रुकुम लैजाँदै गरेको पाँच किलो चरेससहित एक पक्राउ

रुकुम : रुकुमपूर्वमा पाँच किलो चरेससहित प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । जिल्लाको पुथाउत्तरगंगा गाउँपालिका १२ को क्युबाङबाट २७ वर्षीय शीला सुनारलाई चरेससहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।
चरेस लिएर पुथा उत्तरगंगाको गर्खानीबाट क्युवाङतर्फ जाँदै गर्दा सुनारलाई सोमबार राति पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका प्रहरी निरीक्षक वीरबहादुर सुनारले जानकारी दिए । भौगोलीक विकट्ताका कारण सदरमुकाम रुकुमकोट पुर्याउन ढिला भएकाले उनको भनाइ छ ।
विशेष सूचनाका आधारमा प्रहरी टोली परिचालन गरेर उनलाई पक्राउ गरिएको बताइएको छ । यस जिल्लाका उच्च लेकाली क्षेत्रमा अवैध रुपमा लागूऔषध अफिम र चरेस व्यापक उत्पादन हुने गरेको छ ।
पक्राउ परेकी सुनारविरुद्ध लागूऔषध ओसारपसार विरुद्धको मुद्दा दर्ता गरी जिल्ला अदालतबाट २० दिनको म्याद थप गरेर अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरी निरीक्षक सुनारले बताए ।
प्रतिक्रिया दिनुहोस !
