छोरा जन्मिए अब‍िर जात्रा, छोरी जन्मिँदा सुनसान

छोरा जन्मिए अब‍िर जात्रा, छोरी जन्मिँदा सुनसान

सुर्खेत : छोरा जन्माउने आशमा लगातार चार छोरी जन्मिए। चार छोरी जन्मिदासम्म यो परिवारमा सुनसान थियो। छोरा नजन्मिदा परिवार पनि खुसी थिएन। तर जब पाचौं सन्तानको रूपमा जुम्लाको तातोपानी–४ निवासी गंगादेवी गौतमले छोरा जन्माइन्। तब परिवार र छिमेकीहरू बाजागाजासहित अस्पतालसम्मै पुगे। छोरा जन्मिएको खुसीयालीमा अबिरजात्रा नै भयो। यही खुसीमा गाउँले र आफन्तले भोज नै खाए। छोरा जन्माएपछि गंगादेवीले पनि परिवारबाट माया पाउन थालिन्।

कालिकोटको तिलागुफा नगरपालिकाका भक्तबहादुर बोगटीको जोडीले छोरा पाउने आशमा सात छोरी जन्माए। लगातार छोरी मात्र जन्मिएपछि यो परिवार निराश थियो। आफन्तले पनि छोरा नै जन्माउन दवाव दिइरहे। अन्नतः आठौं सन्तानमा छोरा जन्मियो। सात छोरी जन्मिदासम्म खुसीयाली नमनाएको यो परिवारले छोरा जन्मिएपछि अबीरजात्रासँगै भोज नै दियो। छिमेकीले पनि छोरा जन्मिएकोमा बोगटी परिवारलाई बधाइ दिए।

दैलेखको ठाँटीकाँध गाउँपालिकास्थित लकान्द्रा निवासी लक्ष्मी रावत सुत्केरी हुन स्वास्थ्य केन्द्रमा पुगिन्। लक्ष्मीले छोरा जन्माइन्। उनले छोरा जन्माएको खबर फैलिएपछि परिवार र आफन्तहरु बाजागाजा लिएर स्वास्थ्य केन्द्रमै पुगे। छिमेकी र आफन्तले अबीरजात्रा गरेर सुत्केरी आमा र नवजात शिशुलाई गाउँभरी घुमाए। यो स्वास्थ्य केन्द्रमा यसअघि पनि धेरै जना सुत्केरी भएका थिए।

तर उनीहरूले छोरी जन्माएका कारण कोही पनि बाजागाजासहित त्यहाँ पुगेका थिएनन्। छोरा जन्मिदा अबीरजात्रा नै भएपछि त्यहाँ कार्यरत स्वास्थ्यकर्मीहरु पनि दंग परे। माथि उल्लेखित घटनाहरू प्रतिनिधिमुलक हुन्। कर्णालीमा छोरीमाथि गर्भबाटै विभेद हुने गरेको छ। छोराले वंश धान्छ, बुढेशकालमा पानलपोषण गर्छ र छोरीहरू अर्काको घरमा गइहाल्छन् भन्ने मान्यताका कारण परिवार र आफन्तले छोरी जन्मिदा खुसीयाली मनाउँदैनन्।

तर छोरा जन्मदा अबीरजात्रा नै हुन्छ। छोरा जन्मदा अबीरजात्रा गर्ने गरिएका कारण अधिकांश जोडीलाई छोरा नै जन्माउनुपर्ने मानसिक दवाव छ। छोरा पाउनैपर्ने दवावका कारण यहाँका महिलाहरू एक दर्जनसम्म सन्तान जन्माउन बाध्य छन्। यही कारण महिलाहरुको स्वास्थ्यमासमेत असर परेको छ। ‘छोरा नजन्मिए परिवारबाटै अपहेलना हुन्छ, छोराले मात्र वंश चलाउँछ भन्ने गलत मान्यता छ’ स्थानीय कल्पना थापाले भनिन्, ‘छोरी जन्मिदा कुनै चासो हुँदैन, तर छोरा जन्मिए अबीरजात्रा नै हुन्छ।’

