सांसद र सरकारको काम गर्ने शैली ठ्याक्कै उल्टो : पूर्व अर्थमन्त्री पाण्डे
चितवन : सत्तारुढ दल नेकपाका पोलीट व्युरो सदस्य एवं पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले सरकार आफ्नै उद्देश्यमा अल्मलिएको टिप्पणी गरेका छन्। उनले सरकारले आफैले गरेको प्रतिबद्धताको कार्यान्वयनमा चुकेको दावी गरे। चुनावमा गरेको घोषणापत्र अनुसार काम र्न नसकेको आरोप उनको छ।
नेपाल पत्रकार महासंघ चितवनले आयोजना गरेको सांसदसँग सम्वाद कार्यक्रममा पूर्व अर्थमन्त्री पाण्डेले सकारले बोले अनुसार काम गर्न नसकेको भन्दै आलोचना गरे। चुनावको बेला आफैले गरेको प्रतिबद्धता पूरा गर्न सरकार अलमलिएको सांसद र सरकारको जिम्मेवार फरक भएको भन्दै काम गर्ने शैली ठ्याक्कै उल्टो भएको आरोप लगाए ।
'सरकारमा बस्नेले गरेर देखाउनुपर्छ त्यो गर्नका लागि दिइएको अवसर हो ,' पाण्डेले भने, 'तर सरकारमा बढी बोल्ने कम काम कम गर्नुहुदैन । बरु बोल्दै नबोले हुन्छ काम धेरै गर्नुपर्छ।'
उनले सांसद र सरकारबीचको फरक नबुझ्दा वातावरण बिग्रिएको बताए ।
चुनावी घोषणापत्र अनुसार काम नभएको उनको भनाई थियो ।त्यसबेला गरिएको प्रतिबद्धताको ५० प्रतिशत मात्रै पूरा भए त्यसलाई ठूलो उपलब्धि मान्नुपर्ने बताए । मन्त्री बन्ने चर्चामा रहेका पाण्डेले मन्त्रीमण्डल पुनर्गठन बारे टिप्पणी गर्न चाहेनन्। यो प्रधानमन्त्रीको अधिकार भएको बताए । उनले आफू त्यसमा इच्छुक नरहेको बताए । नेता पाण्डेले सीमा मिचिएको बारे दललाई एकजुट बनाएर वार्ता नगरेसम्म समाधान नहुने दाबी गरे । सार्वभौमसत्ता र राष्ट्रियताको सवालमा कुनै सम्झौता नहुने बताए।
कार्यक्रममा बोल्दै पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे। तस्बिर : अनिल ढकाल