वाह ! रूख - घर
उनायचौर (गुल्मी) : ठूलै सल्लाको रुख। चढ्न त के हेर्दै आङ सिरिङ हुने। कोही यति ठूलो रुखमा चढ्ने कुरै भएन्। यूवाहरु समेत चढ्न सक्ने अवस्था थिएन्। तर, यही डरलाग्दो रुखमा अहिले दुधे बालकदेखि बृद्धबृद्धाहरु समेत सजिलै चढ्न सक्छन्। सल्लाको रुख चढ्ने मात्र होइन, टुप्पोमै पुगेर आफुले चाहेजति आराम गर्न पाउँछन्। देख्दै आकर्षक छ। पाँच तलाको झण्डै एक सय जति सिँढी चढेर यही ठूलो रुखमा पुग्दा पर्यटकहरु दंग छन्।
चारैतिर विभिन्न प्रजातिका रुखकहरुले हरियाली छ। जाडोमा न्यानो र गर्मीमा शिलता पनि हुने। रेसुंगा नगरपालिका वडा नम्वर ५, ६ र ७ को संगमस्थ उनायचौरको उनायचौर भगवती मन्दिरमा दुई महिना अघि ‘ट्रि हाउस’ निर्माण गरियो। यही हाउसमा चढेर आन्नदित हुन हिजोआज आन्तरिक एवं बाह्य पर्यटकहरुको घुँइचो लागेको छ। प्राकृतिक रुपमा बनाइएको यस हाउसले पर्यटकले मन तानेको छ। त्यहाँ पुग्दा देखिन्छ फोटो कैद गर्नेहरु व्यस्त हुन्छन्।
तम्घास घुम्न आएका चितवनका ज्ञानहरी आचार्यले ट्रि हाउस घुमेपछि अनौठो स्थान देखेको बताए। ‘यस्तो ठाउँ छ भन्ने सुनेको थिए’,उनले भने,‘कति राम्रो ठाउँ। बसौँ बसौ लाग्ने।’ स्थानीयको आय आर्जनमा यसले महत्वपूर्ण टेवा पु¥याउने उनले प्रतिक्रिया दिए। यसको दिगोपना र संरक्षणमा स्थानीय सरकारले ख्याल गर्न समेत उनले सुझाव दिए।
विदाको दिनमा अझ बढी पर्यटकहरु घुम्न आउने गरेको उनायचौर खड्ग भगवती नगर उद्यान समितिका हेरोलु एवं स्थानीय घनश्याम पन्थीले बताए। उनले दुइ महिनाको अवधिमा ७० हजार रुपैयाँ बरावारको टिकट विक्री गरिसकिएको जानकारी गराए। रुख चढ्नका लागि प्रतिव्यक्ति २० र विद्यार्थीका लागि दश रुपैयाँ शुल्क निर्धारण गरिएको छ। विभिन्न संघ, संस्था, कार्यालय वा जुनसुकै निकायले पनि आफ्नो नियमित वैठक उक्त रुखमा बस्न सक्छन्। झण्डै २० जना एकैपटक रुखमा चढेर बस्न सकिन्छ। संकलित रकम मन्दिर व्यवस्थापन समितिले बचत गरेको छ।
प्रदेश ५ सरकारको लगानीमा डिभिजन वन कार्यालय गुल्मीले १३ लाख रुपैयाँ लगानीमा उक्त उद्यान निर्माण गरेको हो। ५० रोपनी क्षेत्रफल जग्गामा फैलिएको यस क्षेत्रमा चिल्डे«न पार्क र अन्य रुखहरुलाइ सजवाट गरिने उद्यान समितिको योजना छ। नजिकै ठूलो खेदमैदान छ। नगर क्षेत्रका ठूला खेल यस मैदानमा संचालन गर्न सकिन्छ। ट्रि हाउसबाट पर्यटकीय तिर्थस्थल रेसुंगा सहित सदरमुकाम तम्घासलाइ नजिकबाटै कैद गर्न सकिन्छ। तम्घास बजारदेखि झण्डै सात किलोमिटर दुरीमै पुग्न सकिन्छ। हालसम्म १२ हजार बढी पर्यटकहरुले यस क्षेत्रको अवलोकन गरिसकेको समितिले जनाएको छ।
बजेट भित्र्याउन रेसुंगा नगरपालिकाले पहल गरेको नगरप्रमुख डिल्लीराज भुषालले जानकारी दिए। उनले चालु आर्थिक वर्षमा थप बजेट विनियोजन गरी यसलाइ अझ आकर्षक बनाइने तयारी रहेको बताए। थप संरचनाका लागि योजना बनाइएको उनको भनाइ छ। रेसुंगा नगरपालिकाको आर्थिक विकासमा ट्रि हाउसले महत्वपूर्ण टेवा पुर्याउने विश्वास छ।