अन्तर्राष्ट्रिय टी-२० मा शतक : एक क्रिकेटरको दुर्लभ सपना

काठमाडौं : नेपाली क्रिकेट टोली अहिले सिंगापुरमा जारी नेपाल, सिंगापुर र जिम्बाब्वेबीचको त्रि-कोणात्मक टी-२० सिरिज खेल्न व्यस्त छ। सिरिज अन्तर्गत शनिबारको खेलमा नेपालले सिंगापुरमाथि ९ विकेटको जित निकाल्दा त्यसका नायक बने नेपाली टोलीका कप्तान पारस खड्का।
उनी अन्तर्राष्ट्रिय टी-२० क्रिकेटमा नेपालकातर्फबाट शतक प्रहार गर्ने पहिलो ब्याट्सम्यान बने। जम्मा १२० बलको खेल हुने टी-२० प्रतियोगितामा शतक बनाउनु निकै दुर्लभ मानिन्छ। थुप्रै भेट्रान ब्याट्सम्यानहरु यस अवसरबाट वञ्चित छन्।
अहिले विश्वकै उत्कृष्ट ब्याट्सम्यान हुन भारतीय कप्तान विराट कोहली। अहिलेको अवस्थामा अन्तर्राष्ट्रिय टी-२० क्रिकेट सर्वाधिक रन बनाउने रेकर्ड पनि कोहलीकै नाममा छ। उनले ६७ इनिङमा ब्याटिङ गर्दा २४५० रन बनाएका छन्। कोहलीले अहिलेसम्म शतक बनाउन सकेका छैनन्। उनीपछि दोस्रो नम्बरमा भारतकै रोहित शर्मा छन्। उनले ९० इनिङ खेल्दा २४४३ रन बनाएका छन्। रोहितले भने ४ शतक बनाएका छन्। टी-२० अन्तर्राष्ट्रियमा सर्वाधिक शतक बनाउने रोहित नै हुन।
सर्वाधिक रन बनाउने तेस्रो नम्बरमा रहेका न्युजिल्याण्डका मार्टिन गुप्टिल र चौथो नम्बरमा रहेका पाकिस्तानका शोयब मल्लिकको क्रमश : २२८३ र २२६३ रन छ। गुप्टिलले २ शतक बनाएका छन् । मल्लिकले अहिलेसम्म शतक बनाउन सकेका छैनन्।
थुप्रै आक्रामक ब्याट्म्यानहरुले टी-२० अन्तर्राष्ट्रिय प्रतियोगितामा शतक बनाउन सकेका छैनन्। अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिइसकेका ‘मिस्टर ३६० डिग्री’ को उपमा पाएका दक्षिण अफ्रिकी ब्याट्सम्यान एबी डे भिलियर्स, श्रीलंकाका कुमार सांगाकाराजस्ता खेलाडीले पनि शतक बनाउन सकेनन्।
अस्ट्रेलियाका आक्रामक ब्याट्सम्यान डेविड वार्नरले पनि हालसम्म शतक बनाउन सकेका छैनन्। अस्ट्रेलियाका अलराउण्डर ग्लेन म्याक्स्वेले ५३ र न्युजिल्याण्डका कोलिन मुन्रोले ५२ इनिङ ब्याटिङ गर्दा ३-३ शतक बनाएका छन्। वेस्ट इन्डिजका इभिन लुइजले जम्मा २३ खेलमा २ शतक बनाएका छन्।
पारस खड्काले टी-२० अन्तर्राष्ट्रिय प्रतियोगिताको १८ इनिङमा ब्याटिङ गर्दा सिंगापुरविरुद्ध जुन शतक प्रहार गरे। यो एक ब्याट्सम्यानका लागि क्रिकेट करियरकै दुर्लभ उपलब्धी हो। ३१ वर्यीय पारस सायद अझै निकै वर्ष नेपाली टोलीबाट खेल्नेछन्। अन्य खेलमा पनि उनले यस्तो प्रदर्शन दोहोर्उन सक्ने अपेक्षा गर्न सकिन्छ।
हालसम्म अन्तर्राष्ट्रिय टी-२० प्रतियोगितामा एकभन्दा बढी शतक बानाउने क्रिकेटर
रोहित शर्मा(भारत) : ४ (९०खेल)
कोलिन मुन्रो(न्युजिल्यान्ड) : ३ (५२ खेल)
ग्लेन म्याक्सवेल(अस्ट्रेलिया) : ३ (५३खेल)
इभिन लुइज(वेस्ट इन्डिज) : २ (२३ खेल)
लोकेश राहुल(भारत) : २ (२५ खेल)
आरोन फिन्च(अस्ट्रेलिया) : २ (५२ खेल)
क्रिस गेल((वेस्ट इन्डिज) : २ (५४ खेल)
ब्रेन्डन म्याक्कुलम(न्युजिल्यान्ड) : २ (७० खेल)
मार्टिन गुप्टिल(न्युजिल्यान्ड) : २ (७५ खेल)
(एजेन्सीकाे सहयाेगमा)
प्रतिक्रिया दिनुहोस !