छोराको आशमा घरभरी छोरी

जुम्लाको तिला गाउँपालिका–३ फुयालवाडा निवासी पुसे नेपाली ६५ वर्ष पुगे। १४ वर्षको उमेरमा नै बिहे गरेका उनले छोरा जन्मने आशमा ११ छोरी जन्माए। तर पनि छोरा जन्मेन। घरको आर्थिक अवस्था कमजोर भएकाले ११ जना छोरीको पालनपोषण गर्न कठिन भयो। यही कारण हाल उनका तीन छोरीको मृत्यु भइसकेको छ। साथमा आठ छोरी भएका पुसे भन्छन्, ‘छोरा जन्माउने रहर थियो, त्यही रहरले धेरै छोरी जन्मिए। अहिले आएर पछुतो लागेको छ, धेरै सन्तान हुँदा पालनपोषणमा समस्या भयो।’

मुगुको छायाँनाथ रारा नगरपालिका–४ रोकायावाडाकी अछमपूरा मल्लले नौ छोरी जन्माइन्। तर पनि उनको छोरा जन्माउने रहर पूरा भएन। छोरा मोहका कारण धेरै छोरी जन्मिएपछि यो परिवारले सन्तानलाई उचित शिक्षा दिन सकेन। हाल चार छोरीको मृत्यु भइसकेको छ भने छोरा नभएकै कारण यो परिवारले घरज्वाइँ राखेका छन्।

यस्तै, जाजरकोटको बारेकोट गाउँपालिका–२ की दुर्गा विकले छोरा पाउनैपर्ने दवावका कारण १२ सन्तान जन्माइन्। त्यसमध्ये तीन सन्तान मात्र बाँचेका छन्। उनले भनिन्, ‘छोराकै आशमा धेरै सन्तान जन्माउन बाध्य भएँ, १२ औं सन्तानको रूपमा छोरा जन्मियो। सुरुका ११ सन्तानमध्ये दुई छोरी मात्र बाँचे। धेरै सन्तान जन्माउँदा अहिले मेरो पाठेघर खस्ने समस्या आयो।’

डोल्पाको जगदुल्ला गाउँपालिकाका राजबहादुर थापाको जोडीले छोराकै आशमा चार छोरी जन्माएका छन्। कर्णालीमा अहिले पनि छोरा नजन्मदासम्म दजर्नभन्दा बढी सन्तान जन्माउनुपर्ने दवावमा महिलाहरू छन्। यसले उनीहरू शारीरिक रुपमा कमजोर बनेका हुन्।

छोरा नजन्माउँदा घर निकाला

जुम्लाको कनकासुन्दरी गाउँपालिका—६ लुड्कुकी झनमाया रोकायालाई उनका पतिले घरबाट निकाले। लगातार ६ वटा छोरी मात्र जन्माएको भन्दै उनलाई घरबाट निकालिएको हो। पति गंगाराम रोकायाले छोरा नजन्माएको भन्दै परिवारको दवावमा पत्नीलाई घरबाट निकालेका हुन्।

छोरा नजन्मिएकै कारण घरबाट निकालिएकी झनमाया एक उदारण मात्र हुन्। कर्णालीका अधिकांश महिला छोरा नजन्माएकै आरोपमा विभिन्न घरेलु हिंसा भोग्न बाध्य छन्। परिवारबाट निकालिने मात्र होइन, महिलामाथि कुटपिट नै हुने गरेको छ। दैलेखको बिसालाका तेजबहादुर शाहीले पहिलो पत्नीबाट छोरा नजन्मिएको भन्दै दोस्रो बिहे गरे। पतिले दोस्रो बिहे गरेपछि पहिलाकी पत्नी अलपत्र परिन्।

