बालकथा : मैचा र फगनी

बालकथा : मैचा र फगनी

मैचा महर्जन र फगनी चौधरी निकै मिल्ने साथी हुन्। मैचाको घर कीर्तिपुरमा छ। फगनीको दाङमा हो। फगनी मैचाको घरमा डेरा गरी बस्छे। फगनीको बाबा काठमाडौंमा घर बनाउने काम गर्छन्। उनले आफूसँग डेरामा बसालेर पढाउन फगनीलाई ल्याएका हुन्। अहिले उनीहरू ७ कक्षामा पुगिसके।

घरधनी र डेरावालबीच कहिलेकाहीँ ठाकठुक पर्नु स्वाभाविकै हो। कहिले पानीको कारण, कहिले ठूलो स्वरमा कराएका कारण मैचाकी आमाले गनगन गर्छिन्। आमाले अरू कोठाकालाई जे भने पनि फगनी र उसको बुवालाई केही नभनिदिए हुन्थ्यो जस्तो लाग्छ उसलाई। ‘फगनीहरू घरै छाडेर गएमा यति मन मिल्ने साथी कहाँबाट पाउनु मैले ? ’ यस्तो सोच्दा मात्रै पनि टाउको भारी भएको जस्तो हुन्छ उसको।

सधै झैं यसपालिको दसैंमा पनि फगनी बिदा मनाउन घर जाने भई। फगनीले भनी, ‘मैचा, कति आफ्नै घरमा मात्रै दसैं मनाउछेस्। ल हिँड, यसपालि हाम्रो तराईको गाउँ जाऊँ।’

साँच्चिभन्दा मैचा यो उमेरसम्म घर छाडेर कहीँ गएकी छैन। फगनीले अघिपछि आफ्नो गाउँबारे उसलाई एकादेशको कथाझैं वर्णन गरेर सुनाउथी। ‘आमाले मान्नु होला र ? ’ मैचाले शंका गरी।

‘एकचोटि भनेर त हेर’ फगनीले भनेपछि आमासँग सल्लाह गर्ने विचार गरी। तर आमाले ठाडै अस्वीकार गरिदिनु भयो। उसका बाबा आएपछि आमाले झर्किंदै भनिन्– ‘हेर्नु न। दसंैमा फगनीको घर जान्छु भन्छे। त्यो पनि पूरै दुई हप्ता। फगनीले त यसलाई बिगारेर छाड्ने भई।’

मैचाको बा केही बेरसम्म गमे। ओहो वास्तवमा छोरीलाई त उनले आजसम्म कहीँ डुलाएका रहेनछन्। आफ्नो कामको सिलसिलाले पोखरा, विराटनगर गई रहन्छन् उनी तर छोरी सधैं घरमा मात्रै कुँजिएर बसेकी छे। उनले फगनीलाई मनमनै धन्यवाद दिए।

मैचाको कपाल मिलाइदिँदै उसको बाबाले भने, ‘ल, ल कहीँ पनि डुल्न नपाउने मेरी छोरी यसपालि पूरै दुई हप्ता साथीको गाउँ घुमेर आउँछे। अब त खुसी छ्यौ ? ’

‘थेंक्यु बाबा। मलाई प्रोमिस गर्नुस्।’ मैचा खुसीले दुई बित्ता उफ्रिई।

‘ल ल प्रोमिस भो। बरु यात्रामा तिमीलाई के के चाहिन्छ ? मलाई भन है।’ उसका बाबाले भने।

मैचाकी आमा भने फतफताउँदै भान्सातिर लागिन्। ‘तिमी कुरा बुझ न। वास्तविक दुनियाँ बुझ्न केटाकेटीलाई घुम्न दिनुपर्छ। यसले उनीहरूको ज्ञानको ढोका अझ फराकिलो हुन्छ।’, मैचाका बाबाले फुल्याए।

