिय निर्णय लिएको थियो ।
क्यान निलम्बनको प्रभाव
घरेलु क्रिकेटको नेतृत्वदायी निकाय क्यान निलम्बनमा परेपछि देशको समग्र क्रिकेट प्रभावित बन्न पुगेको छ । क्यान निलम्बनले एकातिर खेलाडीमा मनोवैज्ञानिक असर पारेको छ भने अर्कोतिर आईसीसीबाट नेपालले पाउनुपर्ने आर्थिक सहयोगसमेत लामो समयदेखि रोकिएको छ ।
निलम्बनकै कारण आईसीसीले खेलाडीको पारि श्रमिक पनि लामो समय रोकेको थियो । तर, राखेप र खेलाडीको पहलमा केही समयअघि आईसीसीले खेलाडीको दुई वर्षको पारि श्रमिक निकासा गरेको थियो । केही खेलाडी र प्रशिक्षकले भने अझै तलब पाउन सकेका छैनन् । क्यान निलम्बनमा परेको करिब एक वर्षपछि ०७४ साल चैतमा नेपालले आईसीसीबाट चार वर्षका लागि एकदिवसीय टोलीको मान्यता पाएको थियो ।
त्यसको करिब एक वर्षपछि नेपालले पहिलो एकदिवसीय शृंखला पनि जित्यो । नेपालले गत वर्ष माघमा यूएईलाई उसैको मैदानमा तीन खेलको शृंखलामा २—१ ले हराएको थियो । कठिन संघर्षपछि प्राप्त एकदिवसीय मान्यतालाई दीर्घकालीन रूपमा जोगाइराख्नु, टीट्वेन्टी र एकदिवसीय विश्वकप खेलेर आफूलाई अझ परिमार्जित गर्दै लैजानु, अन्तर्राष्ट्रिय क्रिकेटमा अझ उत्कृष्ट प्रदर्शन गर्दै आईसीसीबाट टेस्ट टोलीको मान्यता प्राप्त गर्नु यतिबेला नेपाली क्रिकेटको सबैभन्दा ठूलो चुनौती हो । क्यान निलम्बनका कारण यी लक्ष्य झनै चुनौतीपूर्ण बनेका छन् ।
क्यानमाथि लगाइएको निलम्बन फुकुवाको प्रस्तावलाई आईसीसीको बोर्ड बैठकको एजेन्डामा समावेश गरिनेछ ।