बालबालिकालाई विद्यालय ल्याउन दिवा खाजा
स्याङ्जा : भीरकोट नगरभित्रका सबै बालबालिकालाई दिवा खाजाको व्यवस्था गरिएको छ । नगरपालिका र सामुदायिक विद्यालयको सहकार्यमा दिवा खाजाको व्यवस्था गरिएको हो । कुनै पनि बालबालिका शिक्षाबाट बंचित नहोऊन भन्ने उदेश्यले नगरपालिकाले दिवा खाजाको व्यवस्था मिलाएको जनाएको छ ।
अन्र्तराष्ट्रिय बाल अधिकार दिवसको अवसर पारेर मंसिर १ गतेदेखि नगरभित्रका ४२ वटा बालविकास कक्षामा अध्ययरत ५ सय ५४ बालबालिकालाई दिवा खाजाको व्यवस्था गरिएको नगरप्रमुख छायाराम खनालले जानकारी दिए ।
'बालविकासमा अध्ययरत स-साना बालबालिका खाजाको अभावका विद्यालयमा नियमित आउन सकेका थिएनन्, 'प्रमुख खनालले थपे, 'उनीहरुलाई खाजाको व्यवस्था गरेमा नियमित उपस्थिति हुनसक्ने देखिएकाले खाजाको व्यवस्था गरिएको हो ।'
विद्यालयमै खाजाको व्यवस्था भएपछि बालबालिका खुशी देखिएका छन् । विद्यालयमै बनाउने गरी घरेलु खाजा दिइने शिक्षा शाखा प्रमुख हेमप्रसाद आचार्यले बताए । विद्यालयमै उपलब्ध खाजाले बालबालिकाको स्वास्थ्यमा सकारात्मक प्रभाव पार्नुका साथै बालबालिका नियमित बिद्यालय आउनेमा नगरपालिका विश्वस्त छ ।
भीरकोट नगरपालिकाले बालबालिकाको क्षेत्रमा उल्लेखनीय काम गरेको जानकारी गराउँदै आउँदो चैत मसान्तभित्रै बालमैत्री नगर घोषणाको तयारीमा जुटिरहेको उपप्रमुख सीमा कर्माचार्य केसीले जानकारी दिइन ।
अन्तराष्ट्रिय बालदिवस नोभेम्बर २० तारेखका दिन मनाइँदै आएको छ । विश्वभरीका बालबालिकाको आधारभूत आवश्यकता पूरा गरी बालबालिकालाई खुशी बनाउने उद्देश्यले यो दिवस मनाउने गरिएको हो ।