नेपाली फुटबल टोलीको दसैं टीका सिड्नीमा
सिड्नी : अस्ट्रेलियासँग विश्वकप छनौट खेल्न लागेको राष्ट्रिय फुटबल टोलीले सिड्नीमा दसैं मनाएको छ। सिड्नीमा आयोजित कार्यक्रममा खेलाडीहरूले टीका लगाएर दसैं मनाए।
सिड्नीबाट क्यानबेरा प्रस्थान गर्नुअघि नेपाली टोलीका सदस्यले ‘सिड्नी एकेडेमी अफ स्पोर्ट एन्ड रिक्रिएसन’ मै बडा दशैंको टिका थापेका थिए। टोलीका खेलाडी र अन्य सदस्यलाई टोली ब्यवस्थापक मधुसुदन उपाध्ययले टिका लगाइदिएका थिए।
टीका लगाएर नेपाली राष्ट्रिय फुटबल टोली अस्ट्रेलियाको राजधानी शहर क्यानबेरा पुगेको छ। सिड्नीमा करिब एक साता लामो अभ्यासपछि राष्ट्रिय फुटबल टोली मंगलबार दिउँसो सडक मार्ग हुँदै करिब चार घन्टाको यात्रा गरी क्यानबेरा पुगेको हो।
नेपाली टोलीले बिहीबार (असोज २३ गते) आफुभन्दा निकै बलियो प्रतिद्वन्द्वी अस्ट्रेलियासँग उसैको घरेलु मैदानमा विश्वकपको छनोट खेल खेल्ने कार्यक्रम छ। असोज १६ गते नै अस्ट्रेलिया आइपुगेको राष्ट्रिय टोलीले सिड्नीस्थित ‘सिड्नी एकेडेमी अफ स्पोर्ट एन्ड रिक्रिएसन’ मा ६ दिन अभ्यास गरेको थियो।