सप्तरीमा बस र ट्रक ठोक्किए, चालकको मृत्यु, २० यात्रु घाइते
राजविराज : सप्तरीको रूपनीमा बस र ट्रक ठोक्किदा चालकको मृत्यु भएको छ। शुक्रबार राति भएको दर्घटनामा २० जना यात्रु घाइते भएका छन्।
झापाको काँकडभिट्टाबाट भैरहवा जाँदै गरेको लु १ ख ८२१४ नम्बरको बस र विपरित दिशाबाट पूर्वतर्फ गइरहेको ना ८ ख ५९०३ नम्बरको ट्रक राति ११ बजे रूपनी गाउँपालिका-१स्थित पूर्व–पश्चिम राजमार्गमा ठोक्किएका थिए। दुर्घटनामा बस चालक स्याङ्जाका ४० वर्षे नोमराज न्यौपानेको उपचारका क्रममा मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ। गम्भीर घाइते न्यौपानेको उपचारका क्रममा राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा मृत्यु भएको डीएसपी तिलक भारतीले बताए।
सवारी दुर्घटनामा बुटबल–३ का ४२ वर्षे धनबहादुर शिरिष, नबलपुर काबासोती– ८ का ४८ वर्षे ढोलराज सुबेदी, रूपन्देही बेलबास– ३ का चन्द्र थापाको छोरा दुई वर्षे सोमराज थापा, झापा बिर्तामोड– ६ का २५ वर्षीय निर्मल खतिवडा, सोही ठाउँका १६ वर्षे गणेश खतिवडा र भारतको दार्जलिङ्गका २६ वर्षे प्रवेश गुरुङ गम्भीर घाइते भएका छन्।
घाइतेहरूको सप्तरीको रूपनी, राजविराज, मोरङ्गको विराटनगर र सुनसरीको धरानमा उपचार भइरहेको छ। ट्रक चालकलाई जिल्ला प्रहरी कार्यालय सप्तरीले नियन्त्रणमा लिएको छ।