उनीहरूको जाने दिन पनि आयो। जानेबेला फगनीका बाबाले भने, ‘घरबेटी बा आमा, मैचा नानीको बारेमा तपाईंहरूले चिन्तै नगर्नुस्, ऊ पनि मेरै छोरीसरह हो।’

मैचा बसको झ्यालतिर बसेकी थिई। सँगैको सिटमा फगनी, उसका बाबु भने अर्कै सिटमा थिए। जसै बस थानकोट काटेर नागढुंगाको ओरालो लाग्न थाल्यो, मैचालाई झ्यालमा बस्न डर लाग्यो। उसले निकैबेरसम्म आँखा पनि खोल्न सकिनँ। ओरालो कटेपछि मात्र उसलाई अलि सहज भयो, उ फगनीसँग गफिन थाली।

उनीहरू गफमा कति मस्त भए भने मुग्लिन पुगेको पत्तै पाएनन्। अघिपछिका यात्रामा बाउछोरी हुँदा खासै गफ हुँदैनथ्यो। यसपालि बोलेर छोरीको मुख थाकेको छैन, फगनीका बा छोरीको यात्रा रमाइलो हुने भो भनेर दंग छन्। उनले भने– मैचा नानी, यी यो मोड हेर त, हो त्यो बाटो पोखरा जान्छ, हामी चाहिँ नारायणघाटतिर लाग्दैछौं।

मैचाले टाउको हल्लाउँदै भनी– ‘फगनी कुनै दिन हामी पोखरा पनि घुम्न जानुपर्छ है, फेवातालमा पौडी खेल्नुपर्छ।’

फगनीले भनी– ‘तेरी आमाले छुट्टी दिए पो।’

‘धेरै नजिस्क्या है, अहिले घरै फर्किन्छु अनि’ मैचाले फगनीको नाक समाउँदै भनी। दुवै गलल्ल हाँसे। उनीहरूको हाँसोले खलासीले मुन्टो बटारेर हेर्‍यो र मुसुक्क मुस्कुरायो तर केही बोलेन।

नारायणघाट पुगेपछि फगनीले पूर्वतिर जाने बाटो देखाउँदै भनी, ‘अब हामी पश्चिम लाग्ने, ऊ पूर्वतिर धरान, विराटनगर, वीरगन्ज जाने बाटो हो।’

मैचाले भनी, ‘ओहो तंैले घुम्न आउने प्रस्ताव राखेर ठूलो काम गरिस् फगनी। हेर त किताब पढेको सहर छिचोल्दैछु आज म। नारायणघाटबाट गर्मी बढेपछि दुवैले स्वेटर फुकाले। फगनीका बाबाले फलफूल किनेर खान दिए।’

दाउन्नेमा माइक्रोबस खाना ख्वाउनलाई रोकियो। भोकले हो कि मैचाले दुई थाल भात खाई।

गाडी हिँड्यो तर मैचालाई भाते निद्राले छोप्यो। फगनीले उसलाई झटकार्दै भनी– किन निदाउँछेस् साथी, नयाँ ठाउँ हेर्न आएको मान्छे त चिम्म नगरी हेर्नुपर्छ नि। म पहिलोपटक काठमाडौं आउँदा एकपल्ट पनि आँखा चिम्म गरिन्। यो भने हेर सुतुवा।

मैचालाई लाग्यो, उसकै मनकै कुरा गरी फगनीले। उसले पानी खाने बोटलले मुख छ्यापी। पछाडि बस्ने मान्छेकोमा केही पानी परेपछि उसले घुरेर हेर्‍यो तर केही बोलेन।

ओहो कति चाँडै बुटवल आइपुगेछ। मैचाले भनी,‘ सीधा उत्तरतिर बाटो पाल्पा जान्छ। दक्षिणतिर भैरहवा, लुम्बिनी। हामी भने दाङ पुग्न सीधै पश्चिम लाग्दैछौ मैचा।’

मैचाले भनी, ‘ओहो, हामी एकदिन बुद्धको जन्म ठाउँ लुम्बिनी पनि घुम्न आउनुपर्छ है।’

