३ अर्ब ६१ करोडको पाम आयल निर्यात
काठमाडौं : आर्थिक वर्ष २०७६-७७ को पहिलो दुई महिनामा ३ अर्ब ६१ करोड रुपैयाँको पाम आयल निकासी भएको छ। नेपालमा उत्पादन नै नहुने पाम आयल नेपालबाट निकासी हुने प्रमुख वस्तुका रूपमा देखिएको छ। पाम आयलको भन्सार महसुल नेपालमा १० प्रतिशत छ भने भारतमा ४० प्रतिशत छ। महसुलको भिन्नताका कारण व्यापारीले मलेसिया र इण्डोनेसियाबाट पाम आयल आयात गरी भारतमा निकासी गरिरहेका छन्। भारतीय व्यवसायीले इण्डोनेसिया र मलेसियाबाट आयात गर्दा धेरै भन्सार महसुल लाग्ने भएकाले नेपाल हुँदै पाम आयल भारत पुर्याइने गरेको छ।
साबुनको कच्चा वस्तुका रूपमा पाम आयल प्रयोग हुँदै आएको छ। नेपालले भारतीय बजारमा निकासीमा पाएको सौविध्यपूर्ण बजार पहुँचको उपयोग गर्दै पाम आयल निकासी भइरहेको छ। राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक नरबहादुर थापा भारत सरकारले नीतिगत परिवर्तनको उपाय लिने बित्तिकै प्रमुख निर्यात वस्तुका रूपमा रहेको पाम आयलको निर्यात ध्वस्त हुन सक्ने बताउँछन्।
‘पहिले वनस्पति घ्यूको निकासीमा यही किसिमको ट्यारिफ अर्बिट्रेज (महसुल भिन्नताको फाइदा लिने प्रवृत्ति) देखिएको थियो’, थापा भन्छन्, ‘हाम्रो प्रमुख निर्यात वस्तु नै आफ्नो मुलुकमा उत्पादन हुँदैन भनेपछि यसले कति रोजगारी सिर्जना गर्ला, कति मूल्य अभिवृद्धि गर्ला भन्ने प्रश्न त रहन्छ नै। हामीले प्रमुख निर्यात वस्तुको विकास यसको प्रतिस्पर्धी र तुलनात्मक लाभतर्फ ध्यान दिनुपर्छ।’
भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकले पाम आयलले यस वर्षका सुरुवातदेखि नै प्रमुख निकासी वस्तु कार्पेट, अलैंची, गार्मेन्ट तथा हस्तकलाका सामानलाई पछिपारेको छ। पाम आयलको निकासी तासको घरजस्तो भएको व्यापार विज्ञ टिप्पणी गर्छन्।
भन्सार विभागको तथ्यांकअनुसार, चालु आर्थिक वर्षको सुरुवातदेखि नै निकासी बढ्नुमा पाम आयलको उल्लेख्य योगदान छ। चालु आवको पहिलो दुई महिनामा निर्यात अघिल्लो आवको सोही अवधिको तुलनामा २५.८७ प्रतिशतले वृद्धि भई १८ अर्ब ५० करोड रुपैयाँ पुगेको छ।
यस्तै, आयात भने अघिल्लो वर्षको तुलनामा सामान्य १.२२ प्रतिशतले घटेको छ। समीक्षा अवधिमा दुई अर्ब २९ अर्ब ५० करोड रुपैयाँको आयात भएको छ। निर्यातमा बढोत्तरी र आयात सामान्य घट्दा चालु आवको पहिलो दुई महिनामा व्यापार घाटा गत आवको सोही अवधिको तुलनामा ३.०५ प्रतिशतले घटेको छ। यो अवधिमा व्यापार घाटा २ खर्ब ११ अर्ब रुपैयाँ रहेको भन्सार विभागले जनाएको छ। कुल व्यापारमा निर्यातको हिस्सा ७.५ प्रतिशत छ भने आयातको हिस्सा ९२.५ प्रतिशत छ।