दाजुभाइको सुस्वास्थ्य र दीर्घायुको कामना गर्दै समाचकेवा सम्पन्न
राजविराज : स्त्रीहरूको संगठित प्रतिरोध, चेलीबेटी र माइतिबीचको अटुट प्रेम तथा घुसघुसे एवं कुरौटे (चुगला) हरूलाई सजाय दिने सन्देश बोकेको 'समा-चकेवा' पर्व सम्पन्न भएको छ। समा चकेवा पर्वको महत्वपूर्ण पात्र पानिने चुगलाको खराब छविलाई दर्शाउँदै कुटपिट गरेर चुगलाको कृतिम दाह्री, जुंगा जलाएर समा चकेवा बिसर्जन गरिएको हो ।
राजविराजको भगवती पोखरी, कल्टु दास पोखरी, तुरुन्ती पोखरी, बाबा पोखरीलगायत सप्तरीको विभिन्न पोखरीमा गीत गाउँदै पुगेका महिलाले असत्य, पाप र असामाजिक तत्वको प्रतीकको रूपमा रहेको चुक्ली लगाउने पात्र चुगलाको जीउमा आगो लगाएर पोखरीमा बिसर्जन गरे।
कात्तिक शुक्ल द्वितीयाबाट सुरु भएको यो पर्वका अवसरमा सोही दिनदेखि रातको समयमा माटोले बनाइएका मूर्तिसहित लोकगीत गाएर पूजा गर्ने र चुगलाको मूर्तिमा टाँसिएको कृतिम दाह्री जुँघा एक-एक गरी जलाउँदै आएकोमा पूर्णिमाको राति कुटपिट गर्दै सम्पूर्ण रुपमा चुगलालाई जलाएर बिसर्जन गरिएको राजविराज १ की नम्रता राजले बताइन् ।
परिवारका साथ राजविराजस्थित भगवती पोखरी पुगेकी नम्रता राजले समाचकेवा पर्वले चुगलाको रुपमा समाजमा रहेका असत्य, पाप र असामाजिक तत्वलाई नाश गर्नुपर्ने सन्देश दिएको बताइन् ।
पूर्णिमाको तिथि मंगलबार बिहानसम्म मात्र भएको भन्दै कतिपयले सोमबार मध्यराति नै गीत गाउँदै चौंवाटोमा भेला भई पोखरीमा पुगेर समाचकेवा बिसर्जन गरे भने कतिपयले मंगलबार बिसर्जन गरेका छन् । गीतमा आफ्ना दाजुभाइको प्रशंसा तथा चुक्ली लगाउने पात्रलाई गाली गरिएको छ ।
रंगरोगनले सजाई डालामा ल्याइएको समाचकेवालाई दाजुभाइको घुँडामा फुटाउन लगाएर तथा चुगलाको प्रतिक कुचो र बृंदावनको प्रतिक झारपातमा आगो लगाएर दिदीबहिनीले यो पर्व समापन गरेको राजविराजकी रमिला साहले बताएकी छिन् ।
बाबा पोखरीमा पुगेकी साहका अनुसार माटाले बनाइएको समा, चकेवा र अन्य भाँचिएका मूर्तिलाई गाउँनजीकैको खोला, पोखरी वा तलाउमा बिसर्जित गरियो भने चुगलाको मूर्तिलाई फोहोर ठाउँमा फ्यालियो ।
समाचकेवा फुटाएर दिदीबहिनीले दाजुभाइलाई च्युरा, भुसबा, गुँडको प्रसाद दिए भने दाजुभाइले नगदसहित उपहार दिए । पौराणिक कथा अनुसार एकहोरो प्रेम गर्ने चुडकले चुगली (पोल) लगाइ दिएका कारण कृष्णको श्रापले पक्षी बनेका शाम्बा र चारुवाकलाई शाम्बाका दाजु शाम्बले कठोर तपस्या गरी पक्षी योनीबाट मुक्त गराएको सम्झनास्वरुप द्वापर युगबाटै उत्सव मनाउन थालिएको बैष्णव काली मन्दिर राजविराजका पुरोहित राजिब झाले बताए ।
झाका अनुसार चुडकले झुठो पोल लगाएर शाम्बा र चारुवाकको जोडीलाई श्राप दिलाएको वास्तविकता पत्ता लागेपछि उनलाई देश निकाला गरिएको थियो। दाजुको तपस्याकै बलमा पक्षीयोनीबाट मुक्ति पाएकोले दिदीबहिनीले आफ्नो दाजुभाइको सुस्वास्थ्य र दीर्घायुको कामना गर्दै मनाइने समाचकेवा पर्व आत्मीय प्रेमको प्रतीक समेत रहेको राजविराज ६ की रन्जु साहले बताइन् ।
क्रमशः शाम्बालाई सामा र चारुवाकलाई चकेवा तथा चुडकलाई चुगला भन्न थालिएको हो । द्वापरयुगमा मनाएको पौराणिक कथनअनुसारको चलन कालान्तरमा दाजु र बहिनीको प्रेम र सद्भावको मौलिक पर्वमा रुपान्तरित बनेको जानकारको भनाइ छ ।
सप्तरीको राजविराजस्थित भगवती मन्दिरको पोखरीमा दाजुको घुँडामा समाचकेवाको माटाको मूर्ति फुटाउँदै सप्तरीको राजविराज नगरपालिका १ की नम्रता राज।