विद्युतीय सवारीको प्रतीतपत्रमै आशंका
काठमाडौं : सरकारले सात सय ४५ विद्युतीय सवारीसाधन आयात गर्न खोलिएका प्रतीतपत्रमा उल्लिखित विवरण (स्पेसिफिकेसन) जाँचबुझ सुरु गरेको छ। उत्पादक कम्पनीबाट आधिकारिक बिक्रेताको अनुमति नलिई विद्युतीय सवारी भित्रिन थालेपछि अर्थ मन्त्रालयले विद्युतीय सवारी आयातका लागि खोलिएका प्रतीतपत्रमाथि नै जाँचबुझ अघि बढाएको हो।
राष्ट्र बैंकको तथ्यांकअनुसार यस अवधिमा ३ हजार दुई सय ७ वटा विद्युतीय सवारीसाधन आयातका लागि प्रतीतपत्र खुलाएका छन्। १६ वटा वाणिज्य बैंकमा खोलिएको छ। ती मध्ये सात सय ४५ विद्युतीय सवारीसाधनको प्रक्रियामाथि नै अर्थ मन्त्रालयले शंका गरेको हो।
अर्थ मन्त्रालयले ती गाडी आयात गर्ने कम्पनीले प्रयोग गरेको प्रक्रियाबारे अध्ययन गरिरहेको हो। गत साउन २८ मा प्रिन्सा अटोमोटिभ प्रालिले १२ वटा गाडी सिर्सिया सुक्खा बन्दरगाह भन्सार कार्यालयबाट प्रवेश गराएको थियो। यद्यपि, आधिकारिक बिक्रेताको अनुमति नलिइ आयात गरेको पाइएपछि प्रिन्साको दोस्रो प्रयास असफल रह्यो।
विशेष अनुमति लिनुपर्ने
आधिकारिक बिक्रेता नबनेका कम्पनीले राष्ट्र बैंकसँग विद्युतीय सवारी भिœयाउन अनुमति मागिरहेको राष्ट्र बैंकको विदेशी विनिमय विभागकी प्रमुख सरिता भट्टले जानकारी दिइन्। त्यसरी अनुमति माग्नेमा अमेरिकी गाडी कम्पनी टेस्ला, बेलायती कम्पनी ज्यागुवारलगायत छन्।
उनले भनिन्, ‘भन्सार ऐनले आधिकारिक बिक्रेता कम्पनीले मात्रै गाडी आयात गर्न पाउने व्यवस्था छ। त्यसबाहेक विशेष अनुमति लिनुपर्ने अवस्था देखिएको छ। यसका लागि काम भइरहेको छ।’
नेपालमा नयाँ सवारीसाधन आयात गर्न दुईवटा प्रक्रिया छन्। निर्माता कम्पनीले नेपालमा कुनै कम्पनीलाई आधिकारिक बिक्रेता नियुक्त गरेर त्यसमार्फत सवारीसाधनको आयात गर्न सक्छन्। दोस्रोमा निर्माता कम्पनीले नेपालका लागि विदेशस्थित कम्पनीलाई आधिकारिक बिक्रेता तोक्ने अनि त्यही आधिकारिक बिक्रेताले नेपालमा नियुक्त गरेको आधिकारिक बिक्रेतामार्फत सवारीसाधन आयात गर्न मिल्छ।
अर्थ मन्त्रालयले विद्युतीय सवारीसाधन प्रयोगमा प्रोत्साहन गर्ने नीति लिइरहँदा यसको दुरुपयोग गरिरहेका छन्। पछिल्लो तीन महिनामा दुई हजार ८५ विद्युतीय सवारीसाधन आयात भएका छन्। गत आर्थिक वर्षको सोही अवधिमा एक हजार चार सय २० वटा विद्युतीय सवारीसाधन आयात भएका थिए। यद्यपि, अघिल्लो आवको सोही महिनामा ६ हजार ६ सय ३२ वटा विद्युतीय सवारी आयात भएका थिए।
चिनियाँ कम्पनीका विद्युतीय गाडी
प्रतीतपत्र खुलाउनेमा सबैभन्दा बढी चिनियाँ कम्पनीका गाडी छन्। दुई हजार पाँच सय ७ वटा गाडीका लागि प्रतीतपत्र खुलेका हुन्।
दक्षिण कोरियाली कम्पनीका ६ सय ९५ वटा गाडीका लागि प्रतीतपत्र खुलेका छन्। ६ वटा बेलायती कम्पनी ज्याग्वोरका गाडी छन्। बेल्जियमको कम्पनीका ३ वटा गाडी छन्।
जीप/कारको आयात घट्यो
पछिल्लो तीन वर्षको तुलनामा यस वर्षको पहिलो तीन महिनामा विद्युतीय कार÷जीपको आयात घटेको छ। गत आर्थिक वर्षको तीन महिनामा तीन सय ६१ वटा यस्ता गाडी आयात भएका थिए। यो आवमा एक सय ७६ वटा मात्र आयात भएका छन्।