झमकलाई बोक्न २१ टेक

झमकलाई बोक्न २१ टेक

काठमाडौं : साहित्यकार झमक घिमिरेको जीवनीमा बनेको फिल्म ‘जीवन काँडा कि फूल’ का कलाकारहरूले यसको छायांकनको अनुभव बाँडेका छन्। राजधानीमा आयोजित पत्रकार भेटघाटमा झमककी बहिनी मीनाको भूमिका निर्वाह गरेकी सारिका घिमिरेले झमकलाई बोकेर घरभित्रबाट बाहिर ल्याउने एउटा दृश्य छायांकन गर्न २१ टेक दिनु परेको अनुभव सुनाइन्। ‘वास्तविक पात्रकै अगाडि अभिनय गर्नुपर्दा निकै गाह्रो हुने रहेछ। बहिनीले बोकेको तरिका नमिलेको भन्दै झमकले दृश्य नस्वीकार्दा धेरै टेक खानु परेको थियो’, उनले भनिन्।

कात्तिक २२ बाट प्रदर्शनमा आउने फिल्मको निर्माण तथा निर्देशन विनोद विष्टले गरेका हुन्। निर्देशक विष्टले वास्तविक संघर्षको कथा भएकाले यो विषयमा फिल्म निर्माण गरेको बताए। ‘झमकले लेखेको पुस्तक जीवन काँडा कि फूलभन्दा एक इन्च पनि बाहिर गएर फिल्म बनेको छैन। पटकपटक यसको स्क्रिप्ट झमकले नै सम्पादन गर्नु भएको छ। उहाँले ओके भनेपछि मात्रै फ्लोरमा गएका हौं’, निर्देशक विष्टले भने, ‘१७ दिनमा धनकुटाको छायांकन सक्काएको थियौं।’

यो चलचित्रमा झमक सानो छँदाको भूमिकामा सिलगुडीकी अवस्था थापा र ठूला हुँदाको भूमिका काठमाडौंकी रोजिता बुद्धचार्यले अभिनय गरेका छन्। त्यस्तै झमकको बहिनीको भूमिकामा बालकलाकारमा स्वीकृति शर्मा र ठूलो हुँदा सारिका घिमिरेले अभिनय गरेका छन्।

बुवाको भूमिकामा किसन सुनार र आमाको भूमिका उमा गिरीले अभिनय गरेका छन्। झमककी आमा बन्दा निकै भावुक बनेकी उमाले भनिन्, ‘त्यो बेलाको समाजमा त्यस्ती छोरीकी आमा बन्दा भोग्नुपर्ने पीडा निकै मार्मिक थियो। छुच्ची आमाको रोल निर्वाह गर्नु निकै चुनौतीपूर्ण थियो।’ बावा बन्ने किसानले भने, ‘आफू वास्तविक जीवनमा बाबु नबने पनि अभिनय गर्ने क्रममा क्यारेक्टरमा डुब्दा साँच्चिकै बाबु बनेको अनुभूति भयो।’

फिल्ममा हजुरआमाको भूमिकामा मेनुका प्रधानलगायत ३० भन्दा बढी कलाकारको अभिनय रहेको छ। झमक घिमिरेको कथा, मुक्ति उपाध्याय बरालको पटकथा रहेको चलचित्रमा झमक र प्रकाश शिवाकोटीको गीत रहेको छ। प्रकाशकै संगीत रहेको गीतमा जुनु गौतम, सविता गजमेर, मीना निरौलाको स्वर रहेको छ भने नृत्य निर्देशक कमल राई रहेका छन्।

शिव ढकालको छायांकन, तारा थापा ‘किम्भे’ को सम्पादन, रीता बलामी र विमला तामाङको मेकअप रहेको यो चलचित्रको सहनिर्माता बद्री चौहान, उमेश सुवेदी र जुनु गौतम रहेका छन्।

चलचित्रलाई श्रीराम बालाजी टेली फिल्मका सुनील मानन्धरले वितरण गर्दैछन्। यसअघि चलचित्रका पोस्टर, गीत र ट्रेलर सार्वजनिक भइसकेका छन्। विष्टले यसअघि ‘प्रेम प्रतीक्षा’, ‘संग्राम’ र ‘म कसरी भनुँ’ जस्ता चलचित्र निर्माण र निर्देशन गरिसकेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.