पाहुनालाई स्वागत गर्न नयाँ फर्निचर
दसैं आयो। नयाँ लुगा किन्ने, नयाँ गाडी किन्ने, नयाँ सामान किन्ने। हाम्रो पुरानो चलन हो। दसैंमा टाढा–टाढाबाट पनि इष्टमित्र÷पाहुना भेट्न आउने भएकाले यस समयमा कोठाको सजावटलाई विशेष ध्यान दिने चलन छ। कोठाको सजावटमा सबैभन्दा महत्र्वपूर्ण वस्तु हो–फर्निचर। नयाँ फर्निचरले कोठालाई आकर्षक देखाउने मात्र होइन। सजावटलाई पूर्णतासमेत दिन्छ।
अरु दिनभन्दा फर्निचर बजारमा दसैंको समयमा बढी भीडभाड देखिन्छ। वर्षभरीको व्यापारको २० प्रतिशत हिस्सा दसैंमा हुने गरेको फर्निचर व्यवसायी बताउँछन्। भर्खरै फर्निचर एक्सपो सम्पन्न गरेर बसेका व्यवसायीलाई अहिले पनि भ्याइ–नभ्याइ छ। फर्निचर ल्यान्डका प्रबन्ध निर्देशक शौरभ जोशी भन्छन्, ‘अस्तिको सातादेखि भीडभाड नै छ। अहिले त सुरुवात मात्रै हो। खास व्यापार त घटस्थापनादेखि सुरु हुन्छ।’
दसैंमा कार्यालयसम्बन्धी सामग्रीभन्दा घरायसी सामग्रीको माग बढी हुने गरेको छ। विशेषगरी सोफा, डाइनिङ टेबल, बेडरुमको बढी माग हुने गरेको उनी बताउँछन्। उनी भन्छन्, ‘धेरैको चाडपर्वमा पाहुँना धेरै आउने हुनाले नयाँ फर्निचर किन्ने गर्छन्। दसैंमा नयाँ सामान किन्ने त हाम्रो पुरानै चलन हो।’
नयाँ फर्निचर किन्ने भन्ने वित्तीकै आर्थिक स्थितिको पनि कुरा आउँछ। मानिसले आफ्नो हैसियतअनुसार खर्च गर्छन्। दसैंमा नियमित तलबको बोनससमेत आउने भएकाले यस समयमा अतिरिक्त खर्च गर्ने बानी रहेको हुन्छ। उपभोक्ता नयाँ सामान जोड्नलाई पनि दसैं पर्खिने गर्छन्।
यस्तो मौकामा धेरैभन्दा धेरै सामान बिक्री गर्ने मनशायमा व्यावसायीको हुन्छ।
फर्निचरको बजार पहिले जस्तो पनि छैन। अहिले घरैपिच्छे फर्निचरको शोरुम देख्न पाइन्छ। यसले फर्निचर व्यवसायमा प्रतिस्पर्धा बढी देख्न पाइन्छ। दसैंमा हुने भीड आफूतिर आकर्षित गर्न व्यवसायीले अनेक उपाय लगाउनुपर्ने हुन्छ।
अझ ग्राहकको ध्यान खिच्न सामान खरिदमा छुट तथा अफरसम्मको योजना ल्याउने गर्छन्। फर्निचर ल्यान्डले ग्राहकलाई २५ प्रतिशतसम्म छुटको योजना ल्याएको जोशी बताउँछन्। ग्राहक पनि दसैंमा खास छुट पाइने हुनाले दसैंको अवसर पर्खेर बसिरहेका हुन्छन्।
विगतका वर्षमा जस्तो यसपालि दसैंमा फर्निचर बजारमा चहल पहल कम देखिएको नेपाल फर्निचर तथा फर्निसिङ व्यवसायी संघका प्रथम उपाध्यक्ष दिनेशकुमार अग्रवाल बताउँछन्। यद्यपि, घटस्थापनादेखि दसैंका लागि फर्निचरको माग बढ्नेमा व्यवसायी आशावादी नै छन्।
फर्निचरका सवालमा मानिसको सोचमा परिर्वतन आएको व्यवसायी अग्रवाल बताउँछन्। पहिले जस्तो दसैं नै पर्खेर फर्निचर खरिद गर्नेको संख्यामा कमी आउँदै गरेको उनको भनाइ छ। अग्रवाल भन्छन्, ‘काठमाडौंका ग्राहकमा फर्निचर खरिद गर्न दसैं नै पर्खिनुपर्छ भन्ने सोच परिवर्तन भइसक्यो। पहिला जस्तो फर्निचर खरिद गर्न दसैं पर्खिने चलन छैन’, अग्रवालले भने, ‘ग्राहकले आवश्यकताअनुसार फर्निचर खरिद गर्ने गर्छन्। दसैंमा भीडभाड हुने भएकाले पायक पर्ने समयमै ग्राहकले किन्ने गर्छन्। तराई भेगका ग्राहक भने दसैं कुर्ने गर्छन्।’ उनका अनुसार दसैंको तुलनामा विवाहको सिजनमा फर्निचर धेरै बिक्री हुने उनको भनाइ छ।
