बँदेललाई थापेको पासोमा युवकको मृत्यु
राजविराज : बँदेल मार्न थापेको विद्युतीय धरापमा परी एक युवकको मृत्यु भएको छ। दुई साताअघि वेपत्ता भएका भनिएका सप्तरी कञ्चनरुप नगरपालिका–५ पिप्रा टोल बस्ने जनक मुखियाका २३ वर्षीय छोरा अजयकुमार मुखियाको बंदेल मार्न थापेको विद्युतीय धरापमा परी मृत्यु भएको बुधबारमात्र थाहा भएको प्रहरीले जनाएको छ। मुखियाको मृत्यु भएपछि उनकै साथीले नदी किनारमा खाडल खनी पुरेको प्रहरी अनुसन्धानबाट खुलेको हो।
मुखियासहित स्थानीय ५/६ जनाको समूहले कात्तिक १ गते साँझ खेत छेउको जंगलमा बंदेल मार्न विद्युतीय धराप थापेका थिए। धान खान आउने बँदेल मार्ने योजना बनाएर बँदेललाई लखेटी धरापतर्फ ल्याउने क्रममा मुखिया पासोमा परेको खुलासा भएको हो। पासोमा परी घाइते मुखियालाई सरदार परिवारले हत्या गरी शव लुकाउन खोजेको मृतक परिवारको आरोप छ। मृतकका काका हर्दिलाल मुखियाले भने, ‘विदेशबाट भर्खर आएका अजयलाई घरबाट बोलाएर हत्या गरिएको हो। उनको अनुहार जलाइएको तथा हात र पिठयु काटिएको अवस्थामा फेला परेको छ।’
घटनाबारे अनुसन्धान गरिरहेका इलाका प्रहरी कार्यालय कञ्चनरुपका डीएसपी मकेन्द्रकुमार मि श्रले मुखियाको शव नचिनियोस भनेर अनुहारमा पेट्रोल छर्किएर जलाइएको र शव नभेटियोस भनेर लुकाउन प्रयत्न गरिएको बताए। भवितव्य मृत्युपछि शव लुकाउने प्रयास मात्र गरिएको हो वा हत्या गरी शव लुकाउन खोजिएको बारे अनुसन्धान भइरहेको उनले बताए।
मुखियाको शवलाई सँगै गएका उनका साथीहरुले कञ्चनरुप नगरपालिका–५ स्थित त्रियुगा नदीको किनारमा खाडल खनेर पुरेपछि घटनालाई गुपचुप राखेका थिए। मुखिया हराएको खबर गाउँघर फैलँदै प्रहरीसमक्ष पुगेपछि प्रहरीले खोजतलास तथा अनुसन्धान शुरु गरेको थियो।
मृतककी श्रीमती मीनाले कात्तिक १ गते साँझ गाउँकै २४ वर्षीय बबरी भनिने रमेश सरदार र ४५ वर्षीय श्रीलाल सरदारसँग निक्लिएको र फर्केर नआएको प्रहरीलाई जानकारी दिएकी थिइन्। प्रहरीले मोबाइल लोकेशन ट्रयाक गरी उदयपुरको कटारीबाट श्रीलाललाई पक्राउ गरेपछि स्थानीय युवाको साथमा बँदेललाई पासो थाप्न गएको र सोही पासोमा परी मुखियाको मृत्यु भएको खुलेको डीएसपी मि श्रले बताए।
बिजुलीको धरापमा परी मृत्यु भएका मुखियाको शव खाडल खनेर पुरेको श्रीलालले स्विकारे। श्रीलालले बताएअनुसारको स्थानमा शव नभेटिए पनि झिंगा लागिरहेको खाडलमा मृतक र रमेशको ज्याकेटलगायत रौं, रगतको टाटा फेला परेको डीएसपी मि श्रले बताए। त्यसअघि कञ्चनरुप पथरीस्थित जर्नादन पोखरेलको खेतमा उनको साइकल र चप्पल फेला परेको थियो।
त्रियुगा नदीको आसपासमा कात्तिक ५ गते खोजतलास गरे पनि शव फेला नपरेपछि प्रहरीले सरदारको परिवारमाथि शंका ग¥यो। श्रीलालका छोरा १९ वर्षीय बिजय सरदारलाई सोधपुछ गर्दै जाँदा श्रीलाल पक्राउ परेपछि खाडल खनी पुरेको स्थानबाट निकाली बेग्लै स्थानमा पुरेको स्वीकारे। शवलाई कञ्चनरुप र सप्तकोशी नगरपालिकाको सिमामा पर्ने कमलदहस्थित त्रियुगा नदीको किनारबाट उत्खनन गरी निकालिएको छ।
प्रहरीले घटनामा संलग्न भएको आशंकामा श्रीलाल र उनको छोरा बिजयलाई पक्राउ गरेको छ। सप्तरीका एसपी कृष्ण प्रसाइले पक्राउ परेकालाई सोधपुछ पछि मृतकको शव उत्खनन् र पोष्टमार्टमलगायत अनुसन्धान शुरु गरिएको बताए। प्रसाइले पक्राउ परेका व्यक्तिले मुखियाको शवलाई खाडल खनी पुरेको स्वीकारे पनि घटनाको वास्तविकता के हो भन्ने बारे थपअनुसन्धान भइरहेको बताए। ‘पक्राउ परेका व्यक्तिले मुखियाको मृत्यु भएपछि खाडल खनेर पुरेको स्वीकारेका छन्, तर कसरी मृत्यु भयो भन्नेबारे अनुसन्धान भइरहेको छ’, एसपी कृष्ण प्रसाइले भने।