भेलले पायो राहुघाटको ठेक्का
बेनी : नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगंगा हाइड्रो लिमिटेडले म्याग्दीमा निर्माण गर्न लागेको राहुघाट जलविद्युत् आयोजनाको इलेक्ट्रोमेकानिकल ठेकेदार छनोट भएको छ। भारत हेभी इलेक्ट्रकल्स लिमिटेड (भेल)ले ४० मेगावाट क्षमताको राहुघाटको इलेक्ट्रोमेकानिकल ठेक्का पाएको हो।
१ करोड दुई लाख, ९३ हजार २२.३५ अमेरिकी डलरमा ३६ महिने ठेक्का सम्झौता भएको रघुगंगा हाइड्रो लिमिटेडका प्रबन्ध सञ्चालक गणेश केसीले जानकारी दिए। ‘तीनवटा कम्पनी ठेक्का प्रक्रियामा सहभागी भएका थिए’, उनले भने, ‘सबैभन्दा कम रकम कबोलेको भेलसँग सम्झौता गरेर स्वीकृतिका लागि ऋण लगानीकर्ता भारतीय एक्जिम बैंकमा पठाएका छौं।’
बैंकले सम्झौता स्वीकृत गरेपछि ठेकेदार परिचालित हुने केसीले बताए। भेल भारतको सरकारी निर्माण कम्पनी हो। भोइट हाइड्रो र एन्ड्रिज हाइड्रो पनि ठेक्का प्रक्रियामा सहभागी भएका थिए। भेलसँग विद्युत्गृह भित्रका उपकरण र स्विचार्डका उपकरण आपूर्ति, ढुवानी र जडान गर्ने प्रयोजनका लागि सम्झौता गरिएको हो। आयोजनाको पिप्लेस्थित अडित न. ३ मा १३५ र बुक्लको अडिट न. २ मा १ सय ५ मिटर सुरुङ निर्माण भएको छ।
बेनी–जोमसोम सडक अन्तर्गत पर्ने तिल्केनीचौरमा विद्युतगृह निर्माण सुरु गरेको छ। सिभिल ठेकेदार कम्पनी जेपी एसोसिएट्सले बाँधसम्म १० किलोमिटर सडक खोलेको छ। बाँध स्थल जाने बाटोमा पर्ने रघुगंगा नदीमाथि मोटर चल्ने ट्रस पुल बनाउन लागेको कम्पनीका उपनिर्देशक गोपाल पाठकले बताए।
प्राधिकरणले २०६६ देखि बनाउन सुरु गरेको यो आयोजनाको एक दशकको भौतिक प्रगति करिब १५ प्रतिशत छ। पुरानो भारतीय ठेकेदार कम्पनी आईभीआरसियलसँगको सम्झौता तोडेपछि जेपी एसोसिएट्सले ६ अर्ब रुपैयाँमा सिभिल ठेक्का लिएको थियो।
ठेकेदारले पर्याप्त मात्रामा उपकरण, निर्माण सामग्री र जनशक्ति परिचालन गर्न नसकेका कारण काम सुस्त भएको छ। ४८ महिनाको काम ४५ महिनामा सक्ने सम्झौता गरेको थियो। नदीको वहावमा आधारित राहुँघाट जलविद्युत् आयोजनाले पिप्ले, झिँ र दग्नाममा दशक अघि नै २ सय ८२ रोपनी जग्गा अधिग्रहण गरेको थियो।
झिँ र दग्नामको सिमामा बाँध बन्ने आयोजनाको ६ किलोमिटर २ सय मिटर सुरुङ र एक किलोमिटर पेनस्टक पाइप रहनेछ। सिभिल ठेकेदारलाई साइट क्लियर गरेर काम गर्ने वातावरण बनाउन निर्देशन दिएको केसीले बताए।
भारतीय एक्जिम बैंकको ४४ मिलियन डलर सहुलियत ब्याजदरको ऋण लगानीमा कम्पनीको अवधारणा र इन्जिनियरिङ प्रक्युमेन्ट एन्ड कन्ट्र्याक्ट (ईपीसी) प्रारुपमा राहुघाट बनाउन लागिएको हो।