२०७२ सालको विनाशकारी भूकम्पपछि फर्निचरको माग ह्वात्तै बढेको थियो। भूकम्पपछिको पुनः निर्माणका क्रममा फर्निचरको माग बढ्दो थियो। नयाँ घर निर्माण तथा पुनः निर्माणले फर्निचरको व्यापारलाई टेवा पु¥याएको थियो। तर अहिले बजार लगभग स्याचुरेसन अवस्थामा पुगिसकेको अग्रवालको विश्लेषण छ। उनी भन्छन्, ‘नयाँ घर बनाउने परिपाटी कम हुँदै गइसकेको छ। अहिले पुरानो फर्निचर हटाएर नयाँ किन्नेको मात्रै घुइचो छ। दसैंमा हुने कारोबारमा कुनै विशेष परिवर्तन छैन।’
दसैंमा नयाँ घरमा सर्ने र डेकोरेसनको स्थिति कम भएको उनी बताउँछन्।
संघका अध्यक्ष रूपेश प्रधान पनि विगतमा जस्तो फर्निचर बजारमा खासै चहलपहल हुन नसकेको बताउँछन्। अरु क्षेत्रमा पनि खासै चहलपहल बढ्न नसकेको बताउँदै फर्निचर व्यवसायमा सुस्ति आएको उनले बताए। उनी भन्छन्, ‘हाम्रो मात्रै होइन। अरु बजारलाई पनि हेर्नुभयो भने उस्तै छ। न गाडीको बजार राम्रो छ न सेयर बजारमा चमक छ। महँगी पनि बढ्या छ। पैसा भएपछि यस्ता सामान किन्न मान्छेको ध्यान पुग्छ। समग्र आर्थिक स्थिति नै राम्रो नहुँदा फर्निचर कसरी राम्रो होस्।’
नेपालमा फर्निचर उद्योगका लागि चाहिने आवश्यक काठ अधिकांश विदेशबाट आयात हुने गरेका छन्। फर्निचरका लागि आवश्यक काठको व्यावसायिक कारोबार बढाउन नसक्नु पनि दुर्भाग्यपूर्ण रहेको उनको भनाइ छ। उनका अनुसार नेपालमा ७० प्रतिशत काठ विदेशबाट आयात हुने गरेको छ। बाँकी ३० प्रतिशत काठको माग आन्तरिक स्रोतबाट पूरा हुने गरेको उनी बताउँछन्। ‘बाहिरतिर त रुख रोपेर काठको व्यावसायिक खेती नै हुन्छ। हाम्रोमा काठ आउने भनेको ढलेको रूखबाट हो’, उनी भन्छन्, ‘हामीले आन्तरिकरूपमै काठको व्यावसायिक उत्पादन गरी माग धान्ने किसिमबाट जाने हो भने फर्निचर बजारमा चहलपहल कायम राख्न सक्छौं।’
नेपाल भित्रिने अधिकांश काठ भियतनाम, रुस तथा मलेसिया जस्ता मुलुकबाट आयात हुने गरेका छन्। संघका अनुसार मुलुकभर करिब एक सय ५० भन्दा बढी फर्निचर व्यवसायी छन्। बजारमा स्वदेशी तथा विदेशी ब्रान्डका थुप्रै फर्निचर तथा फिर्नि्सिङ उपलब्ध छन्। नेपालमा वार्षिक ३५ अर्ब रुपैयाँ बराबरको फर्निचर तथा फर्निसिङको व्यापार हुने गरेको व्यवसायी बताउँछन्। ५० प्रतिशत बजार हिस्सा नेपाली उत्पादन तथा बाँकी ५० प्रतिशत विदेशी ब्रान्डले ओगटेको छ।
कार्पेट, डोरम्याट, म्याट्रेसलगायत फर्निसिङमा नेपाल आत्मनिर्भर भइसकेको संघको दाबी छ। समग्र फर्निचर क्षेत्रमा नेपाल आत्मनिर्भर बन्न सरकारी नीति परिवर्तन हुनुपर्ने व्यवसायी बताउँछन्। ‘फर्निचर व्यवसायीले सीधै काठ खरिद गर्न सक्दैनन्, व्यवसायीले सीधै लिलाममा भाग लिन पाउने व्यवस्था छैन। लिलाममा एउटाले किन्ने अनि चिरान मिलमा पुगेपछि मात्र व्यवसायीको हातमा पुग्छ’, प्रधानले भने, ‘व्यवसायीको हातमा पुग्दासम्म दुई चरणको प्रक्रिया पूरा हुन्छ।’ सबैले आफ्नो नाफा जोड्दा फर्निचरको लागत बढ्ने उनको दाबी छ। खरिद गरिएको काठ एक ठाउँबाट अर्को स्थानमा लैजान पनि समस्या छ।
‘तयारी फर्निचर सहज रूपमा ढुवानी गर्न सकिन्छ। फर्निचर बनाउन आवश्यक काठ ढुवानी गर्न निकै सास्ती छ’, प्रधानले भने। यसले गर्दा पनि व्यवसायी स्वदेशमै उत्पादन गर्नुभन्दा विदेशबाट आयत गर्न सहज हुने भएकाले त्यसतर्फ अग्रसर भएको उनको दाबी छ।