फगनीले हाँस्दै भनी, ‘तेरी आमाले छुट्टी दिने हुन् कि होइनन् ? ’

मैचा भनी– ‘धेरै नजिस्की है। मेरी आमा पनि त कुवाको भ्यागुता नै हो। बरु लुम्बिनी, पोखरा, मनकामना आमालाई नै लिएर घुम्न आउनुपर्छ। तैले पनि तेरो बालाई भनेर यी ठाउँ घुमाउन ल्याउनु क्या।’

ती दुईका कुरा फगनीका बाबाले सुनिरहेका थिए। उनी भित्रभित्रै मुसुमुसु हाँसे। उनले पनि आफनो श्रीमतीलाई कहीँ घुमाएका छैनन्।

बुलेकी ५ बजे नै माइक्रोबसले दाङ पुर्‍यायो। लमही बजारबाट चार किलोमिटर वरै मजगाउँ भन्ने ठाउँमा माइक्रो रोकियो। फगनीका बाबाले भने– ‘हामी यहाँबाट दक्षिण आधा घण्टा जति हिँड्यौ भने हाम्रो गाउँ घुम्ना आइपुग्छ।’

‘ओहो गाडी पाइँदैन र अंकल ? ’ मैचाले सोधी। फगनीले हाँस्दै भनी– ‘यो गोरेटो बाटोमा साइकलसमेत त गुड्दैन। तँलाई गाडी।’

‘ओहो कति विकट ठाउँमा बसेका रहेछौ है तिमीहरू।’ मैचाले भनी।

फगनीले डेढो आँखा लगाई तर केही बोलिन।

बाटोमा फड्के थियो। मैचालाई फगनीका बाले हात समाएर फड्के तारे। मैचाले डराउदै भनी– ‘तेरो गाउँ आउने बाटो यस्तो विकट सुनाएको भए त म आउने नै थिइनँ।’

फगनीले फुल्याई, ‘गाउँको असली मजा यही हो साथी। पहिले गाउँ त छिरौं। अनि त तँलाई मेरो गाउँ छाड्नै मन लाग्ने छैन।’

घरमा फगनीको आमाले खाना तयार पारेर बस्नु भएको थियो। आमालाई फगनीले ढोकी। मैचाले पनि ढोकीदिई। आमाले सोधिन्– ‘यी नानी को नि ? ’

फगनीले भनी, ‘मैले सधैं कुरा गर्ने घरबेटी अन्टीकी छोरी मैचा क्या आमा।’

‘ओहो, फोनमा भन्नुपर्छ नि, मैले मठो तरकारी बनाउने थिएँ।’ आमाले दुःख मानिन्।

‘चिन्ता नगर्नाेस् आमा, मैचा हामीसँग पूरै दुई हप्ता बस्छे। अनि त कति मीठो मसिनो ख्वाउनु हुन्छ।’

साँच्चिभन्दा मैचालाई फगनीको गाउँ निकै मन पर्‍यो। आफ्नै गाउँका ज्यापूहरूभन्दा सखारै गाउँलेहरू खेतमा पुगिसक्दा रहेछन्। महिलाहरू भाले बासेसँगै काम गर्न उठ्छन्। झैझगडा भए गाउँको अगुवा बरघरले छिनोफानो गर्दिन्छन्। ओहो थारू गाउँका बारेमा अब उसले जोसँग पनि धाक लगाएर गफ गर्ने सक्ने भई।

त्योभन्दा ठूलो कुरा थारू युवतीहरूले नाच्ने सख्या नाच पनि मैचाले सिकी। फगनीकी आमाले थरुनीले लगाउने लहंगा कुर्था पनि सिलाई दिइन्।

मैचा फगनीको गाउँ घुमेर आउँदा पूरै थरुनी भएर आएकी थिई। मैचाले त्यहाँ देखे भोगेका यात्राबारे यसरी वर्णन गरी कि उसकी आमालाई पनि गाउँ घुम्न जाउँ जाउँ लाग्यो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.