रक्सीमा विषादी मिसाएर हत्या : फरार दुई अभियुक्त पक्राउ
राजविराज : विषादी मिसाएको रक्सी खुवाई हत्या गरेको आरोपमा सप्तरी प्रहरीले दुईजनालाई पक्राउ गरेको छ ।सुनियोजित तरिकाले हत्या गरी फरार रहेका सप्तरीको सुरुङ्गा नगरपालिका ३ बिषहरियाका ४६ वर्षीय महेन्द्र सदा र २५ वर्षीय अनील सदालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय कडरबोनाले जनाएको छ ।
घटनाको दुई वर्ष चार महिनापछि उनीहरुलाई घरबाटै पक्राउ गरिएको इन्स्पेक्टर रामराजा केशरीले बताए । अन्य आरोपित सोही ठाउँका महेन्द्रका भाइ ४४ वर्षीय जोगेन्द्र सदा, २४ वर्षीय अर्जुन सदा, २३ वर्षीय प्रदिप सदा र २२ वर्षीय अजित सदा फरार छन् ।
फुल्चनलाई रक्सी खान बोलाई विषादी मिसाएर सुनियोजित तरिकाले हत्या गरेको उनीहरु माथि आरोप छ । श्रीमतिसँग नजिकिएको हल्ला सहन नसकेर वैदेशिक रोजगारबाट फर्किएलगत्तै महेन्द्रले योजना बनाएर हत्या गरेको फुल्चनका बुवा बरीलाल मण्डलको आरोप छ ।
प्रहरीका अनुसार ०७४ असार ७ गते दिउँसो साढे ३ बजे रक्सीमा विषादी चक्की हालेर खान दिएकै कारण फुल्चनको मृत्यु भयो ।मृतककी आमा हन्सीदेवी मण्डल खत्वेको उजुरीका आधारमा आरोपितमाथि कर्तव्य ज्यान मुद्दासम्बन्धी कारवाही हुने इन्स्पेक्टर केशरीले बताए ।