सांसदहरूको उदासीनता

सांसदहरूको उदासीनता

ठूला चाडबाडको बिदाइपछि मुलुक सामान्य अवस्थामा फर्किसकेको छ । सरकारी अड्डादेखि सडकसम्म चाप बढिसकेको छ । तर जनप्रतिनिधिहरू भने अझै मूल काममा फर्किएका छैनन् । संसद् अधिवेशन चालु नरहेको अवस्थामा संसदीय समिति (मिनी पार्लियामेन्ट) का बैठक बसेर जनजीविका र जनसरोकारका विषयमा गहन छलफल गर्नुपर्नेमा सांसदहरू ‘बेपत्ता’ छन् ।

 भारतले कालापानी, लिपुलेकलगायतका नेपाली भूमि मिचेर एकतर्फी नक्सा सार्वजनिक गरेपछि त्यस विषयमा छलफल गर्न बुधबार राज्य व्यवस्था समितिको बैठक बस्यो । 

बल्लबल्ल कोरम पुगेर त्यस विषयमा प्रधानमन्त्रीसँग छलफल गर्ने निष्कर्षमा समितिमा पुग्यो । धानमा बाला नलागेपछि दसैंको मुखमा धानबालीमा आगो लगाएका कृषकका समस्याबारे छलफल गर्न बोलाइएको कृषि समितिमा कोरम नै पुगेन । ६ महिनादेखि गोप्य छाप लगाएर प्रतिवेदन लुकाएको अन्तर्राष्ट्रिय सम्बन्ध समिति नेपाली भूमि भारतले मिच्दा पनि छलफलमा जुट्न सकेको छैन । नेपाली भूमि मिचिँदा पनि सरकारको धारणा, प्रयास र पहलबारे जनताले जान्न पाउने संसदीय समितिका बैठक नै नबस्दा सर्वत्र अन्योल छ ।

छिमेकी भारतले नेपालको सीमा मिचेर एकतर्फी नक्सा सार्वजनिक गर्दा पनि जनप्रतिनिधि मौन छन् । एकाध ठाउँमा भाषणबाहेक जनप्रतिनिधिहरूले आफ्नै देशको सीमारक्षाका लागि गहन छलफलसमेत गरेका छैनन्, जुन उदेकलाग्दो छ । राष्ट्रिय सरोकार, अखण्डता र सार्वभौमिकताबारे छलफल गर्ने थलो भनेकै जनप्रतिनिधि रहेको संसद् हो । तर, संसदीय समितिहरूको ‘रहस्यमय’ मौनता र उदासीनताबारे प्रश्न उठ्नु स्वाभाविक हो । 

जनजीविकाका प्रश्नदेखि मुलुकको अखण्डता र सार्वभौमिकताका विषयमा छलफल गर्ने स्थल नै चुप बस्दा सर्वसाधारण मात्र सडकमा उफ्रिँदैमा निकास निस्कन सक्दैन । भारतीय कदमविरुद्ध सत्तासीन दलका युवा विद्यार्थी सडक तताइरहेका छन् । सरकारले भारतले सार्वजनिक गरेको नक्सालाई मान्यता नदिने बताइसकेको छ । जनस्तरबाट भारतको कदमको व्यापक विरोध छ, तर संसदीय समिति मौन छन् । संसद्को राज्य व्यवस्था समितिले प्रधानमन्त्रीसँग छलफल गर्ने तय गरे पनि अरू सांसदहरूको भूमिका प्रभावकारी देखिएको छैन। 

छिमेकी भारतसँग सम्बन्धमा चिसोपना आउन नदिई कूटनीतिक रूपमा समस्या समाधानका लागि आवश्यक निर्देशन र सुझाव दिनुपर्ने हो, संसदीय समितिहरूले । चाडबाडमा जनताले भोगेका समस्या, बढ्दो सवारी दुर्घटना, महँगीलगायत अहिले सर्वसाधारणका मुख्य सरोकारका विषय हुन् । तर यिनमा गहन छलफल गरी सरकारलाई आवश्यक निर्देशन दिने र जनजीवन सहज बनाउनेतर्फ सांसद र संसदीय समितिको ध्यान पटक्कै गएको छैन ।

संसद् अधिवेशन नभएका बेला पनि संसदीय समितिले जनसरोकारका विषयमा छलफल गर्न सक्छन् । ‘मिनी पार्लियामेन्ट’ मानिने संसदीय समितिमै मसिनो र गहन ढंगले विषयवस्तुमाथि छलफल हुने गर्छ । तर सांसदहरूले भत्ता पकाउने उद्देश्यले मात्र भूमिका निर्वाह गरेका हुन् कि भन्ने आभाष भइरहेको छ ।

अर्कातर्फ जनप्रतिनिधिहरू एकपछि अर्को अपराधमा मुछिँदै जानुले संसद्को गरिमा र महत्व घट्दै गएको छ । सत्ताको बलमा जे पनि गर्न सकिन्छ भन्ने दम्भ, अहंकार र घमण्डका कारण यौन दुव्र्यवहारदेखि फौजदारी अभियोगमा भटाभट सांसदहरू पक्राउ पर्न थालेका छन् । यसले सांसद मात्र होइन, सिंगो व्यवस्था नै बद्नाम हुने खतरा देखिँदै छ । विगतमा पनि सुत्केरी भत्ता, पजेरो काण्ड, सांसद खरिदबिक्रीकै कारण संसदीय व्यवस्थाप्रति आम जनताका घृणा उत्पन्न भई निरंकुशतालाई मलजल पुगेको थियो । संसदीय व्यवस्थामा चुनाव जित्नु र हार्नु सामान्य प्रक्रिया हो ।

 सत्तामा जानेले जनअपेक्षाअनुसार काम नगरे अर्को चुनावमा विपक्षीलाई जनताले मत दिन सक्छन् । तर व्यवस्थाप्रति नै जनतामा वितृष्णा उत्पन्न हुने कामका सत्तापक्ष र प्रतिपक्ष दुवै मुछिनु भनेको लोकतन्त्रका लागि शुभसंकेत मान्न सकिन्न । बढ्दो महँगी, अराजकता, विकासको धिमा गतिसँगै जनप्रतिनिधिहरू नै ठूलाठूला अपराधमा मुछिनु र जनतामा निराशा उत्पन्न हुँदै जानुले राजनीतिक दल र सांसदहरू बेलैमा सचेत बन्नैपर्छ ।

संसद्लाई प्रभावकारी र जीवन्त बनाउने काम सांसदहरूको हो । सांसदहरूले व्यक्तिगतदेखि संसदीय समितिहरूले सामूहिक रूपमा जनताका पक्षमा गर्ने निर्णय र कामले नै संसद्को प्रभावकारिता बढाउने हो । तर सांसदहरू मुख्य काम छाडेर सरुवा र बढुवाका फाइल बोक्दै मन्त्रालयहरूमा धर्ना दिने, ससाना आयोजनामा पनि ‘कमिसन’ खोज्ने र चार करोड बजेट विनियोजनमा मात्र सीमित हुनेजस्ता कार्यले संसद्प्रति अविश्वास बढ्दै जान्छ । जनप्रतिनिधिहरूले जनताका पक्षमा प्रभावकारी काम गरेको दिन मात्र तिनको गरिमा र उचाइ पनि बढ्न जान्छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.