नापी कार्यालयका दुई कर्मचारीविरुद्ध मुद्दा
काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय भक्तपुरका नापी सर्वेक्षक सिद्धराज जोशी र वीरभद्र जोशीविरुद्ध मुद्दा दायर गरेको छ ।
नापी सर्वेक्षक सिद्धराजले जग्गा हालसाविक गर्न नापी कार्यालय भक्तपुरबाट तोक आदेश भइ फिल्ड नाप जाँच गर्ने क्रममा फिल्ड खर्च भनी सेवाग्राहीसँग घुस लिँदालिँदै पक्राउ परेका थिए ।
अनुसन्धानको शिलशिलामा सर्वेक्षक वीरभद्रको मिलेमतो देखिएको अख्तियारको भनाइ छ । सर्वेक्षकद्धयले एकआपसको मिलेमतोमा नियमानुसार गर्नुपर्नेमा आलटाल गरी विभिन्न वहाना बनाइ कामको लागि सेवाग्राहीसँग घुस लिइ भ्रष्टाचार गरेको हुँदा विशेष अदालतमा मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता एवं सहसचिव प्रदीपकुमार कोइरालाले जानकारी दिए ।
उनीहरुविरुद्ध भ्रष्टाचार निवारण ऐन बमोजिम जरिवाना र कैद सजाय हुन मागदावी गरी अदालत काठमाडौँमा आरोपपत्र दायर गरिएको छ ।