ज्याला दुई पाथी अन्न
मुगु : छाँयानाथ–रारा नगरपालिका—४ का ३० वर्षीय गगन भियाल स्थानीयका औजार बनाउँछन्। वडा नम्बर १, ३ र ४ का क्षेत्री र ठकुरी समुदायका ५० बढी घरधुरीका घरयाँसी प्रयोगमा आउने काठ तथा छालाका सामग्री बनाउँछन्। उनले बनाएका औजारबाटै स्थानीयले कोदो, धान, जौ, गहुँ, सिमी लगायत अन्नबाली चुट्छन्।
परम्परागत रूपमा अंगाल्दै आएको पेसामा औजार बनाएवापत भियालले दिनभरको ज्याला दुई पाथी अन्न पाउँछन्। छाँयानाथ–रारा नगरपालिका—४ रोकायावाडामा १५ घरधुरी सार्की समुदाय बसोवास छ। यो समुदायको पुख्र्यौली पेसा भनेकै ब्राम्हण क्षेत्रीको अन्नबाली चुट्ने काठका औजार (जाललौरी) र छालाका सामग्री बनाउने हो।
वर्षमा दुईपटक चैत्र बैशाखमा जौ र गहुँ चुट्ने गरिन्छ। यस्तै असोजदेखि कात्तिकसम्म धान, कोदो सिमी लगायतका अन्नबाली चुट्ने समय हो। दिनभर लगाएर बनाएको ओजारको ज्याला बाजेकै पालादेखि जम्मा दुई पाथी अन्न दिँदै आएको भियालले बताए। ‘बाबु–बाजेले यही सीप सिकाए, अर्को काम आउँदैन’, उनले भने, ‘यसबाट बाहिर निस्कन पनि सकिँदै, मुस्किलले दिनभरीको ज्याला दुई पाथी अन्न लिन्छन्। सम्पूर्ण परिवार यसैबाट पाल्नुपर्छ।’
केही समय पहिला आफ्नो बाबुले ठकुरी÷ब्राम्हणको घरमा मरेका पशुवस्तु गाड्ने कामसम्म गरेको उनी बताउँछन्। ‘पहिले पशुको शव नगाडे त्यही दुई पाथी अन्न पनि पाइँदैनथ्यो, हाम्रा पालादेखि त्यो काम छोड्यौं’, अर्का स्थानीय धनबहादुर भियालले भने, ‘हामीले काम नै नगर्ने अडान लिएपछि शव गाड्न बाध्य बनाइएन, परिवार र समाजको दवावले अहिले पनि दिनभरीको ज्याला अन्न लिने गरेका हौं।’
यी १४ परिवार सार्की समुदायको पर्याप्त जग्गा पनि छैन। उनले थपे, ‘ज्याला मजदुरी गरेर परिवार पालेका छौं।’ चैत्र, बैशाख र असोजदेखि कात्तिकसम्म चार महिना छाँयानाथ रारा नगरपालिका—१ छत्तेलवाडा, ३ को भामवाडा र ४ को चैना गाउँका ५ सय अन्य जातिका परिवारको अन्नय चुट्ने औजार बनाउँदै दिन बित्ने गरेको ६८ वर्षीय बुधे भियालले बताए। यस समुदायका अधिकांश युवा काठ र घर निर्माणमा सिपालु छन्।
काठको काम गर्ने र घर बनाउने युवाले दैनिक ९ सयदेखि एकहजार दुई सय सम्म ज्याला लिन्छन्। महिलाहरू भने गमगढी बजारका व्यापारीको सामान बोकेर ५ सय देखि एक हजारसम्म दैनिक ज्याला पाउँछन्। तर अन्न भिœयाउने समयमा भने कथित माथिल्लो जातिका अन्न चुट्ने सामग्री बनाउन र खेतमा काम गर्न जान्छन्। काममा नगए गाली गर्ने र त्यही दुई पाथी अन्न पनि नदिने गरेको महिलाहरूको गुनासो छ। स्थानीय प्रचलनमा खलोप्रथा भनिन्छ। स्थानीय खलो प्रथाअनुसार दलित समुदायका युवाहरू अन्नबाली भिœयाउने समयमा अनिवार्य माथिल्लो जातका घरमा काम गर्न जाने गर्छन्। त्यहीवापत् अन्न दिने गरेको स्थानीय दलित बताउँछन्।