खेतमा सिँचाइ, किसान खुसी

खेतमा सिँचाइ, किसान खुसी

बाँके : राष्ट्रिय गौरवकोे सिक्टा सिँचाइ आयोजनाको पश्चिमी नहरको पानी खेतबारीमा पुगेपछि डुडुवा गाउँपालिकाका किसान हर्र्षित भएका छन्। मंगलबार दिउँसो डुडुवा गाउँपालिका ५ को रंगीताल गाउँ पुग्दा सीताकुमारी राम्जाली मगर नहरको पानी सागमा सिँचाइ गर्दै थिइन्। ‘नहरमा पानी आउँदा म धेरै खुसी भएकी छु’, उनले भनिन्। घर छेवैको दुई कठ्ठा बारीमा उनले आलु, गोभी र साग लगाएकी छन्।

‘यसमा गहुँ लगाए। पानी आउँछ भन्ने थाहा पाएको भए छ। यो गरामा पनि आलु नै लगाउने थिए’, फुरूङ्ग हुँदै उनले सुनाइन्। उनको घरदेखि मुस्किलले दुई सय मिटर दक्षिणमा पम्पिसेटबाट नहरको पानी गहुँबारीमा चार्दै गरेको भेटिइन् धनसरा थापा। उनले झन्डै एक लाख रुपैयाँ खर्च गरेर बोरिङ् गाडिन र पम्पिसेट पनि किनेकी छन्। ‘सिक्टाको पानी यति चाँडै आउँछ भन्ने थाहा पाएको भए मेरो पैसा त खर्च हुँदैनथ्यो’, उनको भनाइ थियो, ‘आउँछ, आउँछ त धेरै वर्षदेखि भनिरहेका थिए। आउँदा त कसैले खबर नै गरेनन्। अचम्मको खुसी लागेको छ।’

यो गाउँमा सिक्टा नहरको पानी १ कात्तिकको राति पुगेको थियो।

५ कठ्ठा जग्गामा लगाएको गहुँ नहरको पानी पसेर नउर्मेको सोही गाउँकी धनरुपा  श्रीपालीले गुनासो गरिन्। ‘६ दिन भयोे गहुँ लगाएको। अस्ती नहरको पानी पस्यो। गहुँ नै उम्रिएको छैन’, उनले भनिन्, ‘यसको क्षतिपूर्ति मिल्ला र सर ? ’ उनको जस्तै जिज्ञासा अर्का किसान रविलाल थापाको पनि थियो। उनको उम्रन लागेको एक कठ्ठा जग्गाको मसुरो नहरको पानीले डुबेको छ। पानीको निकास नहुँदा अहिले पनि वर्षामा जस्तै खेतभरी पानी छ।

अनावश्यक रूपमा खेतबारीमा पानी पसेर नोक्सान भए पनि किसान नहरको पानी पाएर दंग देखिन्थे। उनीहरू धान गहुँ फल्ने खेतबारीमा तरकारी फलाउने बताइरहेका छन्। घुलनशील माटोका कारण जीर्ण भएको ४५.२५ किलोमिटर लामो पश्चिमी नहर दुई किलोमिटर मर्मत गरेर आयोजनाले ३३.९०० किलोमिटरसम्ममा झन्डै डेढ घनमिटर पानी छोडेको छ। गत कात्तिक २४ गतेदेखि जीर्ण भएको स्थानमा मर्मत गर्दै २८ कात्तिकदेखि नियमित रूपमा पानी सञ्चालन भइहेको आयोजनाका डिभिजनल इन्जिनियर एकराज भट्टराईले बताए।

‘पानी पनि छोड्दै जान्छौं। किसानले प्रयोग पनि गर्छन्। जहाँ जहाँ जीर्ण छ, मर्मत पनि गर्दै जान्छौं’, यही अवधारणाका साथ हामीले काम अघि बढाएका छौं’, उनले भने मंसिर महिनाभित्र पश्चिमी नहरको ४५ किलोमिटर क्षेत्रमै पानी पुग्छ।’ पश्चिमी नहरको अब ११ किलोमिटर क्षेत्रमा मात्र पानी पुग्न बाँकी छ।

सिक्टाको यो नहर ५० घनमिटर क्षमताको हो। आयोजनाको अगैयास्थित मुख्य हेडवक्र्सबाट ३० किलोमिटरको दुरीमा रहेको सिधनीयाँ शाखामा बढी भएको पानी झन्डै ४ किलोमिटर पश्चिमीमा डुडुवा खोलाको आउटलेटबाट बाहिर फालिएको छ।

मुख्य हेडवक्र्स अगैगादेखि २० किलोमिटरको दूरीमा रहेको राप्ती सोनारी गाउँपालिका ८ मा पर्ने परुवा खोलासम्म भने ५ घनमिटर पानी भने परीक्षणकाल यता नियमित रूपमा सञ्चालन भइरहेको छ। यहाँको पानी परुवा खोला हुँदै राप्ती नदीमै मिसाइएको छ।

आयोजना प्रमुख कृष्णप्र्रसाद नेपाल पश्चिमी नहरको सबै क्षेत्र जीर्ण नभएको बताउँछन्। ३४ किलोमिटर क्षेत्रमै समस्या भए पनि मुख्य रूपमा २० किलोमिटरदेखि २६ किलोमिटरमा ६ किलोमिटरमा घुलनशील माटोको समस्या बढी छ। नेपालले भने, ‘पुरुवा खोलादेखि बालापुरसम्मको डेढ किलोमिटर र झिंझरी खोला आसपासमा पाँच सय मिटर गरी दुई किलोमिटर क्षेत्रमा हामीले मर्मत गरेका छौं। समस्याग्रस्त सबै क्षेत्रमा मर्मत गर्दै नहरको पानी सन्चालन गर्छौ।’ सिक्टाको पश्चिमी नहरबाट मात्रै बाँकेको ३३ हजार हेक्टर क्षेत्रफलमा सिँचाइ गर्ने लक्ष्य छ। आयोजनाको साढे ५३ किलोमिटर लामो पूर्वी नहर भने २८ महिनाको सम्झौैताको म्याद २५ कात्तिकमा समाप्त हुँदा ३५ प्रतिशत मात्र काम अघि बढेको छ। पूर्वी नहरबाट राप्तीपारीको ९ हजार हेक्टर क्षेत्रफलमा सिँचाइ गर्ने लक्ष्य छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.