धितोपत्र बोर्डको अध्यक्षमा पनेरू र ढुंगाना दाबेदार
काठमाडौं : सेयर बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन)को नयाँ अध्यक्षमा टंक पनेरू र भीष्मराज ढुंगाना मुख्य दाबेदार देखिएका छन्। अध्यक्ष डा. रेवतबहादुर कार्कीको चार वर्षे कार्यकाल यही असोज मसान्तमा सकिएको छ। उनी १४ असोजदेखि नै बिदा बसेका थिए।
धितोपत्र ऐनले कम्तीमा स्नातकोत्तर हासिल गरी धितोपत्र बजार व्यवस्थापन, पुँजीबजार विकास, आर्थिक, वित्तीय, वाणिज्य, व्यवस्थापन वा कानुन क्षेत्रमा कम्तीमा ७ वर्ष काम गरेका व्यक्तिलाई नेपाल सरकारले अध्यक्षमा नियुक्त गर्न सक्ने व्यवस्था छ। राष्ट्रिय योजनाका आयोगको वित्तीय क्षेत्र हेर्ने सदस्यको संयोजकत्वमा अर्थ मन्त्रालयका सचिव र धितोपत्र बजार विज्ञ रहेको समितिले कम्तीमा ३ जनाका नाम सिफारिस गरेपछि तिनैमध्येबाट मन्त्रिपरिषद्ले अध्यक्ष नियुक्त गर्नेछ।
राष्ट्र बैंकमा लामो समय विदेशी विनिमय विभागमा काम गरेका भीष्मराज ढुंगानालाई अर्थ मन्त्रालयले यसअघि नै सेबोनमा विज्ञ सदस्यका रूपमा भित्र्याइसकेको छ। मोरङका ढुंगाना अर्थमन्त्री डा.युवराज खतिवडाका निकट मानिन्छन् भने राष्ट्रपति विद्यादेवी भण्डारीको समेत उनलाई समर्थन रहेको बताइन्छ। ढुंगानाले राष्ट्र बैंकको गभर्नरकै लागि बार्गेनिङ गरिरहेको उनी निकट स्रोत बताउँछ। यस्तो अवस्थामा डा. मीनबहादुर श्रेष्ठलाई केन्द्रीय बैंकको नेृतृत्व दिने रणनीतिमा रहेका नेकपा अध्यक्ष प्रचण्डसमेत सेबोनको अध्यक्षमा ढुंगानालाई ‘सेटल’ गर्ने पक्षमा देखिएको जानकार बताउँछन्।
नेपाल स्टक एक्सचेन्जका पूर्वअध्यक्ष टंक पनेरू भने प्रधानमन्त्री केपी ओली निकट मानिन्छन्। सेयर बजारबारे जानकार व्यक्ति पनि भएकाले प्रधानमन्त्री ओली उनलाई अध्यक्षको रूपमा पठाउने योजनामा रहेको जानकार बताउँछन्। उनले आफू निकट सेयर लगानीकर्ताबीच पनेरूलाई अध्यक्ष बनाउने संकेत गरिसकेको बताउँछन्। भावी अध्यक्षमा नेपाल बैंकका अध्यक्ष वासुदेव अधिकारीको नाम पनि चर्चामा रहे पनि उनी ‘ग्राउन्ड’बाट बाहिरिइसकेको जानकार बताउँछन्।
अहिले लगातार घट्दो प्रवृत्तिमा रहेको सेयर बजार उकास्न सकारात्मक पहल गर्ने अध्यक्ष आवश्यक रहेको भन्दै सेयर लगानीकर्ताले अपिल गरिरहेका छन्। उनीहरूले सेयर लगानीकर्ताको मनोबल बढाउन नसकेको भन्दै सरकार र खासगरी अर्थमन्त्री डा.खतिवडाको आलोचना गर्दै आएका छन्। नेप्से र सीडीएससीको सफ्टवयर प्रणालीमा पटकपटक समस्या देखिएपछि लगानीकर्ताको मनोबल प्रभावित हुँदै आएको छ। यस्ता प्राविधिक पक्ष सुधार गर्नु नयाँ अध्यक्षको पहिलो जिम्मेवारी हुनेछ।
सेबोनले सेयरसहित ऋणपत्र, डिबेन्चर, वस्तु बजारजस्ता सबैखाले धितोपत्र बजारको विकास, प्रवद्र्धन र नियमनको काम गर्नुपर्ने भए पनि अहिलेसम्म मूलतः सेयर बजारको मात्रै नियामकको भूमिका निर्वाह गरिरहेको छ। अब आउने नेतृत्वले मुलुकमा वस्तु (कमोडिटी) बजारसम्बन्धी थप कानुनी प्रबन्ध गर्ने र यस्तो बजारको नियमन गर्नुपर्नेछ। यसअघि नै सेबोनले कमोडिटी एक्सचेन्ज सञ्चालनको अनुमतिका लागि निवेदन मागेर पनि बीचैमा प्रक्रिया स्थगन गरेर नयाँ प्रक्रिया सुरु गरिसकेको छ। एक्सचेन्जबाहेक पनि सेयर बजारमा जस्तै वस्तु बजारमा पनि सेटलमेन्ट कम्पनी, ब्रोकर, वेयरहाउसजस्ता थुप्रै नयाँ संस्था जन्माउनुपर्ने हुन्छ। यो काममा नयाँ नेतृत्वको महŒवपूर्ण भूमिका हुनेछ।
सेयर बजारलाई पूर्ण स्वचालित प्रणालीमा लान अझै सकिएको छैन। उपत्यकाबाहिर बजार विस्तार गर्ने, बैंकलाई ब्रोकरको लाइसेन्स दिने, ब्रोकर, सीडीएससी, नेप्से र नियामकले पाउने, कमिसन दर घटाउने, गैरआवासीय नेपालीलाई सेयर बजारमा लगानी गर्ने बाटो खोल्ने, स्वदेशी मुद्रामा अन्तर्राष्ट्रिय संस्थाको ऋणपत्र खोल्ने, ऋणपत्र बजारको सुदृढीकरण गर्ने, नयाँ डेरिभेटिभ्स बजार सिर्जना गर्नेजस्ता काम पनि अबको नेतृत्वले अघि बढाउनुपर्नेछ।
बैंक तथा वित्तीय संस्थाको बाहुल्य सेयर बजारलाई उत्पादनमूलक क्षेत्रका कम्पनी भित्र्याएर वस्तुपरक बनाउन नयाँ नेतृत्व कति सफल हुन्छ भन्ने कुराले मुलुुकको धितोपत्र बजार विकासको गति निर्धारण गर्नेछ। मूल कुरा सेयर र धितोपत्र बजारमार्फत हुने सम्पत्ति शुद्धीकरणलाई नियन्त्रण गर्न नयाँ नेतृत्वले कस्तो कसरत गर्छ भन्ने निकै ठूलो प्रश्न तेर्सिएको सेयर जानकार बताउँछन्।