सारंगीमा वनको कथा सुनाउने दिलु गन्दर्भको कथा
चितवन : एक हातमा सारंगी अर्कोमा अरबाज। हरेक दिन गाउँदेखि सहरका घर पुग्ने अनि धुन सुनाउने व्यस्तता। पछिल्लो दुई महिनादेखि यसैमा व्यस्त छ कलाकार दिलु गन्धर्वको दैनिकी।
मानिसको भीड देख्यो कि उनी सारंगी बजाउन थाल्छन्। कुनै बेला माया पिरतीको कथा व्यथा सुनाउने दिलु आजभोलि वन र वन्यजन्तुप्रतिको मायाको गीत सुनाउँदै हिँड्छन्। हरेक घरमा पुग्छन् अनि चलेका भाकामा जंगलको कथा सुनाउँछन्। धुनसँगैको उनको गीतले जो कोहीलाई मोहित बनाउँछ। सारंगीको धुनमा उनी चोरी सिकार नियन्त्रणसम्बन्धी ‘वनको कथा’ कथा सुनाउँदै हिँडेका छन्।
‘गीतमा मान्छेको होइन् जंगलका कुरा छन्’, दिलुले भने, ‘जनावर के कारणले मर्यो, किन मारियो भन्ने कुरा गीतबाट सुनाउँछु।’ चितवनमा केही दिन उनी पदमपुरका घरहरू डुले। वन्यजन्तु चोरी सिकारीका कारण पदमपुरका धेरै पक्राउ परेका छन्। बाघ, भालु, गैंडा जोगाउनुपर्छ भन्दै दैलोमा पुगेर उनी गीतमार्फत स्थानीयलाई सचेत गराउँछन्। वन्यजन्तुको संरक्षणमा आधारित गीत भएर कसैले चासो नदिए उनले चलेको भाका सुनाएर ध्यान तान्छन्। वन्यजन्तु अपराधमा लागेर सजाय भोगेकाहरूको अनुभव गीत बनाएर सुनाउँछन्। वन्यजन्तुको अवैध व्यापारमा लाग्नु हुन्न भन्ने गीतको सन्देश हो। सामान्य पैसाको लोभमा जीवन बर्बाद भएकाहरूको कथा सुनाउँछन्।
‘बिरुवा र जनावरको आफ्नै जिन्दगी छ’, दिलु भन्छन्, ‘मान्छेको माया प्रेमको गीत धेरै गाइयो। प्रकृतिसँग माया गर्ने वातावरण बनाउनुपर्छ भन्ने अभियानमा लाग्दा सारै खुसी छु।’ सानोमा नबुझेर चरा मारेको घटनाले उनलाई अझै पछुतो छ। कथा सुनाउने अभियानमा दिलुसँगै कुमार पौडेल पनि छन्। पौडेलले संरक्षणका कथालाई संगीतमा जोड्न दिलुसँगै उनको सारंगी प्रयोग गरेका हुन्। सारंगीका धुन सबैले मन पराउने कारण यसैमा संरक्षणको गीत तयार गरिएको हो। दुई महिनादेखि मध्यनेपालको संरक्षित क्षेत्रको अभियानमा उनीहरू सक्रिय छन्। गीतमा सजायलाई अवमूल्यन गरेर अपराधमा संलग्न भएकाहरू पछि पछुताउने गरेका घटना समावेश गरिएको छ। वातावरण र वन्यजन्तु संरक्षणमा कार्यरत ‘ग्रिनहुड नेपाल’ ले अभियान चालेको हो। ग्रिनहुडले सात वर्षदेखि वन्यजन्तुको चोरी, सिकारी, व्यापारको अवस्था बारेमा अध्ययन अनुसन्धान गरिरहेको छ। पौडेल सहसंस्थापक एवम् अनुसन्धाता हुन्।
उनले तीन वर्ष विभिन्न कारागार पुगेर वन्यजन्तु अपराधको कैद भुक्तानी गरेकालाई भेटे। चोरी सिकारी र अवैध व्यापारको कारण खोज्न देशभरका कारागार पुगे। अनुसन्धानको क्रममा उनले एक सय ५४ जनालाई भेटेका थिए। त्यसबाट भएको पारिवारिक विचलन, त्यसले पारेको असरका भोगाइ उनले सुने। ‘जेलमा मैले धेरैका दर्दनाक कथा सुने’, पौडेलले भने, ‘संरक्षणका कुरा धेरै भए तर लक्षित समुदायमा पुग्न सकेको छैन। कुरा बुझाउन संगीतमा कथा हालेर सुनाउन हामी लागेका हौ।’
गीतमा नियम कानुन र दण्ड जरिवानाको सन्देश समेटिएको छ। पौडेलले वन्यजन्तु तस्करी निरुत्साहित गर्न संगीत प्रभावकारी ठानेर अवधारणा ल्याएको बताए। यस विषयमा पाँचवटा गीत तयार भएका छन्। यसलाई रेडियोबाट प्रसारण गर्ने तयारी छ। यसको म्युजिक भिडियो पनि अभियानमै छायांकन गरिएको छ। तीनवटा वास्तविक र दुईवटा काल्पनिक घटनामा आधारित छन्।
अभियानको क्रममा उनीहरूले लाङटाङ र सिन्धुपाल्चोक पुगेर गीत सुनाएका छन्। चितवनको नारायणगढ, पदमपुर, सौराहालगाएतका क्षेत्रमा उनीहरूले गीत सुनाउँदै हिँडे। चोरी सिकारीको घटनास्थल र यसको नाका रहेको क्षेत्रमा पुगेका छन्। यसपछि पर्सा, गौरीशंकरलगायत वन्यजन्तु संरक्षण क्षेत्रमा जाने उनीहरूको तयारी छ।