१६ प्रदर्शनकारी रिहा
राजविराज : राजविराज नगरपालिका १ का २३ वर्षीय गुञ्जन झाको रिहाइको माग गर्दै आन्दोलनमा उत्रिएका १६ प्रदर्शनकारी बुधबार दिउँसो रिहा भएका छन्।
राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा तोडफोड गरेको आरोपमा पक्राउ परेका गुञ्जनको रिहाइको माग गर्दै उनीहरु प्रदर्शनमा उत्रिएका थिए।
राजविराज ५ का वडा सदस्य पार्थो सरकार, राजपा सर्लाहीकी कोषाध्यक्ष सीता यादव, राजविराज १ का दिलिपकुमार झा, सूर्यनारायण झा, सरोजकुमार झा, सागर झा, महेशकुमार यादव, सौरभ ठाकुर, विकास झा, दिपक ठाकुर, सन्दीप चौधरी, जितेन्द्र झा जितु, राजविराज २ का रन्जित यादव, राजविराज ६ का प्रसिसकुमार झा, गुञ्जे सिंह र सागर झा रिहा भएका हुन्।
गुञ्जनका आफन्त र विद्यार्थीले जिल्ल प्रहरी कार्यालय अगाडि विरोध प्रदर्शन गर्दा उनीहरु पक्राउ परेका हुन्। सहिद दर्शन चोकमा टायर बालेपछि नाराबाजी गर्दै जिल्ला प्रहरी कार्यालय अगाडि प्रदर्शन गर्न थालेका उनीहरुलाई प्रहरीले मङ्गलबार राति पक्राउ गरेको थियो।
अर्थोपेडिक विभागका डा. ज्ञानेन्द्र झा र डा. प्रानेश यादव सोमबार दिउँसो १ बजेसम्म पनि नआएपछि अस्पताल परिसरमा विरोध प्रदर्शनको नेतृत्व गर्ने गुञ्जनलाई भने जिल्ला प्रहरी कार्यालयले मङ्गलबार अभद्र व्यवहारको उजुरी दर्ता गरी कारवाही थालेको छ।
आक्रोसित बिरामीका आफन्तहरूले नाराबाजी गर्दै अर्थोपेडिक विभागको टेबुल, कुर्सी र कागजात बाहिर ल्याएर मिल्काएपछि प्रहरीले प्रदर्शनको नेतृत्व गर्ने झालाई पक्राउ गरी कारवाही थालेको छ।