तपाईँहरू मज्जाले गरिखानुहोस्, हामी निर्धक्क घृणा गर्छौँ
रौतहटबाट प्रत्यक्ष निर्वाचित प्रतिनिधिसभा सांसद मोहमद अफताब आलम १२ वर्ष अगाडी गरेको एक जघन्य अपराधको कसुरमा छानबिनका क्रममा छन्। उनका कर्तुतहरू एकपछि अर्को गरी बाहिरीरहेका छन्। उनले गरेका कुकर्मबारे कल्पना गर्दा पनि आङ् सिरिङ्ग हुन्छ। त्यस्तो जघन्य अपराधलाई सत्ता र गुण्डागर्दीको बलमा यतिका वर्षसम्म छिपाएर राखे। त्यति मात्रै नभएर अपराधविरुद्ध आवाज उठाउने पीडितको हत्या नै गर्न लगाए।
साच्चै भन्नुपर्दा आलमले जुन हदको अपराध गरेका छन् । त्यसअनुसार उनका लागि उचित दण्डको व्यवस्था नेपालको कानुनमै छैन । के कुनै स्वार्थ नभइकन आलमलाई बचाउनु पर्छ भनी कसैको आत्माबाट निस्केला?
अहिले जिल्ला अदालत रौतहटमा आलम दोषी हुन् की होइनन् भनी बहस चलिरहेको छ । दशकौंदेखि आफ्नो क्षेत्रमा रवाफ चलाउँदै आएका पटक-पटक मन्त्री सांसद भएका सम्पन्न आलम नतिजा आफ्नो पक्षमा पार्न जति पनि खर्च गर्न सक्ने हैसियत राख्छन् । उनको पक्षमा वकालत गर्न लाइनमा बसेका बरिष्ठ अधिवक्ता, अधिवक्ताहरूको लर्कोले यो कुरा प्रष्टै पारको छ।
हेर्दा सामान्य नै लाग्छ। वकिलको पेशा हो वकालत गर्नु । आफ्ना पक्षका (वादी, प्रतिवादी)को संरक्षण गर्नु, उनीहरूलाई सकेसम्म बचाउनु । रौतहट पुगेर आलमलाई बचाउन डटिरहेका नेपालका नाम चलेका बरिष्ठ अभिवक्ता ज्यूहरूप्रति व्यापक आलोचना हुँदा उहाँहरूले आफ्नो व्यवसाय गर्न नपाउने भनी प्रतिरक्षा गरिरहेका छन् । कानुनीरुपमा हेर्दा यो सामान्यै हो।
जिउँदै मान्छेलाई इँटा भट्टामा जलाउने आलम निर्दोष हुन भनी न्याय क्षेत्रका हस्ती मानिएका व्यक्तिले दलील पेश गरिरहँदा .......लाईभन्दा देख्नेलाई लाज भनेझैं लाग्दोरहेछ। सम्पत्ति, सत्ता, गुण्डागर्दी सबै क्षेत्रमा सर्वशक्तिमान रहेका व्यक्तिलाई वर्षौंदेखि न्याय खोजिरहेका मृतकका निरीह परिवारले पूर्वाग्रह साँध्न फसाउन खोजे भन्ने उहाँहरूको तर्क सुन्दा आफैंलाई अप्ठेरो लागेको महसुस हुँदोरहेछ।
नुन खाइसकेपछि अहिले उहाँहरूको कर्तव्य आलमलाई जसरी हुन्छ बचाउनु हो। अक्ष्यम्य अपराध गरेका अभियुक्तलाई उन्मुक्ति दिने प्रमाण जुटाउन दिनरात जुटिरहनु पर्ने उहाँहरूको व्यवसायिक दसा देख्दा कठै ! भन्नु कि छ्या ! भन्नु ? मन दुविधामा परेको छ।
थाहा छ यो सामान्य विषय हो । यो मुद्दामा आलम वकिलहरूका ग्राहक हुन् । व्यवसायिक धर्ममा ग्राहक भनेका अन्नपानी दाता हुन, भगवान सरह हुन् ।आफ्ना अन्नपानी दाताको रक्षा गर्नु जो कोहीको स्वभाविक कर्तव्य नै हो। तर के गर्नु आलमको अपराध सम्झिँदै मनमा बेचैनी हुन्छ । आक्रोश र घृणाको वर्षा हुन थाल्छ। जति बुझाए पनि मान्दैन यो ‘मान्छे मन’। अनि उनलाई बचाउन लाइन लागेका कसैप्रति कसरी सकारात्मक बन्नु खै?
सोचिरहेको छु ‘उहाँहरूभित्र पनि ‘मान्छे मन’ नै छ। त्यो विभत्स घटनाको कल्पना गर्दा उहाँहरूको मनमा पनि बेचैन हुँदो हो की नहुँदो हो ? आलमलाई बचाउन थप मिथ्या प्रमाण कसरी दाखिला गर्ने भनी कल्पँदै विस्तारामा निदाउँदा भट्टीको भुंग्रोमा जल्नेको चित्कारले सपनामा तर्साउँदो हो की कतै ?
ती चित्कारहरूलाई मिथ्या नाटक सावित गर्ने प्रयत्नबाट जम्मा गरेको दानापनी उपभोग गर्न पाएकोमा उहाँहरूका परिवार कति उत्साहित होलान् ?
जो सुकैलाई जेसुकै लागेपनि त्यो तपाईंहरूको व्यवसाय हो मज्जाले गरिखानुहोस् । त्यो तपाईंहरूको अधिकार हो । तपाईहरूलाई देखेर हामीलाई चाँही लास्टै घृणा लागिरहेको छ। हामी निर्धक्क घृणा गर्छौं। त्यो हाम्रो अधिकार हो।