आज किरात धर्मगुरु फाल्गुनन्दको जन्मजयन्ती : विभिन्न कार्यक्रम गरी मनाइँदै

आज किरात धर्मगुरु फाल्गुनन्दको जन्मजयन्ती : विभिन्न कार्यक्रम गरी मनाइँदै

ताप्लेजुङ : किरात धर्माबलम्वीले सोमबार धुमधामका साथ धर्मगुरु फाल्गुनन्द लिङ्देनको जन्मजयन्ती मनाइरहेका छन् । ताप्लेजुङ, पाँचथर, इलाम, झापा, तेह्रथुमसहित प्रदेश १ का अघिकांश जिल्लामा कार्यक्रम भइरहेको छ। 

सोमबार विभिन्न जिल्लामा किरात धर्म तथा साहित्य उत्थान संघको आयोजनामा विभिन्न कार्यक्रम भइरहेका छन् । संघका ताप्लेजुङ सचिव ज्ञानु फुरुम्बो लिम्बूका अनुसार फुङलिङ नगरपालिकाको काहुलेस्थित किराँत हाङसाम माङहिममा (मन्दिर) शुभकामना आदानप्रदान तथा महागुरुको जीवनीबारे अन्तरक्रियाको आयोजना गरिएको छ । 

त्यसअघि फुङलिङ बजारमा जातिय झाँकीसहितको र्‍याली निकालिएको छ। संघले आइतबार कविता प्रतियोगिता गरेको थियो । इलामको माङसेवुङसहित विभिन्न स्थानमा कार्यक्रम भइरहेका छन् । तेह्रथुममा पनि कार्यक्रम भइरहेको छ। 

१९ स्थानीय तहमा विदा

नेपालका १६ औं राष्ट्रिय विभूति तथा समाज सुधार महागुरु फाल्गुनन्द लिङ्देनको जन्मजयन्तीको अवसर पारेर प्रदेश १ का १९ तहले विदा दिएका छन् । फाल्गुनन्दको १ सय ३५ औं जन्मजयन्तीमा लिम्बू जातिको बाहुल्य रहेका तहले सोमबार सार्वजनिक विदा दिएका हुन् । ताप्लेजुङको फुङलिङ नगरपालिकासहित मेरिङ्देन, फक्ताङलुङ, सिदिङ्वा र आठराई त्रिवेणी गाउँपालिका, पाँचथरको फिदिम नगरपालिका, फल्गुनन्द, हिालिहाङ र मिक्लाजुङ गाउँपालिकाले सार्वजनिक विदा दिएको बताएका छन् । 

त्यस्तै विदा दिनेमा झापाको दमक र सिवसतासी नगरपालिका, कमल गाउँपालिका र बुद्धशान्ती गाउँपालिका पनि छन् । उता इलामका पनि ४ तहले विदा दिने निर्णय गरेका छन् । 

चुलाचुली, फाकफोकथुम र फाल्गुनन्दको जन्मस्थान रहेको माङ्सेवुङ गाउँपालिका तथा माई नगरपालिकामा सोमबार सार्वजनिक विदा छ । गाउँ कार्यपालिकाको बैठकले बिदा दिने निर्णय गरेको गाउँपालिका प्रमुख सरोज एभेङ लिम्बुले बताए । 'विसं १९९३ मा महागुरु फाल्गुनन्दले तपस्या गरेको ठाउँ फक्ताङलुङ हाम्रै गाउँपालिकामा पर्छ, सोहि अनुसार गाउँपालिकाको नाम पनि राखेका छौं, एभेङले भने, 'गत वर्षदेखि विदा दिन थालेका हौं ।'
 
आफ्नो अधिकारको प्रयोग गर्दै नगरपालिकाले दुई वर्षअघिदेखि नै फाल्गुनन्द जयन्तीको दिन विदा दिन थालेको फुङलिङ नगरपालिकाका मेयर छत्रपति प्याकुरेलले बताए । 'यो सबै धर्मको सम्मान हो,' मेयर प्याकुरेलले भने, 'स्थानीय सरकारले सबै धर्म र जातिको सम्मानका लागि सार्वजनिक विदा दिने निर्णय गरेको हो।'
  
गत वर्षको नगरसभाबाटै सार्वजनिक बिदा दिने निर्णय गरिएको दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीले जानकारी दिए । 'फाल्गुनन्दले विकास गरेको किराँती संस्कृति हाम्रो सम्पति हो,' ओलीले भने, 'त्यसैले प्रत्येक वर्ष विदा दिन्छौं।'
 
संविधानको संविधानको अनुसूची ८ बमोजिम प्राप्त एकल अधिकारको प्रयोग गर्दै विदा दिएको फल्गुनन्द गाउँपालिकाका निमित्त अध्यक्ष दवित्रादेवी आङ्देम्बेले बताइन् । तेह्रथुमको फेदाप गाउँपालिकाले पनि आइतबार सार्वजनिक विदा दियो । सभ्यता र संस्कृतिको सम्मानमा प्रदेश सरकारले नै विदा दिनुपर्ने किराँत धर्म तथा साहित्य उत्थान संघ तेह्रथुमका अध्यक्ष राजकुमार लिम्बुको भनाई छ । 'प्रदेश सरकारले आफ्नो भाषा, संस्कृतिको संरक्षण र विकासमा चासो नदिनु दुःखद हो,' उनले भने ।  

स्थानीय सरकार संचालन ऐन २०७४ मा भाषा, संस्कृति र ललित कलाको संरक्षण र विकासका लागि स्थानीय सरकारले विभिन्न कार्यक्रमहरु गर्न सक्ने व्यवस्था छ । सोहि अनुसार स्थानीय स्तरमा प्रचलित किराँत धर्मका धर्म गुरुको जन्मजवन्तिका दिन विदा दिइएको आठराई त्रिवेणी गाउँपालिका अध्यक्ष विश्वनाथ सिटौलाले बताए। 

इलामको माङसेवुङ गाउँपालिका फाल्गुनन्दको जन्मस्थान, फाकफोकथुम आश्रम बनाएर बसेको र देउमाई नगरपालिका ज्ञान हासिल गरेको स्थान हुन् । पूर्वको लिम्बुवानी समाजकका सुधारक, मुन्धुम (किराँत वेद) को संरक्षण कर्ता तथा धार्मिक अगुवाका रुपमा फाल्गुनन्द लिङ्देनलाई चिनिन्छ । विंस १९४२ साल कातिक २५ गते इलामको माङ्स्वुङमा फाल्गुनन्दको जन्म भएको थियो । 

किराँती संस्कृतिको सुधारका लागि महत्वपूर्ण भूमिका खेलेको भन्दै नेपाल सरकारले २०६६ साल मंसिर १६ गते उनलाई विभूति घोषणा गरेको थियो । फुल्गुनन्दको मृत्यु २००५ साल चैत २२ गते ६६ वर्षको उमेरमा पाँचथरको इम्वुङमा भएको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.