सुर्खेतको बराहतालका इन्द्र विसीले पनि छोरा जन्माउने आशमै दोस्रो बिहे गरे। पहिलाकी पत्नीबाट छोरा नजन्मेपछि उनले दोस्रो बिहे गरे। दोस्रो बिहे गरेका विसीका पहिलाको पत्नीबाट जन्मिएका छोरीहरु वेसहारा छन्।

गर्भ परिक्षण गरी भ्रुणहत्या

पछिलो समय गर्भ परीक्षण गरेर भ्रुणहत्या गर्नेक्रम बढेको छ। गर्भमा छोरा भए जन्माउने र छोरी भए गर्भ तुहाउनेको संख्या बढ्दो छ। शिक्षित व्यक्तिहरूले नै गर्भमा छोरी भए भ्रुणहत्या गर्ने गरेका हुन्। पछिल्लो तथ्यांक अनुसार प्रदेश राजधानी वीरेन्द्रनगरमा छोराभन्दा छोरी जन्मने दर घट्दै गएको छ। नगरपालिकाका अनुसार छोरी भएमा गर्भमै तुहाउने भएकाले नगरभित्र छोरीहरू जन्मने दर घटेको हो।

जनस्वास्थ्य कार्यालय सुर्खेतका अनुसार पनि पछिल्लो समय जिल्लामा छोरीको संख्या घट्दै गएको छ। बालिका संरक्षणको क्षेत्रमा काम गर्दै आएका अधिकारकर्मीका अनुसार वीरेन्द्रनगर लगायतका सहरी क्षेत्रमा छोरीको गर्भमै हत्या हुनेक्रम बढ्दो छ। लिंग पहिचान गरेर गर्भपतन गर्नु कानुनी अपराध भए पनि सहरी क्षेत्रमा नै यो समस्या विकराल बन्दै गएको हो।

छोरी जन्माउनेलाई प्रोत्साहन

छोरा मोहका कारण छोरी जन्माउनेको संख्या घटेपछि स्थानीय र प्रदेश सरकारले विभिन्न प्रोत्साहनका कार्यक्रम ल्याएका छन्। यसका लागि प्रदेश सरकारले चालु आर्थिक वर्षबाटै छोरीको नाममा बैंक खाता खोल्न सुरु गरेको छ। प्रदेशका सबै जिल्लामा जन्मिने छोरीहरूको नाममा खाता खोलेर मासिक पाँच सय रुपैयाँका दरले २० वर्षसम्म जम्मा गर्न सुरु गरेको छ।

वीरेन्द्रनगर नगरपालिकाले छोरीको जन्मदर कम भएपछि छोरी जन्माउनेलाई प्रोत्साहन गर्न थालेको छ। नगरपालिकाले नगरभित्र जन्मने हरेक छोरीको नाममा बैंक खाता खोलिरहेको हो। यस्तै कालिकोटको खाँडाचक्र नगरपालिकाले पनि छोरीको जन्मदर बढाउन पुरस्कारको व्यवस्था गरेको छ। नगरपालिकाका प्रमुख जसीप्रसाद पाण्डे भन्छन्, ‘छोरीहरू जोगाउन मुस्किल भयो, यसका लागि हामीले प्रोत्साहन गर्न थालेका छौं। अब नगरभित्र जसले बढीमा दुई वटासम्म छोरी मात्र जन्माएर बन्ध्याकरण गर्छ, त्यो जोडीलाई नगरले एक लाख रुपैयाँ पुरस्कार दिनेछ।’

( ललितबहादुर बुढा, नन्दराम जैसी /सुर्खेत,दैलेखबाट हिक्मतबहादुर नेपाली, जाजरकोटबाट राजेन्द्र कार्की, मुगुबाट जीवन सेजुवाल र डोल्पाबाट टेकबहादुर शाहीको सहयोगमा)

   


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.