सीमाको पीडामा तराईबासी, साढे चार सय सीमा स्तम्भ गायब
राजविराज : ‘सीमा मिचिँदै आएको छ। दसगजा क्षेत्रमा भारतीय पक्षले खेती लगाउँदै आएको छ’, छिन्नमस्ता गाउँपालिका–४ लालापट्टीका १०३ वर्षीय टुनटुन यादवले भने, ‘भारतले अनेकौं पटक सीमा मिचेको पीडा भोगेको छु।’
दसगजा क्षेत्रमा भारतीयले खुलेआम खेती गरिरहेको उनले बताए। यादवले भने, ‘म एक–एक गरेर सीमा मिचेको ठाउँ देखाइदिन सक्छु।’ त्रियुगा खोलाले अनेकौं पटक धार परिवर्तन गरेसँगै सीमा रक्षाका लागि नेपालीले रगत बगाएको पूर्व गाविस अध्यक्षसमेत रहेका यादवले स्मरण गरे। बेलाबेलामा खोलाले धार फेरेसँगै सीमा पनि वरपर हुने गरेको उनको भनाइ छ। त्यसैको बहानामा भारतीय पक्षबाट पिलर सार्ने र गायब पार्ने काम हुन्छ।
अन्तर्राष्ट्रिय सीमा नियमअनुसार दसगजा क्षेत्रमा दुवै देशका नागरिकले कुनै गतिविधि गर्न पाउँदैन। तर नेपाल र भारत सीमाको दसजगा क्षेत्रमा भारतीय पक्षले खुलेआम बसोबास गर्ने र खेती लगाउँदै आएको ७६ वर्षीय धर्मनारायण यादवको दाबी छ। आफ्नो पोखरी रहेको क्षेत्र देखाउँदै ७६ वर्षीय धर्मनारायण यादव र ७३ वर्षीय बमभोली राउत।
सप्तरीमा पूर्व कोसी नदीदेखि पश्चिम बलान खोलासम्म भारतसँग जोडिएको नेपाली सीमाको ७८ किलोमिटर लम्बाइ छ। सखडा, लालापट्टी, तिलाठी कोइलाडी, बेल्ही, गोबरगाढा, रामनगर कोदरकट्टीलगायत १२ स्थानमा भारतीयले खेतीपाती गरेका छन्।
छिन्नमस्ता गाउँपालिका–४ का वडा अध्यक्ष रामनन्दन पण्डितका अनुसार सयौं भारतीयले लालापट्टी र छिन्नमस्ताको ५० बिघामा खेती गरिरहेका छन्। ‘म सानो हुँदा र अहिलेको सीमामा धेरै फरक छ’, उनले भने। भारतीय प्रहरी, प्रशासनले सीमा मिच्दै साना पिलर उखेलेर फ्याँक्ने र नेपालको भूभागतर्फ सार्ने गरेको उनले बताए। गाउँलेले प्रहरी प्रशासनमा गुनासो गरे पनि सुनुवाइ नभएको उनको भनाइ छ।पुरानो ठाउँबाट सारेर गाडिएको नयाँ स्तम्भबारे जानकारी दिँदै छिन्नमस्ता गाउँपालिका–४ का वडा अध्यक्ष रामनन्दन पण्डित।
सशस्त्र प्रहरी बल ६ नम्बर गणका सशस्त्र एसपी उद्धव न्यौपानेले १२ स्थानमा भारतीयबाट दसगजा क्षेत्र अतिक्रमण गरेर खेती गरिएको र झुप्रा लगाइएको बताए।
लालापट्टीस्थित झोलुंगे पुल दक्षिण रहेको तीनकुने सीमास्तम्भ गायब पारिएको ६१ वर्षीय रामनारायण यादवले बताए। सप्तरीमा ठूला, मझौला र साना गरी ६ सय ५० मध्ये चार सय ४८ वटा सीमा स्तम्भ गायब छन्। कोसी नदीमा रहेको २१२ नम्बरको स्तम्भ नदेखिएको र पश्चिम बलान खोलामा रहेको २४५/१ र २४५/२ नम्बरको स्तम्भ नरहेको एसपी न्यौपानेले जानकारी दिए। गत वर्ष फेला परेको २०२ मध्ये पातो र रामनगर कोदरकट्टीमा रहेको दुई वटा स्तम्भ हराएको उनले बताए।
अवकाशप्राप्त शिक्षक ७० वर्षीय दुर्गाप्रसाद यादवका अनुसार अन्तर्राष्ट्रिय सीमा मान्यताअनुसार दसगजामा कुनै गतिविधि गर्न पाइँदैन। ३० वर्षअगाडि बाढीले कटान गरेपछि आफ्नो खेतमा आएर भारतीयले गाडेको स्तम्भ उतिबेलै हटाउन लगाएको उनले जानकारी दिए।
नेपाली भूभागमा शवदाह गृह बनाउनसमेत रोक लगाउने भारतीय सशस्त्र प्रहरी बलले बर्सेनि अतिक्रमण गरेर खेती गरिरहेका भारतीयलाई भने नरोकेको छिन्नमस्ता गाउँपालिका–४ का सदस्य वीरेन्द्र यादवको गुनासो छ।
सीमा सुरक्षा बल सुपौलका प्रमुख हरिकृष्ण गुप्ताका अनुसार दसगजा क्षेत्र खाली गर्न भारतीयलाई एकमहिने अल्टिमेटम दिए पनि उनीहरुले उठाउन मानेका छैनन्। खेती गरिरहेका भारतीयलाई आफूहरुले केही ठाउँबाट हटाएको र बाँकीमा प्रयास भइरहेको भन्दै गुप्ताले दसगजा क्षेत्र खाली गर्न नेपाली पक्षसँग पनि आग्रह गरे।
दसगजा क्षेत्र मिचेको विषयमा बेलाबेलामा नागरिकबीच विवाद हुँदै आएको छ। भारतीय पक्षले दसगजा क्षेत्र अतिक्रमण गरी नेपाली भूमि डुबानमा पार्ने गरी बाँध बनाउन खोज्दा तिलाठीवासीले ०७३ साउन १४ गते बाँध निर्माण रोकेका थिए।
भारतीयसँगको उक्त भिडन्तमा घाइते भएका तिलाठी कोइलाडी गाउँपालिका–१ का देवनारायण यादवले वर्षांैदेखि रहेको विवाद समाधान गर्नुपर्ने बताए। लालापट्टी घर भएका पूर्वसिँचाइमन्त्री उमेश यादवले तथ्य र प्रमाणका आधारमा सरकारले कुटनीतिक पहलद्वारा समस्या समाधान गर्नुपर्नेमा जोड दिए।