सप्तरीमा छठ पूजा (तस्बिर)
राजविराज : सूर्य उपासना परम्पराको मोहक पद्धति मानिएको छठ पर्वको मुख्य षष्ठीका दिन शनिबार साँझ ब्रतालुले अस्ताउँदो सूर्यलाई अर्घ दिएका छन्।
राजधानीसहित तराईका जिल्लाको पोखरी, तलाउ, खोला, नदी, जलाशयमा पसेर ब्रतालुले अस्ताउँदो सूर्यको आराधना गर्दै अर्घ दिएका हुन् ।
छठ पर्वमा तयार पारिएको गहुँको पिठो र शख्खर मिश्रित ठेकुवा तथा भुसुवाको लड्डु, मौसमी फलफूल एवं तरकारीका साथ बाँसको कोनिया सजाइएको छ। घरमा पूजा गरेपछि ती सामग्रीलाई ढकियामा राखेर समूहबद्ध भएर परिवारका सम्पूर्ण सदस्यका साथ विभिन्न भक्ति एवम् लोकगीत गाउँदै निर्धारित जलाशय किनारमा पुगेका छन्।
शनिबार साँझ जलाशयमा उभिएका मुख्य ब्रतालुको हातमा पालैपालो परिवारका अन्य सदस्यले ती सामग्री राख्दै जल र दूधको अर्घका साथ सूर्यकै नारी रूप छठ परमेश्वरीलाई अर्पण गरेका छन्। राजविराजसहित सप्तरीको विभिन्न पोखरी, नदी जलाशयमा ब्रतालुले सन्ध्याकालीन अर्थात् अस्ताउन लागेको सूर्यलाई प्रसादस्वरुप अर्घ दिन पानीमा पसेर सूर्य अस्ताउन्जेलसम्म आराधना गरे।
राजविराजस्थित भगवती, तुरुन्ती र कल्टु दास पोखरीमा निर्मित छठ घाटमा ब्रतालुले भगवान सूर्य र छठी मातालाई अर्घ दिएर पूजा गरेका छन्।