घाटै भारततिर

घाटै भारततिर

भद्रपुर : नेपालीको आफ्नै संस्कार छ–जहाँ मरे पनि आफ्नै भूमिमा दाहसंस्कार गर्नुपर्ने। खाडी मुलुक या कतै ज्यान गुमाए पनि नेपालमा ल्याएर परिवारजनले अन्त्येष्टि गर्छन्। तर, झापाको मेचीनगर–६ र ७ का बासिन्दाले कसैको मृत्यु भए मेची नदीपारि भारतीय भूमिमा लगेर दाहसंस्कार गर्दै आएका छन्।

त्यहाँ नेपालतर्पm दाहसंस्कार गर्न र मलामी बस्न व्यवस्थित ठाउँ छैन। जसले गर्दा बेलाबखत भारतीयको हेपाइसमेत खेप्नुपरेको मेचीनगर–७ का राजेश बस्नेत बताउँछन्। ‘पहिले नेपालकै भूमि थियो’, उनी भन्छन्, ‘२०५२ सालमा दुवै देशको नापी आएपछि भारतीय भूमि भयो। त्यसकारण हामी भारतीय भूमिमा दाहसंस्कार गर्छौं। जमिन भारतको भयो भनेर घाट सार्ने कुरा भएन।’

यहाँ मलामीगृह बनाइएको छ। त्यो नेपालतिर पर्छ भने शव राख्ने ठाउँ भारतमा। भारतको नाकाबन्दीका बेला उक्त स्थानमा शव जलाउँदा भारतीय अधिकारीले जता नेपाली नदी पर्छ त्यतै दाहसंस्कार गर्नू भन्थे। उक्त स्थानमा नेपालतर्पm व्यवस्थित गर्दै लगेपछि त्यस्तो समस्या नभएको उनी बताउँछन्। नेपालको भद्रपुर र भारतको गलगलियालाई मेची नदीले जोडेको छ। मेची नदी बग्ने अधिकांश क्षेत्र नेपालमै पर्छ। नदीको धेरै भाग भारतीय भूमिले छोएको छ। भद्रपुरको केही वडाका बासिन्दाले कसैको मृत्युपछि दाहसंस्कार गर्न भद्रपुर–५ स्थित मेची किनारमा लैजान्छन्। मेची पुलबाट पाँच मिटर दक्षिणतिर बगरछेउमा दाहसंस्कार गर्ने गरिन्छ। भद्रपुर–५ स्थित मेची नदीमा निश्चित स्थान नहुँदा पानी बग्नेछेउमै जमिन खोजेर शवको अन्त्येष्टि गरिन्छ।

यो स्थान भारतमा पर्छ। १०२ र १०२÷३ सीमास्तम्भबाट पूर्वको भाग भारत पर्छ। उक्त स्थान दसगजाबाट सय मिटरभित्र छ। भद्रपुर नगरपालिकाका जनप्रतिनिधिले यसतर्फ चासो नदिएको गुनासो स्थानीय गर्छन्। ‘अहिले शव जलाउँदै गरेको ठाउँ भारतमै पर्छ। यो ठाउँमा भारतीय पक्षले अवरोध गरेको छैन’, स्थानीय सारिन गुप्ता भन्छिन्, ‘सीआईबीको टोली यता आगोको मुस्लो देखे भने हेर्दै आउँछन्। केही भनेका भने छैनन्। अवरोध गरेका दिन कहाँ लगेर दाहसंस्कार गर्नु ? ’

यो घाटमा जनप्रतिनिधि र मन्त्रीको ध्यान नपुगेको स्थानीय गुनासो गर्छन्। चुनावका बेला भने नेताले दाहसंस्कारका लागि व्यवस्थित गृह बनाइदिने आश्वासन बाँड्दै आएका छन्।

भद्रपुर नगरपालिकाले मेची किनारमा मलामी घरसहित शव जलाउन सुविधायुक्त घाट बनाएको छैन। नगरपालिकाले मेची किनारको घाट छाडेर पहुँचको आधारमा अन्यत्र बजेट निकासा गर्ने गरेको स्थानीयको आरोप छ। ‘उक्त घाट भारतमा पर्छ भने मेची नदी नेपालतिर जता बगेको छ त्यतै सारे हुन्छ’, स्थानीय    श्रवण रौनियार भन्छन्, ‘त्यति गर्दा भारतीयको डर पनि हुँदैन। व्यवस्थित घाटमा नेपाली आफ्नै माटोमा जल्न पाउँछन्।’

मेची किनारमा घाट व्यवस्थापन गर्न नगरपालिकाको बोर्ड बैठकमा आफूले धेरै पटक कुरा उठाएको वडानम्बर ५ का अध्यक्ष बन्धु कार्की बताउँछन्। ‘मेयरले धेरैतिर दाहसंस्कारस्थल बनाउनुहुँदैन, देउनियाको घाटलाई व्यवस्थापन गर्नुपर्छ भन्नुभयो’, उनी भन्छन्, ‘नगरकै सबैभन्दा पुरानो दाहसंस्कार गर्ने ठाउँ मेची नदी किनार नै हो।’

नगरपालिकाको योजनामा यहाँको घाट व्यवस्थापन नपरेको उनको भनाइ छ। ‘अहिले शव जलाउँदै आएको ठाउँ भारतमा पर्छ’, उनी भन्छन्, ‘यसलाई समयमै व्यवस्थापन गरिएन भने भविष्यमा दुर्घटना हुन सक्छ।’ नगरपालिकाको योजनामा नपरे पनि वडाले पहल गर्ने उनी बताउँछन्।

नगरपालिकाका प्रशासकीय प्रमुख तुलसीबहादुर श्रेष्ठ देउनिया खोला बग्ने भद्रपुर २ र ७ मा दाहसंस्कार गृह बनाइरहेको बताउँछन्। ‘नगरपालिकाले मेची नदी किनारको विषयमा केही सोचेको छैन’, उनी भन्छन्, ‘त्यो अहिले भन्न सकिने अवस्था छैन।’ सीमा जोडिएको हुनाले पनि यसलाई हल्का रूपमा लिन नहुने उनको भनाइ छ।

कचनकवल गाउँपालिकाको पाठामारी क्षेत्रको समस्या उस्तै छ। व्यवस्थित दाहसंस्कार गृह र घाट नेपालतिर नहुँदा भारतीय भूमिमा लैजानुपर्ने बाध्यता रहेको स्थानीयको भनाइ छ। ‘भारतीय पुलिसले बेला–बेला दैनिक रूपमा दाहसंस्कार भएका बेला आएर नेपालतिरै घाट सार भन्छ’, स्थानीय सन्तोष कुर्मी भन्छन्, ‘तर, नेपाली भूमिमा पानी कम भएकाले स्थानीयहरू भारततिरै शव जलाउन जान्छन्।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.