मुग्लिन-पोखरा सडक चार लेनमा विस्तार : एडीबीको ऋण २१ अर्ब

मुग्लिन-पोखरा सडक चार लेनमा विस्तार : एडीबीको ऋण २१ अर्ब

काठमाडौं : एसियाली विकास बैंक (एडीबी)ले मुग्लिन-पोखरा सडक चार लेनमा विस्तार गर्न २१ अर्ब ५० करोड रुपैयाँ सहुलियत ऋण उपलब्ध गराउने भएको छ। दुई लेनको सडक चार लेनमा विस्तार गर्न लागिएको छ। एडीबीको सञ्चालक समितिले बुधबार सहुलियत ऋण अनुमोदन गरेको हो।

एडीबीको मुख्याल मनिलाबाट जेठ १३ मा उच्चस्तरीय टोली मुग्लिन-पोखरा सडकखण्ड निरीक्षण गर्न नेपाल आएको थियो। १५ दिनका लागि नेपाल भ्रमणमा आएको टोलीले मुग्लिन-पोखरा सडकको स्थलगत अनुगमन गरेको थियो। टोलीले बुझाएको प्रतिवेदनका आधारमा एडीबीले ऋणका लागि सहमति जनाएको हो।

सडक विभाग आयोजना निर्देशनालय (एडीबी) का उपआयोजना निर्देशक सुरेश पौडेलका अनुसार एसियाली राजमार्ग मापदण्डअनुरुप मुग्लिन-पोखरा सडक विस्तार गर्न एडीबीले सहुलियत ऋण उपलब्ध गराउन सहमति प्रदान गरेको जानकारी दिए। ‘सहुलियत ऋण उपलब्ध गराउन एडीबीले सहमति प्रदान गरेको छ’, पौडेलले भने, ‘एक महिनाभित्रमा एडीबी र नेपाल सरकारबीच ऋण सम्झौता हुनेछ।’ एडीबीले उलब्ध गराउने ऋण नेपाल सरकारले २५ वर्ष भित्र तिर्नुपर्छ। यसको ब्याज साढे एक प्रतिशत हुनेछ।

ऋण प्रक्रियाको टुंगो लागेसँगै आयोजनाले सडक विस्तार गर्न अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गर्ने प्रक्रिया पनि अघि बढाउन लागेको छ। अबको एक साताभित्र सडक विस्तारका लागि बोलपत्र आह्वान गरिने पौडेलले अन्नपूर्णलाई जानकारी दिए। मुग्लिन-पोखरा साढे ९३ किमि सडक दुई चरणमा विस्तार गरिनेछ। पहिलो चरणमा आबुखैरेनी-पोखरा र दोस्रो चरणमा मुग्लिन-आबुखैरनीको ठेक्का लगाइनेछ। मुग्लिन-आबुखैरनीको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माणाधीन अवस्थामा छ। आबुखैरनी-पोखराको डीपीआर तयार भइसकेको छ। डीपीआर तयार भइसकेको खण्डबाट निर्माण कार्य सुरु गर्न खोजिएको हो। यी दुवै खण्डको डीपीआरको जिम्मा कोरियाली परामर्शदाता एमएमएम ग्रुपले पाएको छ।

मुग्लिन-आबुखैरनी खण्डमा ६७ मेगावाट क्षमताको मस्याङदी जलविद्युत् गृह छ। हाल कायम भएको रेखांकनअनुसार सडक विस्तार गर्दा जलविद्युत् गृहमा क्षति पुग्ने थियो। जलविद्युत् गृहलाई बिना हानि सडक विस्तार गर्न आयोजनाले मस्याङदी नदीको दुवै किनाराबाट सडक निर्माण गर्ने गरी प्रारम्भिक डिजाइन गरेको थियो। सडकको रेखांकन परिवर्तन गर्न मन्त्रिपरिषद्बाट स्वीकृति लिनुपर्ने व्यवस्था छ। मन्त्रिपरिषद्ले २०७५ चैतमा रेखांकन परिवर्तन गर्न स्वीकृति प्रदान गरिसकेको छ। हाल यो खण्डको डीपीआर तयार हुँदै छ। डीपीआर सेप्टेम्बरसम्म तयार गर्ने आयोजनाको लक्ष्य छ।

आबुखैरनी-पोखरा सडकलाई भूगोल र जनघनत्वका आधारमा सडक चौडा बनाइनेछ। घनावस्ती भएको ठाउँमा सडकको चौडाइ ४१ मिटरसम्म हुनेछ। विस्तारित सडक दुवैतर्फ सात÷सात मिटरको हुनेछ। एउटा लेन साढे तीन मिटर हुन्छ। मुख्य सडक एक अर्काबाट छुट्याउन तीन मिटरको डिभाइडर निर्माण गरिनेछ। आकस्मिक अवस्थामा सवारी रोक्न साढे दुई मिटरको सोल्डर हुन्छ।

सडकको दुवैतर्फ ६-६ मिटरको सर्भिस लेन हुन्छ। ढल व्यवस्थापनका लागि दुवैतर्फ दुई मिटर छुट्याइएको हुन्छ। पैदल यात्रुका लागि एक-एक मिटरको फुटपाथ हुन्छ। सभिर्सलेन र मुख्य सडक छुट्याउन ०.७५ मिटरको पर्खाल हुन्छ। सहरी क्षेत्रमा पैदल यात्रु तथा सवारीको चाप धेरै हुने भएकाले सडक फराकिलो बनाउन खोजिएको हो।

खुला ठाउँ र पहाडी वस्ती भएको स्थनमा सडक १८ मिटरसम्म हुनेछ। यी स्थानमा सभिर्स लेन र ढल निर्माण गर्नु पर्ने भएकाले सडकको चौडाइ सानो हुने गरी डिजाइन गरिएको आयोजनाले जनाएको छ। यस्तै यो सडक खण्डमा पर्ने मादी र सेती नदिमा सिग्नेचर (आकर्षक) पुल पनि बनाउने आयोजनाको तयारी छ। सडक विभाग पुल महाशाखाले पनि मादी र सेतीमा सिग्नेचर पुल बनाउन अध्ययन गरिरहेको छ। सिग्नेचर पुल नेपालका लागि नवीन प्रविधि हो। आयोजना र महाशाखाको समन्वयनका आधारमा पुलको ढुंगो लगाइनेछ। त्यसैले सडक विस्तारको ठेक्का आहन गर्दा पुलका लागि मात्र बोलपत्र माग गरिने छैन। यो सडक विस्तारको जिम्मा पाउने ठेकेदारले पाँच वर्षसम्म सडक मर्मत सम्भार गर्नुपर्ने हुन्छ।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.